स्वर्गीय खड्काको स्मृतिमा विद्याभूषण पदक स्थापना 

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले आफ्ना पूर्व प्राध्यापक प्रदिपकुमार खड्काको स्मृतिमा विद्याभूषण पदक स्थापना गरेको छ । त्रिभूवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा केदारप्रसाद रिजाल र प्राध्यापक प्रदीपका छोरा विमल खड्काबीच आइतबार पदक स्थापना गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

स्वर्गीय खड्काको स्मृतिमा विद्याभूषण पदक स्थापना 

सम्झौतासँगै खड्काले आफ्नो पिताको स्मृतिमा त्रिविले हालै स्थापना गरेको ‘दानदातव्य कोष’मा १० लाख २५ हजार रुपैयाँ प्रदान गरेका छन् ।

उक्त रकमको ब्याज आधा अक्षय कोषमा नै र आधा चाहिँ स्नात्तकोत्तर तहका ग्रामीण विकास विषयमा उत्कृष्ट छात्रा र छात्रलाई प्रत्येक वर्ष ‘प्रा. प्रदीपकुमार खड्का विद्याभुषण पदक’ प्रदान गरिने सम्झौता भएको रजिष्ट्रार रिजालले बताए । उनका अनुसार यसो गर्दा प्रत्येक वर्ष अक्षयकोषको कुल पूँजी पनि बढ्ने र त्यस अनुसारको पदक राशी पनि बढ्दै गएर ठूलो रकम हुन जानेछ ।

‘त्रिविले स्थापना गरेको दानदातव्य कोषमा आएको पहिलो दान हो यो’ रिजालले भने, ‘हाम्रा पूर्व प्राध्यापक प्रदीप खड्का बितेर जानु भए पनि उहाँको सम्झनामा उहाँले नै प्राध्यापन गरेको थलोमा अक्षयकोष स्थापना गर्न पाउँदा हामीलाई खुसी लागेको छ ।’

त्रिविमा पढेका र पढाएका हजारौं हजार परिवारले आफ्नो छोराछोरी वा बाबु आमाको स्मृतिमा दानदातव्य प्रदान गरुन् भनेर हालै कोष खडा गरेको र त्यसमा खड्का परिवारले पहिलो पाइला हालेर सहयोग गरेकामा रिजालले धन्यवाद पनि प्रकट गरे । त्रिविलाई माया गरेर यससँग जोडिन पुगेका सबैलाई उनले दानदातव्य कोषमा जोडिएर देशको पहिलो विश्वविद्यालयको वृहद गतिविधिमा संलग्न हुन आग्रह गर्दै रजिष्ट्रार रिजालले थपे, ‘संसारका कैयौ विश्वविद्यालयहरु दानदातव्यबाट सञ्चालन भइरहेका छन्, हामी पनि अब यो मोडलमा जाऔं ।’

झण्डै चार दशकको लामो प्राध्यापनपछि २०६७ मा सेवा निवृत्त भएका खड्काकै नेतृत्वमा त्रिभुवन विश्वविद्यालयमा ग्रामीण विकास केन्द्रीय विभाग स्थापना भएको थियो । अर्थशास्त्रमा विद्यावारिधि गरेका खड्काले विद्यार्थीहरुको शुल्कबाट उठेको रकमबाटै ग्रामीण विकास केन्द्रीय विभागको भवन निर्माण भएको थियो ।

‘ग्रामीण विकासलाई एक प्राज्ञिक विषयका रुपमा त्रिविमा पढाउने काममा बुबा दिनरात लागिराख्नु भएको सम्झना मलाई बच्चा हुँदादेखि नै छ’ पाटन क्याम्पसस्थित ग्रामीण विकास विभागका प्रमुखसमेत रहेका उप प्राध्यापक विमलले भने, ‘त्रिविमा ग्रामीण विकासको अध्ययनले निरन्तरता पाइरहोस् भन्ने उहाँको चाहनालाई उहासम्मान गर्नका लागि उहाँको परिनिर्वाण भएको ४५ दिनका दिन अक्षय कोषको स्थापना गर्न पाउँदा हर्ष लागेको छ ।’

प्रकाशित : वैशाख १६, २०८१ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?