सिड्नीमा दुई नेपाली विद्यार्थीको मृत्यु
काठमाडौँ — अस्ट्रेलियाको सिड्नीमा दुई नेपाली विद्यार्थीको डुबेर मृत्यु भएको छ । एकजनाको उपचार भइरहेको छ । एनआरन अस्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेलका अनुसार स्थानीय निकुञ्जमा क्याम्पिङ गएका उनीहरुको पौडी खेल्ने क्रममा दलदलमा डुबेर मृत्यु भएको हो ।
सिड्नीबाट उत्तरी क्षेत्रको बेरोरा राष्ट्रिय निकुञ्जमा बार्बिक्युको लागि गएका विद्यार्थीमध्ये धादिङका २३ वर्षीय रोशन छत्कुली र चितवनका २६ वर्षीय विशाल सेढाईंको मृत्यु भएको हो । अस्पतालमा चिन्ताजनक अवस्थामा रहेका प्रदिप पाण्डेको ठेगाना खुलेको छैन । उनको वेष्टमेड अस्पतालमा उपचार भइरहेको पोखरेलले बताए । साथीहरु मिलेर छुट्टीको समयमा गएका उनीहरुमध्ये सेढाईं स्थानीय विश्वविद्यालयमा इन्जिनियरिङ अध्ययन सकेका थिए ।
क्यान्बेरास्थित नेपाली राजदुत महेशराज दाहालले घटना दु:खद भएको र पीडित परिवारलाई आवश्यक सहयोग पुर्याइरहेको जानकारी दिए ।