२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६
लोक सेवा

न्यून दृष्टि, तर दृढ इच्छाशक्तिले राष्ट्र बैंकमा अब्बल 

स्कुल जाँदा डेस्क–बेन्चमा खुट्टा ठोक्किएर लडेका र सरले ‘ब्ल्याकबोर्ड’ मा लेखेको देख्न नसक्दा स्कुलबाटै निकालिएका न्यून दृष्टि भएका रवि ढुंगेल  आफ्नो ‘ड्रिम जब’ राष्ट्र बैंकमा नाम निकाल्न सफल भएका थिए 
यज्ञ बञ्जाडे

काठमाडौँ — खास गरी अर्थशास्त्र र व्यवस्थापन विषय लिएर पढ्नेका लागि नेपाल राष्ट्र बैंकको जागिर ‘ड्रिम जब’ नै मानिन्छ । धेरैले कडा मिहिनेत र निरन्तरको प्रयासपछि मात्र यो अवसर प्राप्त गर्छन् । यस्तैमध्येका एक हुन्, रवि ढुंगेल । जीवनको गन्तव्य राष्ट्र बैंक बनाएका उनले त्यहाँसम्म पुग्न कडै मिहिनेत गर्नु पर्‍यो । पाँच वर्ष नेपाल बैंकको अधिकृत भएर काम गरे ।

न्यून दृष्टि, तर दृढ इच्छाशक्तिले राष्ट्र बैंकमा अब्बल 

जीवनका ३५ वसन्त पार गर्दा नगर्दै उनी नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा सहायक निर्देशकसम्म बनेका छन् । निरन्तरको लगन र कडा मिहिनेतपछि २०७९ सालमा उनी उक्त गन्तव्यसम्म पुग्न सफल भएका हुन् ।

न्यून दृष्टियुक्त ढुंगेल धनगढीका स्थायी बासिन्दा हुन् । उनले स्कुल, कलेज हुँदै स्नातकोत्तरसम्मको पढाइ धनगढीमै पूरा गरेका थिए । बुबा, आमा, दुई बहिनी र एक छोरा गरी पाँच जना परिवारका जेठा सन्तान हुन् रवि । स्कुल भर्ना हुनुअघिसम्म आफ्नो आँखाको दृष्टिमा समस्या छ भन्ने अनुभव रविले गर्न पाएका थिएनन् । जब पहिलो दिन धनगढीस्थित जेसिस एभरेस्ट इंग्लिस स्कुल गए, त्यसपछि मात्र उनलाई अनुभव भयो, आफ्नो आँखाको दृष्टिमा समस्या छ । ‘पहिलो दिन स्कुल जाँदा डेस्क–बेन्चमा खुट्टा ठोक्किएर लडें,’ उनले भने, ‘त्यसपछि सरले ब्ल्याकबोर्डमा लेखेको पनि देख्न सकिनँ ।’

त्यो अनुभवपछि उनी छाँगाबाट खसेजस्तै भए । दुःख त त्यतिबेला लाग्यो, जब उनलाई स्कुलबाट निकालियो । ‘प्रिन्सिपल सरले भन्नुभयो, भोलिदेखि तिमी स्कुल नआऊ, आँखाको दृष्टिमा समस्या भएकाहरूका लागि छुट्टै स्कुल हुन्छ,’ रविले भने, ‘त्यसपछि एक वर्षसम्म म स्कुलै गइनँ, घरमै बसें ।’ पहिलो दिन उनीसँगै बहिनी रुवि ढुंगेल पनि स्कुल गएकी थिइन् । रवि स्कुल जान नपाए पनि बहिनी भने निरन्तर स्कुल जान थालिन् ।

‘घरमा आएपछि पनि बुवाआमाले सान्त्वना दिँदै ठिकै छ, एउटा छोरो होस्, सके पढ्लास् नसके बिजनेस व्यवसाय छँदै छ, त्यही गरेर खालास् भन्नुभयो,’ उनी थप्छन्, ‘बहिनी निरन्तर स्कुल जान्थिन् । बेलुका घरमा आएर पढ्थिन् । उसले पढेको सुनेरै मैले पढेको हो । मेरो पढाइको सबैभन्दा ठूलो श्रेय नै बहिनीलाई जान्छ ।’ बहिनीले आवाज निकालेर पढेकै कारण आफूले पढ्न सकेको उनले सुनाए । ‘मेरो पढाइ अलि उल्टो छ । सामान्यतया पहिले एबीसीडी, कखरा लेख्न अनि पढ्न जान्नुपर्ने हो,’ रविले आफ्नो अनुभव सुनाए, ‘मेरो हकमा उल्टो भयो । पहिले पढ्न र निरन्तरता मिलाउन जानें, त्यसपछि मात्र लेख्न । सबै कुरा सुनेरै जानेको हो । त्यसपछि मात्र बहिनीले लेख्न सिकाइन् ।’

