काठमाडौँ — रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता गराउन माग गर्दै परिवारजनले काठमाडौंमा बिहीबार प्रदर्शन गरेका छन् । सरकारले रुसी सेनामा भर्ती भएका सबैलाई तत्काल फिर्ता गराउनुपर्ने माग राख्दै उनीहरूले सिंहदरबारअगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा प्रहरीले १२ जनालाई प्रकाउ गरेको छ ।
प्रदर्शनकारीले युक्रेनको कब्जामा रहेका ५ जना युद्धबन्दीको सकुशल उद्धार गर्नसमेत माग गरेका छन् । त्यस्तै रुसी सेनामा कार्यरत नेपाली नागरिकको तथ्यांक सार्वजनिक गर्न पनि उनीहरूको माग छ ।
रुसी सरकारले थुप्रै नेपाली युवाहरूलाई पनि भाडाका सैनिकका रूपमा भर्ती गरेको छ । रुसी सेनामा गैरकानुनी रूपमा भर्ती भएर युक्रेनसँगको युद्धमा मारिने नेपालीको संख्या ३२ पुगिसकेको छ । रुसी सेनामा कति संख्यामा नेपाली भर्ती भएका छन् भन्ने सरकारसँग पनि तथ्यांक छैन ।