‘ए’ डिभिजन लिग : मछिन्द्रको परीक्षण

राजु घिसिङ

काठमाडौँ — नाम चलेका खेलाडीलाई आकर्षित गर्ने प्रयास गरेन, न त बलियो टिम नै बनाउने चाहना राख्यो । घरेलु फुटबलमै नयाँ अनुहारको वर्चस्व छ, जावलाखेल युवा क्लबमा । मुख्यतः शीर्ष श्रेणीमै टिक्ने लक्ष्य बनाएको जावलाखेलले नसोचिएको रूपमा लिगको ५ खेलसम्म अपराजित यात्रा कायम राख्यो ।

‘ए’ डिभिजन लिग : मछिन्द्रको परीक्षण

उसले अर्को अपराजित र हालसम्म सबैभन्दा बलियो देखिएको टिम मछिन्द्रविरुद्ध छैटौं चरणमा शनिबार प्रतिस्पर्धा गर्दै छ ।

पाँचौं चरणसम्म मछिन्द्र, मनाङ र जावलाखेल गरी तीन टिम अपराजित छन् । पुछारतर्फका तीन टिम (हिमालयन शेर्पा, फ्रेन्ड्स र सरस्वती) पहिलो जितकै प्रतीक्षामा छन् । डिफेन्डिङ च्याम्पियन मनाङले शनिबारै हिमालयन शेर्पाविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।

उपाधि होडमा रहेका मनाङ र मछिन्द्रको पाँचौं चरणमा ‘भिडन्त’ भएको थयो । मैदानभित्र फुटबलको प्रतिस्पर्धा र खेल सकिएलगत्तै झगडामै होड । शीर्षस्थानको होडमा रहेको प्रतिस्पर्धा २–२ मा टुंगिनु अपराजित रहे पनि अंकको हिसाबले दुवै टिमलाई घाटा थियो । थप घाटा दिलायो झगडाले । खेल सकिएलगत्तै मनाङका जगजित श्रेष्ठले मछिन्द्रका दीपक राईलाई कुहिनाले प्रहार गरेपछि सुरु भएको तनावमा मनाङका दोस्रो राोजइका गोलकिपर अशोक बरालले मछिन्द्रका डिफेन्डर देवेन्द्र तामाङ किक हान्न पनि भ्याए ।

अशोकलाई त्यतिबेलै रातो कार्ड दिइएको थियो । तर, उनी अनुशासन समितिको बिहीबारको निर्णयले भने लामो अवधिको प्रतिबन्धबाट जोगिए । जगजित ५ खेल, मनाङकै रन्जन विष्ट २ खेल तथा मछिन्द्रका दीपक, देवेन्द्र र विजय धिमाललाई पनि २–२ खेलको निलम्बनमा परे ।

हातपातमा गर्ने खेलाडीमाथि विगतजस्तै कम्तीमा एक वर्षको प्रतिबन्धको कठोर निर्णय एन्फाको अनुशासन समितिले लिएन । तर, मनाङका किट्स म्यानेजर शिव लामासहित घटनामा संलग्न ६ खेलाडीमाथि गरिएको निलम्बनको निर्णयले दुवै टिमलाई उपाधि होडमा असर गर्नसक्छ ।

मनाङका सात, थ्रीस्टारका चार तथा पुलिस र च्यासलका १–१ खेलाडी भित्र्याएर पहिलोपल्ट लिग च्याम्पियन हुने योजना बुनेको मछिन्द्रलाई शनिबार जावलाखेलविरुद्धको प्रतिस्पर्धा सजिलो हुने छैन । जावलाखेल नयाँ खेलाडीले भरिएको औसत टिम हो र एउटा टिमको रूपमा उसले क्षमताअनुसार राम्रो खेलिरहेको छ । पहिलो खेलमै थ्रीस्टारविरुद्ध गोलरहित खेलेको उसले सन्तोष साहुखलको नेतृत्वको च्यासलमाथि २–१ को जित रचेको थियो । यी दुई खेलले जावलाखेललाई कमजोर आँक्ने अवसर दिँदैन । तर, यसको यो लय कहिलेसम्म कायम रहन्छ भन्ने हो ।