स्कुल जान नपाएपछि एक वर्ष घरमै पढे रविले । त्यसपछि अर्को वर्ष त्यही स्कुलमा भर्ना हुन गए उनी । ‘त्यतिबेला हामीले प्रिन्सिपल सरलाई अनुरोध गरेर प्रश्नपत्रमा ठूला अक्षर र गाढा कालो रङको लाइन भएका कापीको व्यवस्था गर्न भनेका थियौं । सरले त्यो कुरा मान्नुभयो । प्रवेश परीक्षामा मैले ९५ नम्बर ल्याएँ,’ उनले भने, ‘मेरो क्षमता देखेर होला सरहरूले मलाई एकैपटक नर्सरी र एलकेजी नपढी यूकेजीमा भर्ना गरिदिनुभयो ।’ यूकेजीको अन्तिम परीक्षामा नवौं भएर एक कक्षामा गए । १ देखि १० कक्षासम्म रविले ‘टप थ्री’ भित्रै रहेर पास गरे । यसले स्कुलले उनलाई अब्बल विद्यार्थीको परिचय दिलायो । ‘मैले ५ कक्षाबाट सिधै ७ कक्षा पढेको हो,’ उनी थप्छन् ।

सानैदेखि यही स्कुलबाट एसएलसी दिने र त्यसमा टप गर्ने ठूलो इच्छा थियो रविको । ‘एसएलसीमा स्कुल टप भएरै छोडे । एसएलसीपछि पढ्नका लागि काठमाडौं आए, केही कलेजहरूमा भर्नाको कुरा पनि भएको थियो । तर, त्यतिबेलासम्म बुबाआमाको व्यवसाय केही बिग्रिसकेको थियो,’ उनी विगततर्फ फर्किए, ‘त्यसकारण काठमाडौंको खर्च धान्न अप्ठेरो होला कि भनेर फेरि धनगढीमै फर्कें र स्नातकोत्तरसम्मको सबै अध्ययन कैलाली बहुमुखी क्याम्पसबाटै पूरा गरें ।’

रविको यो सफलताको श्रेय उनको परिवारलाई जान्छ । जीवनमा उनलाई ठूलो आर्थिक समस्या परेन । झन्डै साढे तीन दशकअघि नै रविका बुबा धनगढीका चल्तीका व्यावसायिक फोटोग्राफर थिए । आमाले पनि व्यवसाय गर्थिन् । यसकारण रविले न त ठूलो आर्थिक अभाव खेप्नुपर्‍यो, न परिवारकै मायाको अभाव भयो । हरेक पाइलामा परिवारको साथ रह्यो । ‘२०७४ सालमा नेपाल बैंकको छैटौं तहमा नाम निस्कियो, त्यतिबेलादेखि अहिलेसम्म पनि मलाई अफिस पुर्‍याउने र घर ल्याउने काम बुबाले नै गर्नुहुन्छ,’ उनले सुनाए, ‘यस्तो परिवारमा जन्मिन पाएकामा म आफूलाई भाग्यमानी ठान्छु ।’

त्यसो त रविले स्नातक अध्ययन सुरु गरेदेखि नै ट्युसन पढाउन सुरु गरे । ट्युसनबाट कमाएको आम्दानीले नै उनको खर्च पुग्थ्यो । ‘तीन जनाबाट सुरु गरेको ट्युसन पढाउने कामले पछि व्यापकता पायो । त्यतिबेला यस्तो पनि समय आयो, धनगढीमा व्यवस्थापन पढ्ने विद्यार्थी मलाई नचिन्ने कमै थिए,’ उनले भने, ‘एकाउन्ट, फाइनान्स, स्टाटलगायत सबै विषयको ट्युसन बोर्डमा नलेखी पढाएको छु । तालिका र चित्रहरू सबै मौखिक नै पढाउन सक्छु । प्लस टुदेखि स्नातकोत्तरसम्म सबै तहका विद्यार्थीलाई ट्युसन पठाएको अनुभव छ ।’

