२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१५

भारतमा वैकल्पिक आवाज बनेका राठी

मोदीकाललाई भारतमा ‘अमृतकाल’ र इतिहासमै तीव्र गतिमा विकास भइरहेको भन्ने पनि छन् । यस्तो परिस्थितिमा मुलुक ‘अधिनायकवाद’ तर्फ गइरहेको दाबी गर्ने ध्रुव राठीका भिडियो अत्यधिक हेरिनुको पनि खास अर्थ छ ।

काठमाडौँ — के भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तानाशाह बन्दै छन् ? २०२४ मा चुनाव जिते उनले २०२९ मा चुनाव नै गराउँदैनन् त ? के भारतीय जनता पार्टी (भाजपा) ‘एक राष्ट्र, एक पार्टी’ को पथमा अघि बढ्दै हो ? ‘युट्युब–स्टार’ का रूपमा परिचित ध्रुव राठीको पछिल्लो भिडियोले मोदी तानाशाह बन्ने बाटोमा अग्रसर भइरहेको संकेत गर्छ ? 

भारतमा वैकल्पिक आवाज बनेका राठी

मोदी सरकारबारे ध्रुव राठीले बनाएको पछिल्लो भिडियो यतिबेला चर्चामा छ । ‘डराएका तानाशाह ?’ लेखेर मोदीको तस्बिरसहितको थम्बनेल बनाइएको उक्त भिडियो अहिलेसम्म २ करोड ५० लाखभन्दा बढी पटक हेरिएको छ । राठीले भारतमा अहिले नै तानाशाही शासन सुरु नभए पनि मोदी हुकुमी शासनको पथमा हिँडेको दाबी गर्छन् । विपक्षी दलका दुई मुख्यमन्त्री पक्राउ पर्नु, विपक्षी दलप्रति अनुसन्धान निकायहरू योजनाबद्ध रूपमा परिचालन गर्नु, सार्वजनिक संस्थान र आमसञ्चार माध्यमलाई आफ्नो कब्जामा लिनुलाई उनले यसका आधारका रूपमा प्रस्तुत गरेका छन् ।

यात्राका भ्लग बनाएर युट्युब करिअर सुरु गरेका राठीका पछिल्ला भिडियोले राजनीतिक तरंग नै ल्याइरहेका छन् । राठी त्यत्तिकै युट्युब–स्टार भने भएका होइनन् । निरन्तरको मिहिनेत र लगनपछि मात्र उनका भिडियो अत्यधिक रुचाइएका हुन् । २०१४ जुनमा ‘जेरो’ बाट सुरु भएको उनको युट्युबमा अहिले १ करोड ७० लाखभन्दा बढी सब्सक्राइबर्स छन् । राठीले युट्युबमा पोस्ट गरेको पहिलो सामग्री हो, जर्मनीको एउटा वाटरपार्कबारेको भिडियो । आइफोन–५ एसले खिचेको भिडियो पोस्ट भएको झन्डै १० वर्षमा पनि भ्युज १० लाख नाघेको छैन । तर, १ वर्षअघि अपोलो–११ चन्द्रयानबारे बनाएको उनको भिडियो मंगलबारसम्म २ करोड ५० लाख पटक हेरिएको छ ।

५ वर्षअघि एनडीटीभी प्राइम टाइममा रवीश कुमारसँगको कुराकानीमा राठीले भनेका थिए, ‘म पत्रकार होइन, आफूलाई युट्युबर भन्न रुचाउँछु ।’ तर उनी मुख्यधारका पत्रकारले गर्नुपर्ने काम गरिरहेका छन् । उनले नभने पनि उनी खासमा जब्बर पत्रकारिता गरिरहेका छन् । नेता र कथित मुख्यधारका मिडियाका झूटलाई चिर्ने राठीले यति छिटो लोकप्रियता हासिल गरे कि उनलाई प्रतिष्ठित टाइम म्यागजिनले ‘नेक्स्ट जेनेरेसन लिडर’ घोषणा गर्‍यो । युट्युब र ह्वाट्सएपमा आएका जुनसुकै कुरा पत्याउने जमात बढिरहेका बेला राठी ‘युट्युब एडुकेटर’ का रूपमा उदाएका छन् । हरियाणाको रोहतकमा जन्मिएका उनले जर्मनीबाट मेकानिकल इन्जिनियरिङमा स्नातकोत्तर गरे । घुमन्ते भिडियोबाट युट्युब च्यानल सुरु गरी अहिले सामाजिक, राजनीतिक र शैक्षिक सामग्री पस्किरहेका छन् । उनी करिब २४ लाख सब्सक्राइबर्स भएको ‘ध्रुव राठी भ्लग्स’ नामको अर्को युट्युब च्यानल पनि चलाउँछन् ।

