कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्पोरेट सुपर सिक्सेस क्रिकेट हुने

काठमाडौँ — एसएस एभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ वैशाख अन्तिम सातादेखि हुने भएको छ ।

कर्पोरेट सुपर सिक्सेस क्रिकेट हुने

शुक्रबार पत्रकार सम्मेलनमार्फत यस सिजन वैशाख २३ देखि २८ सम्म प्रतियोगिता हुने जानकारी दिइएको हो । तीन वर्षपछि हुन लागेको कर्पोरेट सुपर सिक्सेसमा कुल २४ टोलीले प्रतिस्पर्धा गर्नेछन् । पाँच ओभरमा खेलाइने प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । प्रतियोगिता लिग कम नकआउटका आधारमा हुनेछ । सो प्रतियोगितामा नेपाल क्रिकेट संघ (क्यान) को प्राविधिक सहयोग रहने एसएस इभेन्ट्सका निर्देशक सुमित रौनियारले बताए ।

एसएस इभेन्ट्सका निर्देशक रौनियारले नाफा कमाउनेभन्दा पनि नेपाली क्रिकेट विकास गर्ने र कर्पोरेट सेक्टरलाई क्रिकेटमा भित्र्याउने उद्देश्यअनुरूप प्रतियोगिता गर्दै आएको बताए । अब छिट्टै उमेरसमूहको प्रतियोगिता आयोजना गर्दै नेपाली क्रिकेट विकासमा सहयोग गर्ने उनको योजना छ । सन् २०१४ सुरु भएको कर्पोरेट सुपर सिक्सेसको छैटौं सिजनसम्म एसएस एभेन्ट्सले नै गर्दै आएको थियो । सातौं सिजनदेखि नेकोस जोडिएको हो ।

पत्रकार सम्मेलनमा एसएस इभेन्ट्सका निर्देशक रौनियार र नेकोसका सचिव विप्लव घोषबीच सम्झौतापत्र हस्ताक्षर भएको थियो ।

छैटौं संस्करण सन् २०२० मा नै आयोजना भए पनि कोरोना महामारी र आर्थिक संकटका कारण सातौं सिजन भने लामो समयपछि हुन लागेको हो । प्रतियोगिताको प्रत्यक्ष प्रशारण हुने आयोजकले जनाएको छ । यस सिजनको विजेता र उपविजेताले ट्रफी र गिफ्ट ह्याम्पर पाउनेछन् । प्लेयर अफ द टुर्नामेन्ट, बेस्ट ब्याटर, बेस्ट बलर, बेस्ट फिल्डर र बेस्ट विकेटकिपरले पनि पुरस्कार पाउनेछन् । आयोजकका अनुसार सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी, हिट बोर्ड र फेयर प्ले अवार्ड पनि प्रदान गरिने भएको छ । काम गरेको ६ महिना पूरा भएमा व्यावसायिक क्रिकेटरले पनि कर्पोरेट हाउसबाट खेल्ने पाउने एसएस एभेन्ट्सका निर्देशक रौनियारले जानकारी दिए ।

प्रकाशित : चैत्र १६, २०८० १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?