रविले नेपालका धेरै अस्पतालमा उपचार गराउँदा आँखामा समस्या छ भन्ने थाहा भए पनि ठ्याक्कै यही रोग हो भन्ने पत्तो नपाएको बताए । ‘सन् २००७ मा भारतको चेन्नई गएर आँखा जाँच गराए । त्यहाँ आँखाको वास्तविक समस्या पत्ता लाग्यो,’ रविले भने, ‘सेतो पर्दामा काला–काला थोपा लगाउने अनि त्यसलाई प्रोजेक्टरमार्फत हेर्दा जस्तो देखिन्छ, त्यही समस्या मेरो आँखामा रहेछ । यो रोगको उपचार हुँदैन भन्ने पनि त्यहीं पुष्टि भएको हो ।’

बानी परेको स्थानमा उनलाई हिँडडुल गर्न समस्या छैन । छतमा लगेर उभ्याएपछि उनले पूर्ण चन्द्रमा मज्जाले देख्छन् । ‘फोकस जहाँ पर्‍यो, त्यहीं मात्र देख्ने समस्या छ । अहिले म तपाईंको अनुहार अलिअलि देखिरहेको छु तर म र तपाईंको अनुहारको बीचमा केही देख्दिनँ । सडकवारिबाट पारि देखें भने बीच सडकमा भएका कुरा देख्न सक्दिनँ,’ आफ्नो आँखाको दृष्टिको अवस्थाबारे रविले प्रस्ट्याए, ‘यद्यपि, परिवार र साथीभाइको पूर्ण साथ भएकाले सेतो छडी बोक्नुपर्ने बाध्यता भने छैन ।’

अहिले राष्ट्र बैंकका जागिरे भए पनि यही नै उनको जीवनको मुख्य उद्देश्य भने होइन । उनी राम्रो शिक्षक बनेर देशको सेवा गर्न चाहन्थे । उनको शिक्षक बन्ने सपनामा त्यतिबेला तुषारापात पर्‍यो, जब उनलाई चार दिन पढाइसकेपछि कैलाली बहुमुखी क्याम्पसको अतिरिक्त कक्षाबाट पनि निकालियो । ‘सुरुमा कैलाली बहुमुखी क्याम्पसमै शिक्षक बन्ने सपना थियो । स्नातकोत्तर सकेपछि त्यही क्याम्पसमा अतिरिक्त कक्षा पढाउन पनि पाएको थिएँ । चार/पाँच दिन पढाएँ पनि । तर त्यसपछि तिम्रो पढाइ विद्यार्थीले बुझेनन्, तिम्रो कक्षामा अरू नै गए भनेर त्यहाँबाट निकालियो,’ उनी भन्छन्, ‘यद्यपि, पछि मैले त्यही क्याम्पसमा बीबीएमका विद्यार्थीलाई राम्रोसँग पढाउने अवसर पाएँ ।’

स्नातक पढिरहँदा केही साथीहरू बैंकिङ पेसामा लागिसकेका थिए । त्यही बेला रविकी आमाले पनि उनलाई त्यतै लाग्न भनिन् । ‘त्यसपछि हो मैले लोक सेवा तयारी गर्न थालेको,’ उनले सुनाए, ‘पहिलो पटक शाखा अधिकृतको प्रारम्भिक परीक्षा दिन दिपायल गएँ । परीक्षा पनि दिएँ तर नतिजा आएको थाहा नै भएन ।’

