३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

जो वर्षौंदेखि कर्णालीवासीको स्वास्थ्य जाँचिरहेका छन्

सेवाग्राहीको सद्भाव र स्नेहसँगै भूगोलको मायाले छोपेपछि कर्णाली छोड्नै गाह्रो
तृप्ति शाही

वीरेन्द्रनगर — कर्मचारी वृत्तमा कर्णाली खटाइनुलाई सजाय दिएजस्तो बुझाइ छ । तर केही कर्मचारी अपवाद छन्, जो कर्णालीबाहिर घर भए 
पनि वर्षौंदेखि यहाँको दुःख र अभावबीच सेवामा खटिरहेछन् । कर्णालीको स्वास्थ्य सुधार्न मरिमेटेर वर्षौंदेखि यहीं बसिरहेका प्रतिनिधि डाक्टरको कुरा सुन्दा लाग्छ, यहाँ बसेर सेवा दिनु चुनौतीपूर्ण भए पनि असम्भव भने होइन ।

जो वर्षौंदेखि कर्णालीवासीको स्वास्थ्य जाँचिरहेका छन्

कर्णालीमा ८ सय ९५ स्वास्थ्यकर्मीको दरबन्दी छ तर ३ सय १४ जनाको मात्र पदपूर्ति भएको छ । ७९ वटा विशेषज्ञ डाक्टरको दरबन्दी भए पनि १० मात्रै पदपूर्ति भएको छ । १ सय ५७ मेडिकल अधिकृतको दरबन्दी रहेकामा ३३ जना मात्र कार्यरत छन् । किनकि, कर्णालीमा पदस्थापना भएका वा सरुवामा परेका कर्मचारी जानै नमान्ने वा बिदामा बस्ने प्रवृत्ति व्यापक छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक तथा स्त्रीरोग विशेषज्ञ एसोसियट प्रोफेसर डा. राजीव साह तिनै थोरै डाक्टरको सूचीमा छन्, जो वर्षौंदेखि कर्णालीवासीको उपचारमा लागिपरेका छन् । सप्तरीको राजविराजका साह ९ वर्षदेखि यहाँ छन् । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस र वीर अस्पतालबाट एमडी गरेका उनी जुम्लामा मात्रै सीमित छैनन् ।

खासगरी पाठेघरको शल्यक्रियाको शिविर लिएर कर्णालीका दसै जिल्ला घुमेका उनले यहाँका जनताको स्वास्थ्य सेवाको पहुँच कति कमजोर छ भन्ने देखेका छन् । दुर्गमका महिला उपचारको अभावमा कुन हदसम्मको दुःख झेलिरहेका छन् भन्ने उनले नजिकबाट महसुस गरेका छन् । ‘कुनै ठाउँमा १० दिनका लागि स्वास्थ्य शिविर लिएर बस्दा पनि बिरामीको ताँती सकिँदैनथ्यो,’ उनले सुनाए ।

जुम्ला अस्पतालका निर्देशक तथा स्त्रीरोग विशेषज्ञ डा. राजीव साह बिरामी जाँच्दै ।

मधेशको तातोमा हुर्केका साहलाई सुरुवाती वर्षमा परिवार, आफन्ती र साथीभाइले भन्थे, त्यति विकट ठाउँ किन रोजेको ? त्यहाँ धेरै चिसो हुन्न र ? तर वर्षौंदेखि जुम्लामा बस्दा बस्दै उनी यहाँको अप्ठ्यारोमा पनि सहजता भेटिरहेको बताउँछन् । हिजोआज उनले यति लामो समयदेखि कर्णाली बसिरहेको भन्ने प्रश्न सामना गर्नुपरेको छैन । उनको अनुभवमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन भएर डाक्टरको पढाइ हुन थालेपछि भने कर्णालीलाई हेर्ने दृष्टिकोण फेरिँदै गएको छ । अनि मान्छेहरूले पनि उनलाई भन्न थालेका छन्, ‘दुर्गममा बसेर पनि राम्रो सेवा दिनुभएको छ ।’

