२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

‘धरापमा’ मधेश सरकार : एमाले र माओवादी सरकारबाट बाहिरिने तयारीमा

नयाँ सरकार गठनको गृहकार्य तीव्र

काठमाडौँ — पार्टी विभाजनपछि जसपा नेपाल नेतृत्वको मधेश सरकार धरापमा परेको छ । मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारबाट एमाले र माओवादीले बाहिरिने तयारी गरेका हुन् । शीर्ष नेताको निर्देशन पर्खिरहेका दुवै दलका नेताहरू प्रदेश सरकारबाट समर्थन फिर्ता र नयाँ सरकार गठनको गृहकार्यमा लागेका छन् ।

‘धरापमा’ मधेश सरकार : एमाले र माओवादी सरकारबाट बाहिरिने तयारीमा

नयाँ सरकार गठनबारे एमाले र माओवादीबीच बिहीबार जनकपुरमा वार्तासमेत भएको छ । स्रोतका अनुसार मुख्यमन्त्री पहिला एमाले कि माओवादीको हुने भन्ने टुंगो लाग्न बाँकी छ । ‘मुख्यमन्त्रीमा दुवै दलको दाबी छ । यो टुंगिनेबित्तिकै मुख्यमन्त्री यादवलाई दिइएको समर्थन फिर्ता लिइनेछ र नयाँ सरकार गठन गरिनेछ,’ स्रोतले भन्यो । नयाँ सरकारको स्वरूप, सरकारमा सहभागी दलको सुनिश्चितता र मुख्यमन्त्रीमा आलोपालोलगायत विषयमा पनि एमाले र माओवादीबीच छलफल जारी छ ।

माओवादी मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले आन्तरिक छलफलमा रहेको बताए । ‘अध्यक्षज्यूले ‘वेटिङ’ मा बस्न भन्नुभएको छ,’ उनले भने, ‘निर्देशन पाउनेबित्तिकै मधेशमा सत्ता समीकरण फेरिने सम्भावना छ ।’ आन्तरिक छलफलपछि दलहरूबीच परामर्श हुने उनले बताए । एमाले नेताहरूले पनि पार्टीमा छलफल बढाएका छन् । ‘जसपा नेपाल टुक्रिएपछि मधेश सरकारमा फेरबदल हुने सम्भावना देखिएको छ,’ एमाले मधेशको संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले भने, ‘समर्थन फिर्ता लिएपछि कुन–कुन दलको सहभागितामा र कसको नेतृत्वमा सरकार बनाउनेबारे छलफल भइरहेको छ ।’

मधेश प्रदेशमा सरकार गठनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ । यादव नेतृत्वको सरकारलाई अहिले एमाले, माओवादी, एकीकृत समाजवादी र लोसपाको समर्थन छ । एमालेका २५, माओवादीका ९, एकीकृत समाजवादीका ७ र लोसपाका ८ सांसद छन् । जसपा नेपालका १९ सांसद भए पनि विभाजनका कारण नवगठित जसपामा कति सांसद जान्छन् भन्ने टुंगो छैन । विपक्षमा रहेका कांग्रेसका २२, जनमतका ९ सांसद छन् ।

मुख्यमन्त्री यादवलाई दिएको समर्थन फिर्ता लिए नयाँ सरकारमा सहकार्य गर्न सकिने जनमतले पनि संकेत दिएपछि एमाले–माओवादी झन् हौसिएका छन् । ‘नयाँ सरकार गठनका लागि जनमत संवाद गर्न तयार छ,’ जनमतका संसदीय दलका नेता महेशप्रसाद यादवले भने, ‘सरकार छाडेपछि एमाले र माओवादीसँग हामी नयाँ सरकार गठनका विषयमा वार्ता गर्नेछौं ।’

एमाले र माओवादीले साथ छोडे पनि आफ्नै नेतृत्वमा अर्को सरकार बनाउन मुख्यमन्त्री यादव कसरतमा लागेका छन् । तर, उनलाई जसपा नेपालका सबै सांसद, कांग्रेस, लोसपाका साथै एकीकृत समाजवादीको पनि साथ चाहिन्छ । ‘एस र लोसपा नआई जसपा नेपालको नेतृत्वमै अर्को सरकार गठन कठिन देखिन्छ,’ जसपा नेपाल प्रदेशसभा प्रमुख सचेतक रामआशिष यादवले भने, ‘सबै खेल केन्द्रबाटै भइरहेको छ । मधेशमा जसपा नेपालको सरकार संकटमा परे हाम्रो पार्टी कसले टुटाएको हो भन्ने स्पष्ट हुन्छ ।’

२०७९ पुस २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका यादव भने त्यसयता लगातार मधेश प्रदेशका मुख्यमन्त्री हुन् । करिव १६ महिना कार्यकालमा मुख्यमन्त्री यादवले चार पटक विश्वासको मत लिइसकेका छन् ।

प्रकाशित : वैशाख २७, २०८१ २२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?