२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

आयु वृद्धिको खुसी

पाठक पत्र

‘बढ्यो आयु, औसत ७१.३ वर्ष बाँच्छन् नेपाली’ शीर्षकको खबरले सबैमा खुसी र उमंग थपेको छ । ४० वर्षयताको वस्तुस्थितिको आँकडा उत्साहजनक रहेको पाइन्छ । यस अवधिमा नेपालीको औसत आयु साढे २१ वर्षले बढेको देखिन्छ । ०३८ सालमा हाम्रो औसत आयु मात्र ४९.८ वर्ष थियो । ०४८ र ०५८ सालमा सो आँकडा बढेर ५४.३ र ६०.४ वर्ष पुग्यो । त्यसपछि पनि निरन्तर सुधारोन्मुख छ ।

०३८ सालमा महिलाभन्दा पुरुषको औसत आयु बढी हुने गर्थ्यो । पछि महिलाको औसत आयुमा उल्लेख्य वृद्धि भई पुरुषलाई उछिनेको छ । जस्तो– ०६८ सालको तथ्यांकमा नेपालीको औसत आयु ६६.६ वर्ष रहँदा महिलाको ६८ र पुरुषको ६५.४ वर्ष देखिएको थियो । दस वर्षपछि अर्थात् २०७८ मा मुलुकको औसत आयु ७१.३ वर्ष रहँदा महिला र पुरुषको क्रमशः ७३.८ र ६८.२ वर्ष देखिएको छ ।

स्वास्थ्य प्रणालीमा भएको सुधार, सचेतना, बालबालिकाले पाइरहेको पोषण र जन्मदेखि हुर्किंदासम्म पाउने लालनपालनलाई औसत आयु बढ्नुका मुख्य कारक तत्त्व मानिए पनि पहिलेदेखि उपेक्षित बनेको, हेपिएको कर्णालीका महिलाको औसत आयु मुलुककै बढी ७५.५ वर्ष रहेको तथ्यांकले सबैलाई छक्क पारेको छ ।

धेरैको सोचाइमा कर्णालीका जनता हुने खानेभन्दा हुँदा खाने वर्गमा पर्छन् । त्यहाँका अधिकांश महिला न चेतनशील छन्, न त शिक्षित नै । सुगम ठाउँका महिलाले पाउने सुविधा उनीहरूले पाउँदैनन् । यथार्थमा आफ्नो खेतबारीमा उत्पादित जैविक खाद्यवस्तु, शारीरिक र मानसिक परिश्रम, स्वस्थकर हावापानी कर्णालीवासीका निम्ति सञ्जीवनी बनेको देखिन्छ, जुन कुरा अन्य प्रदेशका निम्ति अनुकरणीय बन्न सक्छ ।
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

प्रकाशित : वैशाख २६, २०८१ ०६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?