२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

कोसी बगरमा खरबुजा फलाएर जीवन धान्छन् भारतीय

अवधेशकुमार झा

राजविराज — रोजगारी नपाएर नेपालीहरु भारतको पंजाव र हरियाणासम्म मजदुरी गर्न गइरहेका बेला भारतीय नागरिकहरु भने नेपालमा आएर खेतीपाती गरिरहेका छन् । उनीहरुले खेतीपातीबाटै लाखाैँ रुपैयाँ कमाइरहेका छन् । भारतका विभिन्न राज्यबाट आएका उनीहरुले सप्तकोशी नदी किनारमा खरबुजा खेती लगाएका छन् ।

कोसी बगरमा खरबुजा फलाएर जीवन धान्छन् भारतीय

पश्चिम बंगाल, उत्तरप्रदेश र हरियाणा लगायतका राज्यबाट आएका सयभन्दा बढी मुस्लिम परिवार सप्तकोसीको बगरमा खरबुजा खेती गर्दे मनग्यै कमाउने गरेका हुन् । कोसी ब्यारेज देखि डलबासम्म सयौँ बिगाहा जग्गामा ती भारतीयहरु खरबुजा खेती गरिरहेका छन् । खरबुजा खेतीमा सय परिवार भारतीय लागेका छन् । उनीहरुले कोसीको बगरमा रहेको खेत स्थानीयसँग लिजमा लिएर खरबुजा खेती गरिरहेका छन् ।

भारतको उतर प्रदेशको सामली जिल्लाका ६० वर्षीय मो. इकबाल पाँच महिनाअघि आफ्नो सात जनाको परिवारसहित सप्तरीको बनरझुलास्थित कोसी बगरमा पुगेका थिए । २ छोरा २ छोरी, बुहारी र श्रीमतीसहित आएका इकवालले कोसी बगरमा पाँच बिगाहा जग्गा स्थानीयबाट पाँच हजारप्रति बिगाहा भाडामा लिएर खरबुजा खेती गरिरहेका छन् ।

‘पाँच लाख लगानी गरेँ, पुरै परिवारको मेहनत छ, अहिलेसम्म पुँजी फर्कियो,’ इकवालले भने, ‘अबको बिक्री कमाइ हो ।’ कोसी बगरमा उत्पादन हुने खरबुजा काठमाडौंसम्म पुग्ने गरेको छ । खरबुजा उत्पादनपछि बारीमै ट्रक लिएर ब्यापारीहरु पुग्ने गरेका छन् । बारीमा १५ देखि २० रुपैयाँमा बिक्री हुँदै आएको खरबुजा बजारमा ५० रुपैयाँ किलोको दरले बिक्री हुँदै आएको छ ।

‘मेहनत छ, लगानी हुन्छ तर कमाइ पनि छ,’ इकवालले भने, ‘पाँच महिना अघि आए, अझै तीन महिना पुरै परिवार कोसी बगरमै बस्छु, सात आठ लाखसम्म कमाएर जान्छु ।’ इकवाल जस्तै सय भारतीय परिवार कोसी बगरमा खरबुजा खेती गरिरहेका छन् ।

केहीले फर्सी, लौका र काक्रा समेत लगाएका छन् । इकवालको परिवार विगत पाँच वर्षदेखि खरबुजा खेतीका लागि कोसी बगर आउने गरेका हुन् । ‘२–३ महिना मात्रै आफ्नो घर जान्छु, नभए हाम्रो बसाइ कोसी बगरमै हो,’ उनले भने, ‘हामीले सोचे अनुरुपको कमाइ यसै कोसी बगरमा हुदै आएपछि किन अन्यत्र जानु ?’ यसपटक हावा अत्यधिक चलेकाले उत्पादनमा केही ह्रास आएको उनले बताए । ‘खाल्टो खन्ने, बिरुवा हुर्काउने, पानी लगाउने र कुखुराको सुली लगायत मलखाद्यमा लगानी हुन्छ,’ उनले भने ।

हरियाणा राज्यको पानीपतका मो. सादिर पनि खरबुजा खेती गर्न कोसी बगर आएका सय परिवार मध्येका एक हुन् । उनी यसवर्ष पहिलो पटक खरबुजा खेती गर्न यहाँ आएका हुन् । ‘गाउँका धेरै जना आउँदै थिए, म पनि पुरै परिवार चार महिना अघि यता आएँ,’ उनले भने, ‘मेहनत छ । तर कमाइ पनि राम्रै भइरहेको छ ।’

हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोईलाडी गाँउपालिकास्थित कोसीको बगरमा भइरहेको खरबुजा खेतीले नेपाली परिवारलाई यसखेती आकर्षित गर्न सकेको छैन । केही भारतीयले एकाधजना नेपालीलाई ब्यापार प्रयोजनका लागि जोडेपनि खेतीमै भने नेपालीको आकर्षण हुन सकेको छैन।

प्रकाशित : वैशाख २७, २०८१ २०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?