रूपन्देहीको सैनामैना घर भएका डा. गणेश थापा १७ वर्षयता कर्णालीवासीको स्वास्थ्य जाँचिरहेका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) बाट एमबीबीएस र वीर अस्पतालबाट जनरल सर्जरीमा मास्टर्स गरेपछि २०६३ सालमा सातौं तहको मेडिकल अधिकृतका रूपमा तत्कालीन क्षेत्रीय अस्पताल सुर्खेत आइपुगेका थिए । अरूजस्तै उनी पनि दुर्गममा सेवा गरेपछि नम्बर बढ्ने र बढुवा पाइने लोभले तानिएर यहाँ आइपुगेका थिए । उनले हाँस्दै सुनाए, ‘म पनि सुरुमा बढुवा हुनकै लागि सुर्खेत आएको थिएँ । सातौंबाट आठौं हुन, आठौंबाट नवौं हुन सबैलाई दुर्गम चाहिन्थ्यो ।’

दुई वर्ष काम गरेर फर्कुंला भनेर सुर्खेत आइपुगेका थापा त्यसपछि यहाँबाट फर्केर जान सकेनन् । सातौं तहमा आएका उनी बढुवा भएर २०७४ सालमा ११ औं तहमा पुगे । बढुवापछि अरूलाई जस्तै उनलाई पनि काठमाडौं वा बुटवलजस्ता सुगम सहर जाने सोच नआएको होइन । तर उनलाई सुर्खेतकै मायाले बाँधेर राखेको बताए । कर्णाली प्रदेश अस्पताल सुर्खेतका चिफ कन्सल्टेन्ट सर्जनको जिम्मेवारी सम्हालिरहेका उनले सुनाए, ‘लम्बिंदा लम्बिंदा यतिका वर्ष भइसकेछ ।’

बिरामीसँग भलाकुसारी गर्दै कर्णाली प्रदेश अस्पताल सुर्खेतका चिफ कन्सल्टेन्ट सर्जन डा. गणेश थापा ।

थापाको बुझाइमा काम गर्दै जाँदा भने सोचेजस्तो टिम बनेपछि उनी यतै अडिन सकेका हुन् । ‘अस्पतालका निर्देशक डा. डम्बर खड्काको सहयोग पाएकाले पनि यहाँ छोडेर जानै मन लाग्दैन,’ उनले विस्तारमा बताए, ‘यहाँ काम गर्न सहज छ । मेरो टिम पनि राम्रो छ । त्यसैले म यतै छु ।’ डा. थापाले कर्णालीलाई छोड्न नसक्नुको अर्को कारण पनि छ । आफूले बसाएको जग धान्न सक्ने जनशक्ति नभएकाले पनि चटक्कै छोडेर अन्य सहर गइहाल्न मन नभएको उनले सुनाए । कर्णालीको प्रदेश अस्पतालमा हुने सानाठूला सबै अप्रेसन उनकै नेतृत्वमा हुन्छन् ।

थापालाई हिजोआज यस्तो लाग्छ, आफूले चटक्क छाडेर हिंडे भने यहाँ के होला ? किनकि, कहिलेकाहीं बिदामा बस्दा सर्जरी रोकिएको तीतो अनुभव उनले सँगालेका छन् । ‘म यहाँ भइनँ भने सर्भिसै दिन गाह्रो छ जस्तो लाग्छ,’ उनले सुनाए, ‘अन्य डाक्टर नआएपछि सिकाएर बनाउनुपर्ने हो । मैले गरेको जति गर, त्यसमा अझै समय अनुसार सेवा थप्दै जाऊ भनेर कसैलाई तयार गर्न सकेको भए जान हुन्थ्यो । अहिलेसम्म त्यति पनि गर्न सकिएन ।’

उनी प्रदेश अस्पताल सुर्खेत मात्र हैन, कर्णालीका विभिन्न जिल्लामा उपचारका लागि पुगिरहन्छन् । सुर्खेतकै मेहलकुना अस्पतालमा उनी साताको एक दिन सेवा दिन पुग्छन् । दुर्गम भेगका नागरिकको उपचार गर्दा उनले अनेकन अनुभव बटुलेका छन् । ‘यहाँ उपचार हुँदैन, नेपालगन्ज जानुपर्छ भन्दा नेपालगन्ज कहाँ पर्छ भन्ने बिरामी पनि भेटेको छु,’ उनले भने । उनकै नेतृत्वमा अहिले प्रदेश अस्पताल सुर्खेतमा सातामा ५० देखि ६० वटा शल्यक्रिया हुन्छन् ।

