२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

सुन्दर मात्र होइन, स्वस्थ सहर बनाऔं

पाठक पत्र

काठमाडौंस्थित रत्नपार्क र खुलामञ्चको बीचभागमा ढलको दुर्गन्धित पानी जमेको कैयौं महिना भइसक्यो । बटुवालाई त्यसको गन्धले हिँडिनसक्नु भइसक्यो । आज व्यवस्थापन हुन्छ कि भन्यो, भोलि हुन्छ कि भन्यो, दिनदिनै नाक थुन्दै हिँड्यो । यस्तै महानगरका बटुवाहरूको अवस्था छ । दिनदिनै गर्मी बढ्दो छ ।

सुन्दर मात्र होइन, स्वस्थ सहर बनाऔं

गर्मीमा फैलिने रोगहरूको प्रमुख कारण यस्तै फोहोर पानी हो भन्ने सबैलाई थाहा छ । सहरमा डेंगी फैलिएको समाचार आइरहेको छ । कालीमाटी, टुकुचा, बल्खुलगायत जुनसुकै तरकारी बजारमा फोहोर पानी जमेको देखिन्छ, गनाइरहेको हुन्छ । सफाइ कहिले, कसले र कहिले गर्ने ?

ढलको दुर्गन्धित पानीले सहरवासीको स्वास्थ्यमा कति प्रभाव पार्छ, जोकोहीले अनुमान गर्न सकिन्छ । कैयौं महिनादेखि यो समस्या न महानगरपालिकाले देख्छ, न प्रशासनले देख्छ । देख्नु र खप्नुपर्छ त हामी जस्ता बटुवाले ।

यो त एउटा दृष्टान्त मात्र हो । काठमाडौं लगायतका थुप्रै सहरमा फोहोरको थुप्रो नदेखिए पनि जमेको फोहोर पानीलाई बेवास्ता गरेको देखिन्छ । नदी सफाइमा ध्यान नदिँदा सहर दुर्गन्धित बनिरहेको छ । फ्लु, डेंगी जस्ता सरुवा रोगहरूले महामारीको रूप लिँदा धेरै ढिलो भइसक्छ ।

वायु प्रदूषणमा काठमाडौं विश्वमै अग्रस्थानमा पुगेको छ । वायु प्रदूषण न्यूनीकरण हाम्रो पहिलो दायित्व हो । प्रदूषण बढाउन मानवीय कारणलाई नियन्त्रण गर्न जरुरी छ । तर जब बिहान पढ्ने विद्यार्थी, शिक्षक, कर्मचारी, मर्निङवाक गर्नेहरू, योगा तथा जुम्बा गर्नेहरू, मन्दिर जानेहरू निस्कन्छन्, तब महानगरका सफाइ कर्मचारीलाई डुङडुङ धूलो उडाउँदै बढार्न हतार हुन्छ ।

यसो गर्दा नागरिकको स्वास्थ्यमा खेलबाड हुन्छ । महानगरले अलि चाँडै सफाइ सक्न लगाउनुपर्ने हैन र ? हिले–धूले कच्ची सडकमा मोटर गुडाउदाँ पनि सहरमा वायु प्रदूषण उच्च हुने गरेको छ । त्यतातिर यथाशीघ्र ध्यान जाओस् ।
– बैजयन्ती पोखरेल, काठमाडौं

प्रकाशित : वैशाख २५, २०८१ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?