मनाङविरुद्ध बराबरीसँगै मछिन्द्रले ‘ए’ डिभिजन लिगमा १ सय ५० खेल पनि पूरा गर्‍यो । हाल राष्ट्रिय टिमको मुख्य प्रशिक्षक रहेका स्विडिस योहान कालिनले सम्हालेको मछिन्द्रको औसतको टिम पनि २०७० को लिगमा उपविजेता भएको थियो । त्यो सिजन मछिन्द्रले सुपर लिगमा शतप्रतिशत जित निकाल्ने क्रममा च्याम्पियन भएको मनाङलाई ४–० ले पन्छाएको थियो । शीर्ष श्रेणीको फुटबलको तीन दशकको यात्रामा मछिन्द्रको त्यो (उपविजेता) नै सबैभन्दा राम्रो नतिजा हो र उसले यसपालि त्यसैलाई उछिन्न चाहेको छ ।

गत वर्ष रेलिगेसनबिनाको लिगमा अन्तिमबाट दोस्रो रहँदा यसपालि १ अंक घटुवामा पर्नु मछिन्द्रका लागि महँगो पर्नसक्छ । त्यसैले मछिन्द्र समान नतिजाको बावजुद पनि मनाङ (११ अंक) दोस्रो र मछिन्द्र (१०) तेस्रोमा छ । मनाङविरुद्ध मछिन्द्रको बराबरीमा पाएको अवसर उपयोग गर्दै आर्मी १–० ले सरस्वतीलाई हराएर शीर्षस्थानमा उक्लियो । आर्मीले ४ जित, १ हार खेलेको छ । जावलाखेल र थ्रीस्टारले ९–९ अंक जोडेका छन् ।


पछिल्ला ५ खेलमा मछिन्द्र

गोलप्रतिद्वन्द्वी
२–०ब्रिगेड ब्वाइज
१–१च्यासल
३–०फ्रेन्ड्स
१–०एनआरटी
२–२मनाङ

प्रशिक्षक नरेश थापाले सम्हालेको जावलाखेलको अपराजित यात्रामा अफ्रिकी मूलका डिफेन्डर डोम्बिया र फरवार्ड फोफाना प्रभावशाली प्रदर्शन गरिरहेका छन् । स्वदेशी युवा खेलाडी पनि छरिता देखिएका छन् । सेन्टर–ब्याक देवेन्द्रबिना फोफानासहितको जावलाखेलको अग्रपंक्ति रोक्न मछिन्द्रलाई गाह्रो हुनसक्छ ।

पछिल्ला ५ खेलमा जावलाखेल

गोलप्रतिद्वन्द्वी
०–०थ्रीस्टार
१–०सरस्वती
१–१संकटा
२–०च्यासल
०-०
एनआरटी

मछिन्द्रले पासमा सुधार गर्दै बल पोजेसनमा राम्रो गर्न थालेको छ । तर, उसको कमजोर ‘फिनिसिङ’ मा देखिएको छ । सिर्जना गरेको अवसर कमैमात्र सदुपयोग गरेको छ । मछिन्द्रको अग्रपंक्ति तीन गोल गरेका एडेलाजा सोमिडेमा निर्भर देखिएको छ । अभिषेक रिजाल मिहिनेती देखिए पनि बललाई पोस्टको दिशा दिन चुकिरहेका छन् । रेजिन सुब्बा लयमा फर्किएका छैनन् । त्यसैले ‘स्कोरिङ’ मा सुधार गर्न नसके मछिन्द्रलाई च्याम्पियन बन्ने योजना पूरा गर्न मुस्किल पर्नसक्छ ।

मछिन्द्रले उपधि होडका आर्मी, थ्रीस्टारसहित पुलिस, संकटाविरुद्ध प्रतिस्पर्धा गर्न बाँकी नै छ । डिफेन्समा कप्तान विराज महर्जन, रन्जित धिमालसहित अनुभवी खेलाडीहरू भए पनि टोलीले आफ्नै कमजोरीमा गोल बेहोरेको छ । हालसम्मको सबैभन्दा बलियो टिम देखिए पनि मछिन्द्रले च्याम्पियन बन्ने योजना पूरा गर्न भने समग्रमा सबै पोजिसनमा सुधार गर्नु आवश्यक देखिन्छ । प्रवेश कटुवालको टिमनिम्ति सुधारको परीक्षण हुनेछ जावलाखेलविरुद्धको प्रतिस्पर्धा ।

आजका खेल

जावलाखेलविरुद्ध मछिन्द्र

१२ः०० बजे

मनाङविरुद्ध हिमालयन शेर्पा

१५ः०० बजे

दशरथ रंगशाला

प्रकाशित : पुस २६, २०७६ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?