मौषम र अहिलेको राजनीति उस्तै-उस्तै भएको छ : माधवकुमार नेपाल
काठमाडौँ — नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई उपेक्षा गरे सत्ता गठबन्धनबाट बाहिरिने चेतावनी दिएका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको अहिलेको राजनीति र नेपालको मौसम उस्तै-उस्तै रहेको टिप्पणी गरे । उनले नेपालको मौसममा केही भन्न नसके जस्तै राजनीतिमा पनि केही भन्न सक्ने अवस्था नरहेको जिकिर बताए ।
उनले राजनीतिक स्थायित्व देशलाई चाहिएको भन्दै त्यसबाट मात्रै मुलुकमा केही परिवर्तन र विकास सम्भव हुने बताए । उनले देश विकासका लागि सामाजिक न्याय, समानता, उत्पादन, रोजगारी प्रवर्द्धन र राष्ट्रिय पुँजीको विकासमा जोड दिनुपर्ने बताए ।
‘अहिलेको नेपालको राजनीति नेपालको मौसम जस्तै छ । तर हामी चाहन्छौँ, मौसमको बारेमा केही भन्न नसके जस्तै नेपालको राजनीतिमा भन्न नसक्ने अवस्था नबनोस् । प्रष्ट रुपमा हामीले भन्न सकौँ। राजनीतिक स्थायित्व हामीलाई चाहिएको छ,' उनले भने, 'देशलाई अघि बढाउनका लागि राजनीतिक स्थायित्व जरुरी छ ।'
उनले आफ्नो दलले सुशासनलाई उच्च प्राथमिकतामा राखेको दाबी गरे । 'हामी सामाजिक न्याय, समानताको कुरालाई उच्चतम महत्व दिन्छौँ र उत्पादनमा जोडिएर, रोजगारी प्रवर्द्धन गरी, नयाँ-नयाँ उद्यमहरु खोल्नका लागि राष्ट्रिय पुँजीको विकास गरेर आवश्यक परे वैदेशिक लगानीलाई आमन्त्रण गरेर विदेशमा गएका नेपालीहरुको पनि अनुभव, सीप, पुँजीको प्रयोग गर्छौं,' उनले भने ।
अध्यक्ष नेपालले देशको अर्थतन्त्रसहित सबै किसिमका समस्या समाधानमा सरकारले ध्यान दिनुपर्ने बताए ।