२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

गण्डकी प्रदेशसभा बैठक स्थगित 

प्रतिक्षा काफ्ले

काठमाडौँ — गण्डकी प्रदेशसभा बैठक अर्को सूचना नआउँदासम्मलाई स्थगित भएको छ । शुक्रबार केहीबेर बसेको बैठक कांग्रेस र राप्रपाले बहिष्कार गरेपछि अनिश्चितकालसम्मका लागि बैठक स्थगित गरिएको हो । बैठकमा सभामुख कृष्ण धितालले प्रदेश प्रमुखकाे बैठक आह्वानसम्बन्धी पत्र पढेर सुनाएका थिए ।

गण्डकी प्रदेशसभा बैठक स्थगित 

सभामुख धितालले प्रतिपक्षलाई बैठकमा आह्वानसमेत गरेका थिए ।

कांग्रेसले सरकारको वैधानिकताको विषय सर्वोच्चमा विचाराधीन रहेको अवस्थामा अधिवेशन बोलाइएको भन्दै विरोध जनाएको छ । केन्द्रीय सत्ता समिकरण परिवर्तन भएपछि गण्डकीमा कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको थियो । तत्कालीन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बहुमत प्राप्त गर्ने अवस्था नरहेपछि मुख्यमन्त्री पदबाट राजीनमा दिएका थिए । चैत २१ गते सात दिनको समय दिएर प्रदेश प्रमुखले बहुमतको सरकार दाबी पेस गर्न समय दिएका थिए । एमाले–माओवादी र स्वतन्त्र सांसदले बहुमत दाबी गरे । एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री पदमा नियुक्त भएका छ्न् ।

सभामुखको समर्थन पनि रहेकाले खगराजको नियुक्तिलाई कांग्रेसले असंवैधानिक भन्दै आएको छ । दलका नेताले दलको सांसद संख्याको आधारमा दाबी पेस गरेको थियो । दाबी पेसमा सबै सांसदको हस्ताक्षर भने थिएन ।

६० सदस्यीय प्रदेश सभामा एमालेका २२, सभामुखसहित माओवादीका ८ र एक स्वतन्त्र सांसदसहितको समर्थनमा गरिएको दाबीलाई स्विकार्दै प्रदेश प्रमुखले एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई चैत २५ मा मुख्यमन्त्री नियुक्त गरे । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) को व्यवस्था अनुसार मुख्यमन्त्री नियुक्ति गरे ।

सोही विषयमा असन्तुष्टि जनाउँदै कांग्रेसका पाण्डेले प्रदेश प्रमुखलाई विपक्षी बनाइ चैत २६ मा सर्वोच्चमा रिट दायर गरे । उक्त रिट वैशाख १० लाई पेसी तोकिएको छ । अदालतमा विचाराधीन रहेको अवस्थामा संसद् खुलाउनु गतल रहेको कांग्रेसको भनाइ छ । सर्वोच्चको पेसी अगावै विश्वासको मत लिने तयारी प्रदेश सरकारको छ ।

प्रकाशित : वैशाख ७, २०८१ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?