त्यसपछि लोक सेवा पढ्नकै लागि काठमाडौं आए । एउटा इन्स्टिच्युटमा पढाउने काम पाए । दुई महिना जति पढाए । त्यतिबेलाबाटै बैंकिङ तयारी गर्न थालेको उनले सुनाए । ‘पहिलो पटक २०७१ मा कृषि विकास बैंकको अधिकृतका लागि परीक्षा दिएँ । २०७२ मा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, २०७३ मा राष्ट्र बैंकमा पनि परीक्षा दिएँ । कतै नाम निस्केन,’ रविले आफ्नो अनुभव सुनाए, ‘२०७४ सालमा राष्ट्र बैंकमा पहिलो पटक लिखितमा नाम निस्कियो तर अन्तर्वार्तामा पास भइनँ । त्यही साल राष्ट्रिय वाणिज्य बैंकमा खुला र आरक्षण दुवैमा नाम निस्किए पनि अन्तर्वार्तामा पास भइन ।’ २०७४ सालमै नेपाल बैंकमा छैटौं तहमा नाम निस्कियो । २०७४ चैत १ देखि उनले नेपाल बैंकमा काम सुरु गरे । उनको पोस्टिङ भयो, ‘कर्पोरेट प्लानिङ तथा अनुसन्धान विभाग केन्द्रीय कार्यालय’ मा ।

नेपाल बैंकको जागिरे भए पनि राष्ट्र बैंकसम्म पुग्ने उनको रहर मरेको थिएन । ‘चुनौती भए पनि राष्ट्र बैंक गएरै छोड्छु भन्ने थियो,’ उनले भने, ‘बैंकमा जागिर सुरु गरेपछि पनि यसले काम गर्न सक्दैन भन्नेजस्ता धेरै कुरा आए । तर म आफ्नो काममा पूर्ण विश्वस्त थिएँ । काम गर्न सक्छु भन्ने आत्मविश्वास ममा थियो ।’ २०७५ सालमा फेरि राष्ट्र बैंकमा नाम निस्कियो । यस पटक पनि अन्तर्वार्तामा सफल भएनन् । ‘त्यसपछि पनि राष्ट्र बैंकमा जागिर खाने मेरो चाहना मरेन, झनै बढ्यो,’ उनले भने, ‘हिन्दीमा ‘छोडेगा नही’ भनिन्छ, हो त्यस्तै जोस ममा थियो । यसकारण हरेक पटक राष्ट्र बैंकको परीक्षा दिइरहें । पाँचौं प्रयासमा २०७९ मा त नाम निस्किरै छोड्यो ।’ त्यो विज्ञापनमा अपांग कोटामा दुई सिट थियो । जसका लागि लिखितमा रविसहित चार जनाको नाम निस्किएको थियो । ‘अन्तिम नतिजामा दुई जना छनोट भयौं, तीमध्ये एउटा नाम मेरो पनि थियो,’ उनले भने ।

बैंकिङ क्षेत्रका यति धेरै परीक्षा दिएर सफलता हात पारिसक्दा पनि उनले कुनै पनि तयारी कक्षा भने लिएका छैनन् । जागिरका लागि दिएका सबै परीक्षामा उनले सहयोगीको साथ लिएका थिए । तर स्कुल/कलेजका सबै परीक्षा उनले आफैं कक्षा बाहिर उज्यालो ठाउँमा बसेर दिएका थिए । रविले ‘ब्रेललिपि’ कहिल्यै पढेनन् । ‘लोक सेवामा लाइन नभएको कपी आउँछ । लाइन नभएकामा मैले लेख्न सक्दिनँ,’ रविले बैंकिङ परीक्षाको अनुभव सुनाए, ‘प्रतिस्पर्धाको परीक्षा भएकाले सहयोगीमार्फत परीक्षा दिएको हुँ ।’

न्यून दृष्टियुक्त ढुंगेल सरकारी बैंकको जागिरे भए पनि काममा आफूलाई प्रमाणित गर्न निकै मिहिनेत गर्नुपरेको बताउँछन् । ‘कामको सिलसिलामा राष्ट्र बैंकमा भेदभाव छैन । तर नेपाल बैंकमा सुरुमा थियो । सहकर्मीहरूले नै निकै नकारात्मक कुरा व्यवस्थापनसमक्ष पुर्‍याएका थिए । यस्ता मानिसलाई प्रोत्साहन गर्ने होइन, निराश बनाएर आफैं जागिर छोड्ने वातावरण बनाउनुपर्छ भनेर त्यस्ता केही प्रयास पनि भएका थिए,’ उनले भने, ‘तर म मान्नेवाला थिइनँ । कार्यालयका गुनासो बुबालाई सुनाउँथें । बुबाले हरेस खाने होइन, यिनीहरूले जागिर खाइदिन सक्ने होइन, धेरै गरे सरुवा गर्ने हो, अर्को विभागमा गएर राम्रो काम गरौला भन्दै उत्साह दिइरहनुभयो । आखिरमा आफूलाई प्रमाणित गरेरै छोडें ।’

