फरार प्रतिवादी ३५ वर्षपछि पक्राउ
भैरहवा — जिल्ला अदालत रुपन्देहीले चोरी मुद्दामा दोषी ठहर गर्दै फैसलामा जरिवाना सुनाइएका एक प्रतिवादी ३५ वर्षपछि पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको टोलीले रुपन्देहीको कञ्चन गाउँपालिका–४ का गोपाल रानामगरलाई ३५ वर्षपछि आइतबार पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी रन्जितसिंह राठौरले जानकारी दिए ।
जिल्ला अदालतले २०४६ साल असार १२ गते गरेको फैसलाले चोरीमा संलग्न ठहर गरेर रानामगरबाट ९ हजार ४ सय २५ रुपैयाँ जरिवाना असुलउपर गर्न भनेको थियो । प्रहरीले रानामगरलाई जरिवाना भुक्तानका लागि जिल्ला अदालत पेस गरिएको जनाएको छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले सवारी ज्यान मुद्दामा जिल्ला अदालतबाट तीन दिन कैद र दुई हजार रुपैयाँ जरिवाना सुनाइएका फरार प्रतिवादीलाई १९ वर्षपछि पक्राउ गरेको छ । २०६२ साल असार २९ गते अदालतले फैसला सुनाएपछि फरार रुपन्देहीको कोटहीमाई–१ का रामकिशुन कुर्मी पक्राउ परेका हुन् । उनलाई प्रहरीले फैसला बमोजिम कैद र जरिवाना भुक्तानका लागि आइतबार जिल्ला अदालतमा पेस गरिएको जनाएको छ ।
प्रकाशित : वैशाख २४, २०८१ ११:०६