दैनिकजसो टेलिभिजन शोहरूमा देखाइने ‘हिन्दु–मुस्लिम र पाकिस्तान’ का बहसबाट वाक्कदिक्क दर्शकका लागि राठी विकल्प भएका हुन् । उनी मात्र होइन, लामो समय मुख्यधारको पत्रकारितामा संलग्न भएका रवीश कुमार, अजित अन्जुम, बर्खा दत्त, आकाश बनर्जीलगायतले पनि युट्युबलाई नै आफ्नो मुख्य प्लेटफर्म बनाएका छन् ।

पहिलो र दोस्रो भिडियो पोस्ट भएको करिब २ वर्षपछि राठीले तेस्रो भिडियोमा भाजपा ‘आईटी सेल’ को चिरफार गरेका हुन् । उक्त भिडियोमा कसरी भाजपाको आईटी सेलले भ्रामक सूचना फैलाउन भूमिका निर्वाह गरेको छ भन्ने कुरा खुलासा गरेका छन् । यही बीचमा उनले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबारे पनि भिडियो बनाए । ‘योगी आदित्यनाथको वास्तविकता’ शीर्षक दिएर बनाइएको उक्त भिडियोमा योगी कसरी भड्किलो भाषण र हिंसात्मक अभिव्यक्ति दिँदै राजनीतिमा उदाए भन्ने खुलाइएको छ । आदित्यनाथ कुनै बेला भन्ने गर्थे, ‘शाहरूख खान र हफिज सइदको भाषामा कुनै फरक छैन...। शाहरूख खानहरू देशद्रोहीको श्रेणीमा आउँछन् ।’


सूचना, जागरण, राजनीतिलगायतका विविध विषयमा राठीले अहिलेसम्म ६ सयभन्दा बढी भिडियो बनाइसकेका छन् । सबै भिडियोको भ्युज जोड्दा साढे २ अर्ब नाघ्छ । १ महिनाको बीचमा मोदीबारे बनाइएका दुइटा भिडियो चर्चायोग्य छन् । मोदीकाललाई भारतमा ‘अमृतकाल’ र इतिहासमै तीव्र गतिमा विकास भइरहेको भन्ने पनि नभएका होइनन् । यस्तो परिस्थितिमा मुलुक ‘अधिनायकवाद’ तर्फ गइरहेको संकेत दिने राठीका भिडियो अत्यधिक हेरिनुको तात्पर्य के हो त ? दिल्ली विश्वविद्यालयका प्राध्यापक एवं लेखक अपूर्वानन्द द वायरमा लेख्छन्, ‘भारतमा सत्य जान्ने भोक अझै पनि बाँकी छ भन्ने संकेत त होइन यो ? भारतीय नागरिकलाई प्रजामा रूपान्तरित गर्न खोजिएकामा त्यसका विरुद्ध मानिसहरू लड्न तयार भएका हुन् त ?’

कथित सबै ठूला मिडिया बिहान–बेलुका मोदी सरकारको महिमा गाइरहेका छन् । यस्तोमा ‘वैकल्पिक आवाज’ का रूपमा राठी उदाएका हुन् । राठी पत्रपत्रिकामा आएकै कुरालाई रोचक र आलोचनात्मक तरिकाले प्रस्तुत गर्छन् । अपूर्वानन्द भन्छन्, ‘ध्रुव राठीले नयाँ त केही भनेका होइनन्, उनीभन्दा पहिले पनि यस्ता विश्लेषण धेरै पटक गरिएका छन् । तर पनि भिडियोको महत्त्वलाई कम आँक्न भने हुँदैन ।’

