१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

भारतीय नागरिकको अपहरणपछि हत्या गरेको आरोपमा ३ जना पक्राउ

मनोज पौडेल

कपिलवस्तु — एक भारतीय नागरिकलाई अपहरण गरी हत्या गरेको आरोपमा आरोपी पक्राउ परेका छन् । कपिलवस्तुको मायादेवी गाउँपालिकास्थित अभिरावमा हाथखुट्टा बाँधेर भारतको सिद्धार्थनगर पचगवाका ४१ वर्षे जमाल अहमदको हत्या गरिएको थियो । 

भारतीय नागरिकको अपहरणपछि हत्या गरेको आरोपमा ३ जना पक्राउ

सीमा नाका चाकलचौडादेखि एक किलोमिटर उत्तर बिजुवा पुलनिरबाट यूपी ५५ एएच २०५७ नम्बरको मोटरसाइकल चढेर आउँदै गर्दा बिहीबार दिउँसो ४ बजेतिर जमालको अपहरण गरिएको थियो । ४ जनाले अटोमा जमाललाई कुटपिट गर्दै लगेको सूचना ४ बजे ४० मिनेटमा पाएपछि सदरमुकामबाट प्रहरीले परिचालित भएको थियो ।

जमाल अपहरित भएको स्थानबाट प्रहरीले उनको मोटरसाइकल र एउटा सानो झोला बरामद गरेको थियो । झोलामा रहेको मोटरसाइकलको लाइसेन्सबाट उनको नाम–ठेगाना खुलेको थियो । त्यसपछि प्रहरी चाकलचौडा सीमा प्रहरी कार्यालयमा बेस बनाएर अपरेशन थाल्यो । स्थानीयसँगको समन्वयमा अपहरणकारी पहिचान भयो ।

त्यसपछि प्रहरी अपहरणकारीको खोजीमा लाग्यो । टोलीटोली बनाएर प्रहरी परिचालन भयो । अपहरणकारी पनि लुक्दै हिँड्न थाले । प्रहरी पनि सिभिल ड्रेसमा उनीहरूको पिछा गर्न थाल्यो । दुई जना अपहरणकारी मायादेवी २, अभिराव बस्ने ४१ वर्षका रमजान भन्ने अब्दुल अली मुसलमान र ३७ वर्षका सुब्बा भन्ने नजामुद्दिन मुसलमान पकडी चोकनिरबाट राति ९ बजेति पक्राउ परे । उनीहरू पक्राउ परेपछि मात्र अपहरितको अवस्था पत्ता लाग्यो । चिकित्सकसहित अपहरित व्यक्ति लुकाइएको ठाउँमा प्रहरी गए पनि उनको मृत्यु भइसकेको थियो ।

अपहरित व्यक्तिलाई अभिराव गाउँनजिकैको बगैंचामा लगेर कुटपिट गरी हातखुट्टा बाँधेर इस्लाहुल मुस्लिम मदरसाको स्टोर कोठा बन्द गरेर खिएको थियो । उनको दुइटै हात भाच्चिएको थियो । शरीरभरि लट्ठीले हानेको डाम थियो । दुई जना अपहरणकारी पक्राउ परेर शव बरामद भएसँगै थप दुई अपहरणकारी पक्राउ गर्न प्रहरी लाग्यो । शुक्रबार बिहान मायादेवी–२ अभिरावकै ३२ वर्षे अक्रममुद्दीन मुसलमानलाई प्रहरीले गाउँबाटै पक्राउ गर्‍यो । अपहरणकारीमध्ये एक जना भने अझ फरार छन् । एक अपहरणकारी सुब्बा भन्ने अब्दुल अली मुसलमान भारतको मुम्बईमा जेल परेर छुटेर आएको प्रहरीले जनाएको छ ।

जमाल अहमदलाई अपहरण गरी लग्दै गर्दा बाटामै लु १ ह १४८७ नम्बरको अटो पिपरा बलुहवा हुँदै बडसुवा पुग्दा बिग्रिएको थियो । त्यसपछि उनीहरूले अक्रममुद्दीन मुसलमानलाई मोटरसाइकल लिएर छिट्टै आउन भन्दै बोलाए । त्यसपछि लु८२प १३०० नम्बरको मोटरसाइकलमा जमाललाई अभिरावको बगैंचामा पुर्‍याए । त्यहीँ सबै आएर उनलाई कुटपिट गरेका थिए ।

लेनदेन विवादमा घटना घटेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । ‘अक्रममुद्दीन र जमालबीच आर्थिक लेनदेन थियो भन्ने प्रारम्भिक सूचना छ,’ जिल्ला प्रहरी कार्यालयमा एसपी नवरत्न पौडेले भने, ‘अहिलेसम्म लेनदेनकै कारण हत्या भएको देखिन्छ ।’

मृतकको शव पोस्टमार्टम गरेर परिवारलाई जिम्मा लगाइएको छ । छोराले किटानी जाहेरी दिएका छन् । तीनै जनालाई अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख ७, २०८१ १९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?