अहिले डा. थापाको नेतृत्वमा ७ जना डाक्टरको सर्जरी विभाग छ । यो टिमबाट ३ वर्षयता धेरै शल्यक्रिया गर्न सम्भव भएको छ । सुरुवाती चरणमा उनी एक्लै हुँदा आठ वर्षको अवधिमा पाँच सय शल्यक्रिया गरेका थिए । थापाले यो अस्पतालको सुरुवाती आकारदेखि अहिलेसम्मको यात्रामा सबैलाई नजिकबाट देखेका छन् । १३ वर्षअघिबाटै उनको टिमले सुर्खेतमा मेसिनबाट पित्तथैलीको अप्रेसन गर्न सुरु गरेको थियो । उनको टिमबाट सिकेर गएका कैयन् डाक्टर अहिले देशका विभिन्न सहरमा कार्यरत छन् ।

कर्णालीबासीको स्वास्थ्य जाँच्दा जाँच्दै उनलाई यतैको भूगोलको मायाले छोपेजस्तो लाग्छ । थापाले आफूले काम गरेको ठाउँको धेरै माया लाग्ने गरेको अनुभव सुनाए । एकातिर यस्तो अनुभव, अर्कोतिर परिवारसँग वर्षौंदेखि टाढा बस्दाको नमज्जा । तर पनि थापा कर्णालीका हुँदा मात्रै खाने मान्छेहरूको उपचार गर्न पाउँदा र उनीहरू निको भएपछि डिस्चार्ज भएर अस्पतालबाट घर फर्किंदाको खुशी सम्झेर पुलकित हुन्छन् । कर्णालीमा रहँदा बस्दा थापाले विपन्न र निमुखाका निम्ती सरकारले किन निःशुल्क स्वास्थ्य दिनुपर्छ भन्ने कुरालाई मसिनोसँग बुझ्ने मौका पाएका छन् ।

उनले हुनेबाट लिएर नहुनेलाई उपचार दिनुपर्ने अवधारणा सरकारले ल्याउनुपर्ने तर्क सुनाए । अनि सरकारले निःशुल्क अस्पताल सबै काठमाडौंमा मात्र सञ्चालन गर्नु गलत भएको पनि बताए । उपचार निःशुल्क भए पनि आउजाउ र बसाइँ महँगो भएकाले सरकारी अस्पताल काठमाडौंमा हुनु भनेको हुने खानेले मात्र उपचार पाउनु जस्तै भएको उनको बुझाइ छ । ‘कर्णालीमा उपचार नपाएर मात्रै होइन, ढिलो पाएर पनि ज्यान गुमाउन बाध्य छन्,’ उनले भने, ‘जिल्लाबाट बिरामीलाई हेलिकप्टरमा उद्धार गर्नुको साटो डाक्टरै पठाउनु सस्तो पर्छ । यसो गर्दा बिरामीको ज्यान पनि जोगाउन सकिन्छ ।’

रूपन्देहीको बुटवल घर भएका जनरल फिजिसियन डा. केएन पौडेल पनि नौ वर्षयता सुर्खेतमै कर्मथलो बनाएर बसेका छन् । भरतपुरबाट एमबीबीएस गरेका उनले धरानबाट मास्टर्स गरेपछि काम खोज्दै कैयन् सहर धाए । चितवनमा डेढ वर्ष अडिएपछि २०७२ साउनमा निजी अस्पतालमा काम गर्ने गरी सुर्खेत आइपुगेका उनले तीन महिना सुर्खेत अस्पतालमा काम गरेका थिए । त्यसपछि स्वयंसेवकका रूपमा प्रदेश अस्पताल सुर्खेतमा प्रवेश गरे । चार महिना काम गरिसकेपछि उनी सोही अस्पताल व्यवस्थापन समितिको निर्णयमा करार सेवामा नियुक्त भएका थिए ।