त्यसो त द प्रिन्टका संस्थापक शेखर गुप्ता देशमा अधिनायकवाद आइनसकेको बताउँछन् । प्रिन्टकै ‘हेडलाइनके पिछे क्या है’ शृंखलामा उनी भन्छन्, ‘लोकतन्त्र समाप्तै भइसकेको भए त यस्ता चीज चल्नै सक्दैनन् यहाँ ।’ राठीले पनि अधिनायकवाद आइसक्यो भनेका त होइनन् । खालि त्यसको बाटोमा भारत अग्रसर भइरहेको चेतावनी दिएका हुन् । गुप्तालाई राठीको जवाफ छ, ‘अहिलेसम्म मेरो आवाज बन्द गरिएको छैन, त्यसमै खुसी मनाइरहेका छौं । तर, जसको आवाज दबाइसकिएको छ तिनीहरूको के नि ?’ राठी यसमा स्पष्ट छन् । सबै कुरा ठ्याक्कै ‘ब्ल्याक एन्ड ह्वाइट’ मा नहुने उनी बताउँछन् । ‘मैले कहिल्यै भनेको छैन कि देश शतप्रतिशत तानाशाहको हातमा गइसक्यो भनेर । मैले भनेको थिएँ, देश तानाशाही शासनतर्फ ढल्किरहेको छ । अहिले पनि यही भनिरहेको छु ।’

स्वीडेनको भेराइटी अफ डेमोक्रेसी इन्स्टिच्युटको हालै प्रकाशित ‘डेमोक्रेसी रिपोर्ट, २०२४’ मा भारत पूर्ण रूपमा हुकुमी शासन बन्नबाट केही मात्र टाढा रहेको उल्लेख छ । उक्त रिपोर्टमा भारतमा ‘इलेक्टोरल अटोक्रेसी’ रहेको बताइएको छ । ‘इलेक्टोरल अटोक्रेसी’ यस्तो शासन व्यवस्था हो, जहाँ आवधिक रूपमा चुनाव त हुन्छ तर प्रजातान्त्रिक संस्थानहरूलाई संकुचित पारिन्छ । उत्तर कोरिया र रुसमा पनि नियमित चुनाव हुने तर ती सबै देखावटी मात्र भएको राठीको दाबी छ । भारतमा बहुदलीय चुनाव भइरहे पनि प्रतिस्पर्धाका लागि स्वच्छ र भयरहित वातावरण नभएकाले सत्ताको दुरुपयोग पुष्टि भएको राठीले बताएका छन् । राठीलाई कतिपयले कांग्रेस त कतिपयले आम आदमी पार्टीबाट परिचालित भएको आरोप पनि लगाउँछन् । तर, उनी आफ्नो परिवारको समेत राजनीतिसँग ‘दूर–दूरसम्म’ को कुनै नाता–सम्बन्ध नरहेको दाबी गर्छन् । इन्दिरा गान्धीको शासनकालको आलोचनात्मक भिडियो बनाएका उनले त्यसबेलाको संकटकाललाई ‘भारतीय इतिहासको कालो धब्बा’ भनेका छन् । ‘हिजोको गल्ती देखाएर आजको गल्तीलाई सही ठहर्‍याउन सकिँदैन,’ उनी भन्छन्, ‘हिजो जे भयो त्यो पनि बहुत गलत हो, आज जे भइरहेको छ त्यो पनि बहुत गलत भइरहेको छ ।’

भारतमा अधिकांश मिडियालाई ठूला व्यापारिक घरानाले किनेका छन् । निर्भीक पत्रकारिता गर्दै आएको एनडीटीभी पनि मोदीका मित्र गौतम अडानीले किने । त्यसपछि त्यहाँ कार्यरत वरिष्ठ पत्रकार रवीश कुमारले आफ्नै युट्युब च्यानल खोले । अहिले उनको च्यानलमा झन्डै १ करोड सब्सक्राइबर्स छन् ।

