पुलिस सेमिफाइनलमा

इटहरी — नेपाल पुलिस क्लब इनरुवामा भइरहेको मनमोहन मेमोरियल लिग (एमएम कप) एकदिवसीय राष्ट्रिय क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ अन्तर्गत अन्तिम खेलमा प्रदेश २ लाई ४६ रनले हराउँदै पुलिसले अन्तिम चार स्थान सुरक्षित गरेको हो ।

पुलिस सेमिफाइनलमा

सेमिफाइनल पुग्नका लागि दुवै टिमलाई खेल जित्नैपर्ने दबाब थियो । बलिङमा उत्कृष्ट प्रर्दशन गर्दै पुलिसले बाजी मार्‍यो । शुक्रबार १ सय ८४ रनको लक्ष्य पछ्याएको प्रदेश २ टिम १ सय ३७ रनमा समेटियो ।

पहिलो इनिङ्समा पुलिसलाई मध्यम स्कोरमा समेट्न सफल प्रदेश २ ले ब्याटिङमा भने उत्कृष्ट प्रदर्शन गर्न सकेन । निर्णायक खेलमा ब्याट्म्यान चल्न नसक्दा ४२.२ ओभरमा सबै विकेट गुमाउँदै समूह चरणबाटै बाहिरिन पुग्यो । प्रदेश २ का विशाल सुस्लिङले ८० रन जोडे पनि चार ब्याट्सम्यान शून्यमा पेभेलियन फर्किए । हरिशंकर शाहले १८ र हसिम अन्सारीले १० रन जोडे । पुलिसका दीपेन्द्र ऐरी र ललितसिंह भण्डारीले ३–३ विकेट लिए । पवन सर्राफले २ र ललितनारायण राजवंशी र सागर ढकालले १–१ विकेट लिए ।


पुलिसले सुरुआतमा भने राम्रो प्रदर्शन गर्न सकेन । सुनील धमला र अमित श्रेष्ठले पहिलो विकेटमा ३६ रन जोडे । ब्याट्सम्यान चल्न नसक्दा कमजोर बनेको पुलिसका लागि दीपेन्द्रसिंह ऐरी र रशिद खानले केही माथि उकासे । यी दुईले सातौं विकेटमा ४७ रनको साझेदारी गरे । दीपेन्द्रले ५ चौका र २ छक्का प्रहार गर्दै ५० रन बनाए । अमित श्रेष्ठले ३७, अनिल शाहले १९ र रशिद खानले १६ रन बटुले । पुलिसले ३३ रन अतिरिक्त पायो । प्रदेश २ का लेग स्पिनर कुमार थापा एक्लैले ५ विकेट लिए । १० ओभर बलिङ गरेका उनले ३ मेडन राख्दै ३२ रन खर्चिए । विवेक यादव र राहुलप्रताप सिंहले समान २ विकेट लिए ।

म्यान अफ म्याच पुलिसका दीपेन्द्रसिंह ऐरी घोषित भए । शनिबार समूह ‘डी’ खेल सुरु हुनेछ । सुदूरपश्चिमले मलेसिया ११ को सामनागर्नेछ ।

प्रकाशित : पुस २६, २०७६ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?