भिसी विजेता थापा अब चलचित्रको पर्दामा

लन्डन — भिक्टोरिया क्रस (भिसी) पाउने पहिलो नेपाली स्वर्गीय कुलवीर थापाको जीवनीमा आधारित चलचित्र बन्दैछ । बेलायत बसोवासरत भूतपूर्व ब्रिटिस गोर्खा सन्तानहरुले थापाको जीवनीमा आधारित ‘गोर्खाः बिनिथ द ब्रेभरी’ नामक चलचित्र बनाइरहेका हुन् ।

भिसी विजेता थापा अब चलचित्रको पर्दामा

पाल्पामा जन्मिएका थापाले २६ वर्षको उमेरमै भारतीय सेनामा सेवारत रहँदा बेलायत सरकारको सम्मानित पदक (भिसी) पाएका थिए ।


चलचित्र निर्माणको अन्तिम चरणमा रहेको छ । चन्दा संकलनबाटै निर्माणाधीन चलचित्र प्रदर्शनपछि हुने मुनाफा च्यारिटी संस्था गोर्खा वेलफेयर ट्रष्टलाई दिने प्रतिबद्धता चलचित्र निर्माताहरुले गरेका छन् । चलचित्रमा अभिनय गर्ने सबै कलाकारले पारिश्रमिक पनि लिएका छैनन् ।

निर्देशक प्रदीप शाहीसहितअन्य कलाकार, क्यामेरापर्सनलगायत चलचित्र युनिटमा आबद्ध धेरैजसो प्राविधिक गोर्खा सन्तान हुन् ।

करिब सवा घण्टा लामो चलचित्रमा समिर गुरुङले भिसी कुलवीर थापा र गौमाया गुरुङले माया अर्थात भिसीपत्नीको भूमिकामा अभिनय गरेका छन् । ओली बासी, सूर्य गुरुङ, राजन गुरुङ, अगोस्टिनो, रोविन, चार्ली, ज्याक, लीलगायतले युद्दमोर्चामा प्रत्यक्ष लडेका सेनाको भूमिका निभाएका छन् । सगरमाथा युथ युके र वानआरजीआरको समेत अभिनयमा साथ छ । चलचित्र निर्माणका लागि करिब २५ हजार पाउण्ड हाराहारी बजेट लाग्ने अनुमान गरिएको निर्माण युनिटले जनाएको छ ।


फिल्मकी ब्राण्ड एम्बासडर मिस इंग्ल्याण्ड २०१९ सेकेन्ड रनर अप प्रतिष्ठा राउतले अझै केही रकम अपुग भएकाले सहयोग गरिदिन अपिल गरेकी छन् ।


चलचित्र लेखक तथा निर्देशक शाही भिसी थापाप्रति सम्मान र भूतपूर्व गोर्खाहरुको योगदान जीवन्त राख्न र उनीहरुले विश्वयुद्दमा निर्वाह गरेको ऐतिहासिक भूमिका नयाँ पुस्तालाई जानकारी चलचित्र उपयोगी हुने बताउँछन् ।


बेलायतमा अहिले हजारौं भूतपूर्व गोर्खा र तिनका परिवार बस्छन् । २०० वर्ष भन्दा पुरानो बेलायत नेपाल सम्बन्धको प्रमुख आधार नै ब्रिटिश गोर्खा मानिन्छ ।

चलचित्रको ८० प्रतिशत निर्माण कार्य पूरा भइसकेको र जुलाई २०२० भित्र प्रदर्शन गरिने निर्देशक शाहीले बताए । चलचित्र कान्स फिल्म फेष्टिभलमा लैजान प्रयत्न गरिने पनि शाहीले बताए ।

प्रकाशित : पुस १९, २०७६ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?