बीबीसीमा १५ वर्षभन्दा बढी काम गरेका पत्रकार नारायण बारेठ पछिल्लो समय पत्रकारहरूले प्रश्न सोध्ने काम छाडेको बताउँछन् । ‘जुन समाजमा प्रश्न मर्छ, त्यस्तो समाज चेतनाशून्य बन्दै जान्छ । अब भारतमा कुनै पनि मञ्चमा प्रश्न सोधिँदैन । प्रश्न सोध्नु नै जोखिमपूर्ण काम बनेको छ,’ कान्तिपुरसँगको कुराकानीमा पत्रकारिताका अध्यापकसमेत रहेका उनले भने, ‘यो यस्तो धर्तीमा भइरहेको छ, जहाँ सबैभन्दा बढी प्रश्न सोध्ने अर्जुन जन्मेका थिए, यदि उनले प्रश्न सोध्दैनथे भने संसार गीताजस्तो ग्रन्थ पाउनबाट वञ्चित रहन्थ्यो ।’ सन् १९८४ मा संसद्मा भाजपाको २ सिट मात्र थियो । जनसत्ताका तत्कालीन सम्पादक प्रभास जोशीले भनेका थिए, ‘प्रतिपक्षी कमजोर हुँदा सत्ताधारी पार्टीको मनोमानी बढ्छ । सञ्चारमाध्यमले खबरदारी गर्नुपर्छ ।’

पछिल्लो समय युट्युब च्यानलहरूमा घृणा फैलाउने सामग्री पनि बढिरहेको बारेठको बुझाइ छ । उनी भन्छन्, ‘अहिले गाली गर्ने र गाली खाने दुवैले पैसा पाइरहेका छन् । त्यति मात्र होइन, पैसावालाको कब्जामा पुगेको छ मिडिया ।’ टेलिभिजनले नसमेटेका पक्षलाई उजागर गरेकाले राठी चर्चित बनेको उनी बताउँछन् ।

हिन्दी पत्रकारिताले चुनावी नतिजालाई नै उथलपुथल पार्ने क्षमता राख्छ । त्यसैले पनि सरकारले अधिकांश मिडिया हाउसलाई ‘कठपुतली’ बनाएको आरोप लाग्दै आएको छ । टेलिभिजन बहस कार्यक्रममा प्रस्तोता नै भाजपाको प्रवक्ताजस्तो देखिने गरी प्रस्तुत भइरहेका देखिन्छन् । प्यानलिस्टका रूपमा बोलाइएका वक्ताहरूसमेत मिलेर विपक्षी दलमाथि प्रश्न बर्साउँछन् ।

प्रधानमन्त्री र गृहमन्त्री सहमत भए चुनाव आयुक्त नियुक्त गर्न सक्ने कानुनका बारेमा ‘मूलधार’ का मिडियामा खासै बहस भएन । यसअघि प्रधानमन्त्री, विपक्षी दलका नेता र प्रधानन्यायाधीश सम्मिलित कमिटीबाट निर्वाचन आयुक्तहरू नियुक्त हुने व्यवस्था थियो । तर मोदी सरकारले आफूलाई सहज हुने गरी नयाँ कानुन ल्यायो । अब छनोट कमिटीमा प्रधानमन्त्री, संघीय मन्त्री र विपक्षी दलका नेता मात्रै रहने व्यवस्था गरिएको छ । अहिले दुई जना चुनाव आयुक्त यसरी नै छानिएका छन् । राठीले चुनाव आयुक्त छनोट प्रक्रियाबारे चर्चा गरे, ‘एक रात पहिले २१२ नामको सूची थमाइयो विपक्षी दलका नेता अधिर रञ्जन चौधरीलाई । बैठकको केही मिनेटअघि मात्र उनलाई ६ जनाको संक्षिप्त सूची दिइयो ।’ त्यसैले चौधरीले सूचीमा रहेका कसैको पनि पृष्ठभूमि हेर्न समय पाएनन् । प्रधानमन्त्री मोदी र गृहमन्त्री अमित शाहले मनमर्जी ढंगले दुई जना चुनाव आयुक्त नियुक्त गरे । चुनाव आयुक्तमा नियुक्त ज्ञानेश कुमार र सुखवीर सन्धु भाजपानिकट मानिन्छन् । कुमार अवकाशप्राप्त आईएएस अधिकारी हुन्, जो २०१६ देखि २०२१ को बीचमा अमित शाहको कार्यालयमा कार्यरत थिए । सुखवीर सन्धु २०१४ देखि २०२३ सम्म परिवहन मन्त्रालयअन्तर्गतको भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरणमा कार्यरत थिए ।

