२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

सुप्रिम सहकारी ठगी प्रकरण अध्यक्ष गुरुङ पुर्पक्षका लागि थुनामा, पुनसहित ६ लाई धरौटीमा छाड्ने आदेश

चार लाख धरौटी नबुझाएपछि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश कारागार चलान

भैरहवा — बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीको बचत रकम अपचलन आरोपित ६ जनालाई जिल्ला अदालतले शुक्रबार धरौटीमा रिहा गर्न आदेश गरेको छ । शुक्रबार मध्याह्न थुनछेक बहस सकिएपछि जिल्ला न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको इजलासले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको  छ भने पूर्वपदाधिकारीसमेत रहेका दीपेश पुनलाई भने चार लाख रुपैयाँ धरौटी बुझाएर रिहा गर्न आदेश भएको छ ।

सुप्रिम सहकारी ठगी प्रकरण अध्यक्ष गुरुङ पुर्पक्षका लागि थुनामा, पुनसहित ६ लाई धरौटीमा छाड्ने आदेश

ठगी प्रकरणका मुख्य आरोपी ओखलढुंगाका जीबी राईभन्दा पछाडि बुटवलका गुरुङ सुप्रिमको अध्यक्ष बनेका थिए । राई अध्यक्ष हुँदा पूर्वराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश संस्थाको कोषाध्यक्ष थिए ।

२०७६ मा सुप्रिम र रूपन्देहीको मसिनामा रहेको जय अम्बे बहुउद्देश्यीय संस्थालाई एकीकृत कारोबार गर्ने निर्णय भयो । उक्त निर्णयअनुसार बनेको नयाँ सञ्चालक समितिमा गुरुङ अध्यक्ष थिए भने दीपेश सचिव रहेको प्रहरी प्रतिवेदनमा उल्लेख छ । पुनले बयानमा सुप्रिम सहकारीबाट खातामा रकम जम्मा भएको विषयबारे आफूलाई जानकारी नभएको बयान दिएका थिए ।

रूपन्देही जिल्ला अदालतका सूचना अधिकारी अनन्त मरासिनीका अनुसार शुक्रबार साँझसम्म धरौटी बुझाउन नसकेपछि पुन र अर्का प्रतिवादी नवीन अछामीलाई पनि अध्यक्ष गुरुङसँगै कारागार पठाइएको छ । अदालतले काठमाडौंमा पक्राउ गरेर रूपन्देही ल्याइएका अछामीलाई १० लाख रुपैयाँ धरौटी बुझेर रिहा गर्न आदेश गरेको थियो । ‘पुन र अछामीले धरौटी बुझाउन नसकेपछि कारागार पठाइएको छ,’ मरासिनीले कान्तिपुरसित भने, ‘बाँकी धरौटी बुझाएर रिहा भएका छन् ।’ अदालतले सहकारीको भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाईं पाण्डेलाई १८ लाख, नीता थापामगरलाई २ लाख, दीपक न्यौपानेलाई ४ लाख ४५ हजार र रोशनी गुरुङसित २ लाख रुपैयाँ धरौटीमा माग गरेको छ ।

अदालतले अध्यक्ष गुरुङलाई थुनामै राखेर थप अनुसन्धान गर्न भनेको छ । अदालतले प्रहरीले अनुसन्धानका लागि पोखरा कारागारबाट यहाँ ल्याएका कुमार रम्तेल र भविश्वर अर्याललाई कास्की कारागारबाट झिकाउने आदेश गरेको छ । त्यस्तै प्रहरीले पेस गरेका सहकारीका पूर्वअध्यक्ष एवं अहिलेका संरक्षक गितेन्द्रबाबु (जीबी) राईसहितका अन्य प्रतिवादीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला सरकारी वकिल कार्यालयले सोमबार साँझ जिल्ला अदालतमा अभियोजनपत्र दर्ता गराएपछि मंगलबारबाट प्रतिवादीसित बयान लिन थालिएको थियो । गत मंगलबार सहकारीका अध्यक्ष गुरुङ, सहकारीका पूर्वकोषाध्यक्ष पुन, भैरहवा शाखा व्यवस्थापक चापागाईंको बयान लिइएको थियो ।

सूचना अधिकारी मरासिनीका अनुसार बुधबार सार्वजनिक बिदा परेकाले बाँकी प्रतिवादीसित बिहीबार बयान लिएपछि थुनछेक बहस सुरु भएको थियो । शुक्रबार बिहान पहिलो प्रहरमा बाँकी बहस सकिएपछि आदेश भएको थियो । प्रतिवादीको बयानअनुसार सहकारीको रकम विभिन्न व्यक्ति र कम्पनीका नाममा पठाउने मुख्य आरोपी बुटवलस्थित मुख्य कार्यालयका व्यवस्थापक सागर केसी फरार छन् । रकम हिनामिना भएको भन्दै बचतकर्ताले उजुरी गरेपछि प्रहरीले गत फागुन ३ गते सुप्रिम सहकारीका अध्यक्ष गुरुङ र भैरहवा शाखा व्यवस्थापक चापागाईंलाई पक्राउ गरेको थियो । प्रहरीले प्रतिवादी कायम गरेका अधिकांश सहकारीका संस्थापक, वर्तमान र पूर्वपदाधिकारी फरार छन् ।

इलाका प्रहरी कार्यालय बुटवलले करिब दुई महिना लामो अनुसन्धानपछि गत वैशाख ३ गते जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । त्यसपछि सरकारी वकिल कार्यालयले प्रतिवेदन अध्ययनपछि रायसहित अभियोजना दर्ता गराएको थियो । प्रहरीले माग गरेपछि सर्वसाधारणको रकम ठगी गरेको भन्दै १ हजार ८ सय ३१ जनाले उजुरी गरेका थिए । सहकारीमा जीबी राईसहितको समूहले सर्वसाधारणबाट बचत भएको १ अर्ब ३१ करोड रकममध्ये सहकारीका राई, पुन, गुरुङसहितका पदाधिकारी र कर्मचारीले ८६ करोड १८ लाख, २३ हजार अपचलन गरेको प्रतिवेदन प्रहरीले बुझाएको थियो । सहकारीमा १९ हजार ३ सय ९१ सदस्य छन् ।

प्रकाशित : वैशाख ८, २०८१ ०६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?