१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

मणिपुरी-कुकी द्वन्द्वको मारमा नेपालीभाषी

जनजाति सूचीकरणको असन्तुष्टिले स्थानीय दुई जातिबीच हिंसा भड्किँदा हजारौं नेपाली असुरक्षित 
पर्वत पोर्तेल

झापा — कहिले आतंकवादी संगठनहरूको धाकधम्की त कहिले इनर लाइन परमिट (आईएलपी) जस्ता मुद्दाको त्रासबीच जीवनयापन गर्दै आएका पूर्वोत्तर भारतको मणिपुरका नेपालीभाषी यतिबेला अर्को ‘संकट’ को सामना गरिरहेका छन् ।

मणिपुरी-कुकी द्वन्द्वको मारमा नेपालीभाषी

बहुसंख्यक रैथाने मणिपुरी (मैइतै) र अल्पसंख्यक कुकीलगायत जनजातिबीच तीन सातादेखि जारी हिंसात्मक आन्दोलनको चपेटामा नेपालीभाषी परेका हुन् । हिंसा जारी रहँदा त्यहाँका नेपालीभाषी ‘बन्धक’ झैं बनेका छन् ।

‘अहिलेसम्म नेपालीभाषीको धनजनको क्षति त भएको छैन,’ मणिपुरको कांग्लातुम्बीका बासिन्दा राहुल राईले भने, ‘तर हिंसा जारी रहेकाले नेपालीहरूले पनि असुरक्षा महसुस गरिरहेका छन् ।’ नेपालीभाषी बाहुल्य पहाडी भूभागहरू सेरोइ, कालापहाड, तोरीबारी, नुनपानी, मुकुली, चन्द्रमान, सेती खोलालगायत क्षेत्रमा मणिपुरी–कुकीबीचको हिंसा तीव्र छ । सोमबार मात्रै मणिपुरीले कुकीका र कुकीले मणिपुरका सयौं घरमा आगजनी गरेका थिए । गत आइतबार सुग्नु र फयेन्ड भन्ने ठाउँमा भएको गोलाबारीमा ६ जना सर्वसाधारणले ज्यान गुमाएका थिए । स्थानीय अनलाइन पोर्टल द फ्रन्टियर मणिपुरका अनुसार उक्त घटनामा ६ जना सुरक्षाकर्मी पनि मारिएका छन् ।

मणिपुरका मुख्यमन्त्री एन वीरेन सिंहले आन्दोलनकारीलाई ‘आतंककारी’ को संज्ञा दिँदै आएका छन् । ‘सुरक्षा बल र सशस्त्र विद्रोहीबीचको मुठभेडमा ४० आतंककारी मारिए,’ उनले सञ्चारमाध्यमसँग भनेका छन् । हिंसात्मक घटना भएका कतिपय स्थानबाट पूर्ण विवरण नआइसकेकाले पनि घटनाको प्रकृति र क्षतिबारे अझै स्पष्ट हुन सकेको छैन । रैथाने मैइतै जातिलाई जनजातिमा अनुसूची गरेको विरोधमा मणिपुरका पहाडी जनजाति कुकीलगायत जाति आन्दोलित छन् ।

मैइतै समुदायलाई जनजातिको दर्जा दिनु अन्यायपूर्ण भएको उनीहरूको भनाइ छ । आन्दोलन हिंसात्मक बन्दा तीन सातामा सर्वसाधारण र सुरक्षाकर्मीसहित ८० बढीले ज्यान गुमाइसकेका छन् । २ सयभन्दा बढी घाइते छन् । ४० हजार सर्वसाधारण बेघर बनेका छन् । अर्बौंको भौतिक सम्पत्ति क्षति भएको छ ।

पहाडी गाउँ सेरोइका नेपालीभाषी होमबहादुर बस्नेतले हिंसाका कारण गाउँका नेपालीहरू खाल्डो खनेर लुक्न थालेको जनाए । उनले फोनमा भने, ‘मणिपुरी र कुकीहरूले ‘हाम्रा कारण तिमीहरूलाई पनि समस्या हुन सक्छ’ भनेपछि ज्यान बचाउन लुक्न थालिएको छ ।’ कतिपय नेपालीभाषी त्रासका कारण आफ्नो थातथलो छाडेर नेपालीभाषी बाहुल्य कांग्लातुम्बी गाउँमा अस्थायी आश्रयका लागि जान थालेका छन् । ‘दिउँसै गोली हानाहान भइरहेको छ,’ बस्नेतले सुनाए, ‘सेरोइ क्षेत्रका मणिपुरी र कुकी दुवै समुदायका अधिकांश घर खरानी भइसकेका छन् ।’

भारतको तथ्यांक विभागका अनुसार मणिपुरको जनसंख्या करिब ३४ लाख छ । जसमध्ये नेपालीभाषीको संख्या ५० हजार हाराहारी छ । ‘तर, करिब तीन दशकयता नेपालीभाषीको जनसंख्या बर्सेनि घटेको घट्यै छ,’ मणिपुरका पुराना बासिन्दा भीम कोइरालाले भने, ‘मणिपुरका नेपालीभाषी पहिल्यैदेखि असुरक्षित छन् । पछिल्लो समय बसाइँसराइले जनसंख्या घटेको छ ।’ मणिपुरको हिंसाका कारण उनी विस्थापित भई हाल भारतको पानीटंकी क्षेत्रमा बस्दै आएका छन् ।

उनका अनुसार समय–समयमा भइरहने विभिन्न हिंसा र आन्दोलनका कारण मणिपुरमा नेपालीभाषीहरू असुरक्षित बन्दै आएका छन् । सवारीसाधनहरूको उपलब्धता भए यतिबेला धेरै नेपालीभाषीले मणिपुर छाड्ने अनुमान कोइरालाको छ । उनी थप्छन्, ‘गाडी, घोडा नचलेका कारण सबै बन्धकझैं बनेर बसिरहेका छन् ।’ खासगरी पश्चिम बंगालको सिलिगुडी, नक्सलबारी, बागडुग्रा, खोरीबारीलगायतका क्षेत्रमा मणिपुरका नेपालीभाषीको आवादी दिनदिनै बाक्लिँदो छ ।

मणिपुर भारतको यस्तो संवेदनशील राज्य हो, जहाँ दर्जनौं उग्रवादी संगठन सक्रिय छन् । मणिपुरी र कुकीका अलग–अलग सशस्त्र गुट छन् । ती गुटहरूको मुठभेडका कारण माहोल थप हिंसात्मक बन्दै गएको मणिपुरको प्रोसिडेन्सी कलेजका प्राध्यापक डा. टंकनाथ खतिवडाले बताए । ‘कुकी समुदायले मणिपुरभित्रै अलग कुकी राज्यको माग पनि गर्दै आएको छ,’ खतिवडा भन्छन् ।

यसैबीच हिंसा भड्किएको करिब तीन साता बित्नै लाग्दा केन्द्रीय गृहमन्त्री अमित शाह सोमबार मणिपुर ओर्लिएका छन् । गृहमन्त्रीले आन्दोलनरत पक्षहरू मणिपुरी र कुकीसँग वार्ता गर्ने जनाइएको छ । युनाइटेड पिपुल्स फ्रन्ट र कुकी नेसनल अर्गनाइजेसनले विज्ञप्ति जारी गरी गृहमन्त्रीको भ्रमणबाट आफूहरू आशावादी भएको जनाएका छन् ।

प्रकाशित : जेष्ठ १७, २०८० ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?