कर्मचारी मात्र होइन, न्यायाधीश पनि सत्तारूढ दलनिकट व्यवहार देखाइरहेका छन् । केही समयअघि कोलकाता उच्च अदालतका न्यायाधीश अभिजित गंगोपाध्याय राजीनामा दिनासाथ भाजपा प्रवेश गरे । राजीनामा दिनुपहिले नै आफू भाजपाको सम्पर्कमा रहेको उनले खुलस्त पारेका छन् । यत्तिमै रोकिएनन् उनी । गान्धी र गोड्सेबीच एक छान्नुपर्दा आफूलाई निकै सकस हुने गरेको समेत उनले सुनाए । यसैमा राठीको प्रश्न छ, ‘यस्ता न्यायाधीश राजनीतिक दलको सम्पर्कमा रहने हो भने के हाम्रो न्यायपालिका स्वतन्त्र छ भन्न सकिन्छ त ?’

बिनाप्रमाण जोकोहीलाई जेलमा राख्न सकिने सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन ‘पीएमएलए एक्ट’ बारे पनि राठीको खरो टिप्पणी छ । ‘बाँकी कानुनमा दोषी ठहर नभएसम्म निर्दोष मानिन्छ तर पीएमएलएमा निर्दोष सावित नभएसम्म दोषी ठानिन्छ,’ उनी भन्छन् । यसै ऐनमा टेकेर सरकारले चुनावअघि विपक्षी दलका नेताहरूलाई निसाना साधेको पनि उनको आरोप छ । त्यसको उदाहरण यो पनि हो कि, मदिरा नीति घोटालामा मुछिएका औरोबिन्दो फर्माका शरतचन्द्र रेड्डीसँगको भाजपाको हिमचिम । रेड्डीकै बयानका आधारमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरिएको थियो । सुरुमा केजरीवालको पक्षमा बोलेका रेड्डीले बारम्बार बयान फेरेपछि रिहा भए । पक्राउ परेको ५ दिनपछि औरोविन्दो फर्माले भाजपालाई ५ करोड भारु चन्दा दियो । मे २०२३ मा जमानतमा रिहा भएको करिब ६ महिनापछि भाजपाले रेड्डीको सोही कम्पनीबाट थप २५ करोड चन्दा पाएको छ ।

इन्डिया टुडे च्यानलमा आबद्ध वरिष्ठ पत्रकार राजदीप सरदेसाई भने राठीको भिडियो हेरे पनि सबै लोकतन्त्रको रक्षाका लागि लड्न तयार छन् त भनेर प्रश्न गर्छन् । ‘इन्दिरा गान्धीकालीन २१ महिनाको संकटकाल र सयौं नेतालाई पक्राउ गरेर गरिएको चुनावसँग २ जना विपक्षी दलका मुख्यमन्त्री पक्राउको घटना तुलना गर्न सकिँदैन,’ उनी भन्छन्, ‘ध्रुव राठीको ‘लोकतन्त्र खतरामा छ’ भन्ने भिडियो क्लिक गर्ने सबै मानिस सडकमा आउँछन् त ?’

सनसनी विषयमा खोजमूलक सामग्री प्रस्तुत गरेकै कारण राठी युट्युब–स्टारका रूपमा उदाएका हुन् । प्रस्तुति शैली, सम्पादन र चुस्त ‘रिसर्च टिम’ का कारण पनि उनलाई धेरैले रुचाएका छन् । राठीले आफ्नै उदयबारे पनि युट्युबमा भिडियो बनाएका छन् । २० लाख सब्सक्राइबर्स हुँदासम्म मोबाइलले नै भिडियो बनाउने गरेका उनी अहिले ११ जनाको समूहको नेतृत्व गरिरहेका छन् । १९ वर्षको उमेरदेखि सुरु भएको

युट्युब–करिअरले अहिले आफूलाई आर्थिक स्थायित्व पनि दिएको उनी बताउँछन् । नेसनल जियोग्राफी वा डिस्कभरी च्यानलको प्रस्तोता बन्ने कल्पना गरेका राठी अहिले धेरैको सपना बन्न सफल भएका छन् ।

प्रकाशित : चैत्र २८, २०८० ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेट कस्तो लाग्यो ?