नेपाल बैंकमा रहँदा तीन वटा विभागमा रहेर काम गरे । जसमध्ये तत्कालीन मार्केटिङ एन्ड रिसर्च विभाग प्रमुख अर्जुनबहादुर कँडेलले निकै राम्रो सपोर्ट गरेको उनी बताउँछन् । उनकै कारणले धेरै काम गर्ने अवसर पाएको उनको अनुभव छ । त्यही कारण आफूलाई प्रमाणित गर्न सके भने व्यवस्थापनको उनीप्रतिको नजर पनि बिस्तारै सकारात्मक बन्न थाल्यो । ‘कर्पोरेट कल्चरमा हाकिमले यो कर्मचारीले राम्रो काम गर्छ है भनेपछि व्यवस्थापनमा धेरै राम्रो सन्देश जाँदो रहेछ । त्यो लाभ मैले पनि पाएको छु,’ उनी भन्छन् ।

रवि सामाजिक सञ्जालमा पनि सक्रिय छन् । सञ्जालमा लेखिएका कुरा पढ्छन्, एफएम रेडियो सुन्छन्, टेलिभिजनमा समाचार सुन्छन् । यो सफलता हासिल गर्न पाठ्यक्रमको सबै कुरा पढेको हुनुपर्छ भन्ने उनलाई लाग्छ । ‘तर यो बाटो कठिन छ, प्रतिस्पर्धा धेरै छ,’ उनले भने, ‘तर असम्भव छैन ।’ खासगरी दृष्टिमा समस्या भएकाहरूका लागि अहिलेको समयमा सबैभन्दा राम्रो पढ्ने माध्यम भनेकै युट्युब भएको उनको निष्कर्ष छ । अहिले पीडीएफ फाइल पनि अडियोमा सुन्न सकिन्छ । अनलाइन र अफलाइनमा पनि धेरै कक्षाको अडियो/भिडियो पाइन्छन् । पेनड्राइभ कोर्सहरू पनि उपलब्ध छन् । ‘यसो भनिरहँदा पनि सबै कुरा अनलाइनमा नपाइन पनि सक्छन् । त्यस्तो बेला कसैलाई पढिदेऊ भन्नुपर्ने हुन्छ,’ उनले भने, ‘सामान्य परीक्षार्थीले भन्दा दृष्टिमा समस्या भएकाले दोब्बर वा तेब्बर बढी मिहिनेत गर्नुपर्छ ।’

फरक क्षमता भएकाले यो काम गर्न सक्छन् वा सक्दैनन् भनेर त्यसै भन्न नमिल्ने उनी बताउँछन् । ‘नसक्ने भन्ने हुँदैन, फरक यत्ति हो अरूले सजिलै सक्छन् भने दृष्टिमा समस्या भएकाले धेरै मिहिनेत गर्नुपर्छ । सफलतामा पुग्ने अरूको बाटो सजिलो होला तर हाम्रा लागि निकै अप्ठेरो हुन्छ,’ उनी भन्छन्, ‘दृष्टिमा समस्या भएकाले देखेको सपना सुरुमा सबैले पत्याउँदैनन् । नपत्याउने कुरा पूरा गर्न निकै गाह्रो छ । यसकारण मिहिनेत गर्न र सपना देख्न नछोड्नूस् । आफ्नो सपना परिवारमा स्पष्ट रूपमा भन्न सक्नुपर्छ ।’

अहिले रविलाई हेर्ने समाजको दृष्टि बदलिएको छ । पहिले नेपाल बैंकमा प्रवेश गर्दा बैंकिङ पेसामा प्रवेश गर्‍यो भन्थे भने अहिले राष्ट्र बैंकको जागिरे भएपछि प्रगति गर्‍यो भन्छन् । राष्ट्र बैंक प्रवेशको लक्ष्य पूरा भएपछि अब सहयात्री खोज्नतिर लागेको ठट्यौली उनले सुनाए । ‘अबको मेरो लक्ष्य सहयात्री खोज्ने हो,’ उनले भने, ‘यो मंसिरसम्म त विवाह बन्धनमा बाँधिनैपर्छ ।’

प्रकाशित : वैशाख १७, २०८१ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?