२०७२ सालमा लोकसेवाबाट नाम निकालेपछि उनले कर्णालीकै पोस्टिङ रोजे । २०७४ सालमा संघीय सरकारअन्तर्गत नवौं तहमा नाम निस्केपछि उनी देशका जुनसुकै अस्पतालमा पनि काम गर्न जान सक्थे । तर उनको मन कर्णालीतिर तानियो । आफूले काम गरेको अस्पतालको विभागमा गरेको काम सम्झिए, यहाँ आउने सेवाग्राही सम्झिए अनि आफूले विगतमा गरेको दुःख सम्झिए । ‘म आउनभन्दा पहिले यहाँ १/२ जना फिजिसियन केही समयका लागि मात्र आएर जानुभएको थियो । त्यसपछि मैले काम गर्न सुरु गरेको हो,’ उनले सुनाए, ‘यहाँका बिरामी मप्रति सन्तुष्ट भएजस्तो लाग्छ । म पनि यहाँका सेवाग्राहीसँग रमाएको छु ।’

डा. पौडेल सुर्खेतको अस्पतालमा मात्रै सीमित छैनन् । बेलाबेला उनी दुर्गम गाउँमा पनि पुग्छन् । साथीभाइसँग मिलेर स्वास्थ्य शिविर पनि चलाउँछन् । ‘शिविर लिएर जाजरकोट पुगेको छु । महामारी फैलिएका बेला हुम्ला गएको छु,’ उनले भने, ‘रुकुमदेखि दैलेखसम्म पुगेको अनुभव छ ।’ यो यात्रामा उनले कर्णालीका बिरामीको मनोदशा, उनीहरूका पृष्ठभूमि र रोगको कारणबारे बुझेका छन् । कर्णालीमा लामो समयदेखि काम गरिरहेका कर्णाली बाहिरका डाक्टरमा स्त्रीरोग तथा प्रसूति विशेषज्ञ डाक्टर अमित सिंह पनि छन् । उनी पनि वर्षौदेखि प्रदेश अस्पताल सुर्खेतमा काम गरिरहेका छन् ।

डा. पौडेलका बुझाइमा कर्णालीले अझै पनि पर्याप्त डाक्टर पाएको छैन । ‘सानो ठाउँ भएकाले डाक्टरहरू आउन मान्नुहुन्न,’ उनले सुनाए, ‘आएका पनि छिट्टै फर्किहाल्नुहुन्छ ।’ बुटवल, धनगढी, नेपालगन्जमा जस्तो कर्णालीमा अझैसम्म पनि डाक्टर बस्ने माहोल बनिनसकेको उनले बताए । वर्षौंदेखि कर्णालीमा काम गरिरहेका डा. पौडेलले बारम्बार एउटा प्रश्नको भने सामना गरिराख्नुपर्छ । त्यो हो, कर्णाली किन बसेको ? उनलाई यस्तो प्रश्न गर्नेहरूले भन्छन्, सिनियर डाक्टर होस्, पैसा पनि कमाएकै छस् । सुर्खेतमा राखेर छोराछोरीलाई किन पढाएको ? यसो भन्नेहरूले उनलाई कर्णाली छोड भनेर अप्रत्यक्ष रूपमा दबाब दिएको भन्ने नबुझेका होइनन् । तर यस्ता प्रश्नले भने उनलाई छुन छोडिसकेको छ ।

कर्णालीमा धेरै डाक्टर किन भविष्य देख्दैनन् ? यो प्रश्नमा उनको आफ्नै उत्तर छ । जुन ठाउँमा बस्ने हो, त्यही ठाउँमा भविष्य बनाउने हो भन्ने सोच धेरै डाक्टरको हुने भएकाले डाक्टरहरू कर्णालीमा आउन नसकेको बुझाइ उनको छ । ‘अरू जिल्लाको डाक्टर आएर जिन्दगी नै कर्णालीमा बिताउँछु भन्ने वातावरण तयार गर्न सक्यो भने मात्र डाक्टर यहाँ आउँछन्,’ उनले भने, ‘नभए १/२ वर्षलाई बढुवाका लागि आउने जाने अवस्था मात्रै रहन्छ ।’

प्रकाशित : वैशाख २५, २०८१ ०६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?