२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२८

अर्थतन्त्रको वर्तमान अवस्थाबारे चेम्बरले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ — नेपाल चेम्बर अफ कमर्सले अर्थतन्त्रको वर्तमान अवस्थाबारे प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएको छ । चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालसहितको पदाधिकारी टोलीले आइतबार सिंहदरवारमा प्रधानमन्त्री दाहालसँग भेटवार्ता गर्दै वित्तीय र मौद्रिक नीतिको प्रभावकारी समन्वय मार्फत अर्थतन्त्र चालयमान बनाउनुपर्ने लगायतका सुझाव दिएका हुन् । 

अर्थतन्त्रको वर्तमान अवस्थाबारे चेम्बरले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण

‘विगतमा लिएका संकुचित नीतिहरुका कारणले अर्थतन्त्र हाल शिथिल अवस्थामा पुगेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘व्यापार असहजीकरण, शेयर बजारको संकुचन, घरजग्गा कारोबारमा सुस्तता लगायतका कारणले आर्थिक गतिविधी खुम्चिएको छ ।’ अर्थतन्त्रमा हाल देखिएको शिथिलताले निजी क्षेत्रको सम्पति ५० प्रतिशतसम्म ऋणात्मक भएको चेम्बरको ठहर छ ।

आयकर ऐन २०५८ का अधिकांश प्रावधानहरु स्पष्ट नहुँदा अन्तशुल्क, भन्सार आदिमा पछिल्लो समय भूत प्रभावी दायित्वहरु देखा परेको भन्दै अन्त्य गर्न चेम्बरले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो । घरजग्गा खरिद बिक्रीका क्रममा विगतको सम्पत्तिको स्रोतलाई मान्यता नदिएर चालु नाफाको स्रोतलाई नै मान्यता दिने मालपोत कार्यलयबाट अपनाईएको प्रक्रियाले घरजग्गा कारोबारमा शिथिलता आएको चेम्बरले जनाएको छ । चेम्बरले सहकारी क्षेत्रमा देखिएको बेथिति अन्त्यका लागि अबिलम्ब पहल गर्नपनि प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएको छ ।

‘सहकारी क्षेत्र समस्याग्रस्त हुँदा साना, मझौला उद्यमी व्यवसायीहरु पीडित भएका छन् । सहकारी क्षेत्रको समस्या अबिलम्ब समाधान हुनुपर्दछ,’ चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विगतमा चरम आर्थिक मन्दीका कारण पीडित उद्यमी व्यवसायीहरुलाई कुनै जरिवाना लाग्ने अवस्था आएमा पूर्ण छुट दिने व्यवस्था गर्नुपर्छ ।’ करका कारण विवादित मुद्दाहरूको यथाशीघ्र समाधानका लागी कर व्यवस्थापन आयोग गठन गर्न पनि चेम्बरले माग गरेको छ ।

भेटका क्रममा प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा हाल देखिएको दवाव अन्त्य गर्न सरकार प्रयत्नशील रहेको बताएका छन् । ‘अर्थतन्त्र संकटउन्मुख पनि छैन, चलायमान पनि हुन सकेको छैन्,’ उनले भने, ‘अर्थतन्त्रका अधिकांश सूचकहरु सकारात्मक भएर पनि आर्थिक गतिविधी विस्तार हुन सकेको छैन् ।’ प्रधानमन्त्री दाहालले अर्थतन्त्रको जग बलियो बनाउने गरी सरकारले नीति तथा कार्यक्रमको खाका बनाईरहेको बताए । सहकारी समस्या समाधानका लागि पनि सरकारले ठोस निर्णय गर्ने तयारीमा रहेको प्रधानमन्त्री दाहालले जनाए ।

प्रकाशित : वैशाख २३, २०८१ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?