कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

रुसी सेनामा नेपाली : सजिलो छैन बाँचेर फर्किन

जनकराज सापकोटा

काठमाडौँ — रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्धको लडाईंमा होमिएका नेपालीहरुमध्ये १२ जनाको मृत्यु भएको विवरण पुष्टि भईसकेपनि मृत्यु हुनेहरुको संख्या यो भन्दा ठूलो हुनसक्ने देखिन्छ । रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्धको लडाईंमा खटिई बीचमै भागेर आएका नेपालीहरुले सुनाएको विवरण सुन्दा मृत्यु हुनेहरुको संख्या निकै ठूलो हुने देखिन्छ ।

रुसी सेनामा नेपाली : सजिलो छैन बाँचेर फर्किन

दैलेख आठबीस नगरपालिका-३ का २४ वर्षिय कृष्णबहादुर शाही गत शुक्रबार रुसबाट भागेर नेपाल आईपुगे । शरिरभरी लागेको ६ गोली र कैयन छर्राका कारण घाईते अवस्थामा आएका कृष्णले आफूसँगै युद्धमा खटिएका अन्य दुईको मृत्यु भएको बताए । उनले आफू भर्ती भएलगत्तै दस दिनको सामान्य फायरिङ तालिमपछि आफुलाई युद्ध मैदानको रेड जोनमा खटाईएको बताए ।

दलाललाई सात लाख रुपैयाँ बुझाएर मंसिरको ४ गते उनी रसिया उडेका थिए । कृष्णले सरकारले भनेजस्तो रुसी सेनामा एकाध सय नेपाली नभएर हजारौंको संख्यामा नेपाली भएको हुनसक्ने अनुमान सुनाए । उनले भने, ‘म भर्ती भएको पल्टमा मात्रै झण्डै दुई सयको हाराहारीमा नेपालीहरु थिए ।’

युद्ध मैदानमा खटिएका दर्जनौं नेपालीहरु घाईते अवस्थामा लुकिछिपी भागेर नेपाल आईपुगेका छन् । अनेकन दलाललाई लाखौं रुपैँया बुझाएर लुक्दै भाग्दै नेपाल आईपुगेकाहरुको कुरा सुन्दा थाहा हुन्छ, रुसी सेनामा भर्ती भएर मर्ने नेपालीहरुको संख्या सार्वजनिक भएभन्दा निकै ठूलो छ । अनि घाईते भएकाहरुको संख्या पनि दर्जनौं छ ।

गत पुस ४ गते परराष्ट्र मन्त्रालयले तेस्रो पटक विज्ञप्ति जारी गरेर परम्परागत रुपमा रहेको सम्झौता अन्तर्गत केही मित्रराष्ट्रहरुको राष्ट्रिय सेनामा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिहरु भर्ना हुन अनुमति दिने नेपाल सरकारको नीति नरहेको स्पष्ट पारेको थियो । परराष्ट्रले यसबीचमा काठमाडौंस्थित रुसी दूतावासलाई पनि रुसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकहरुको शव पठाउन, घाईते लगायतका पीडित परिवारहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन भनिसकेको छ । तर त्यसको उपलब्धी भने केही भईसकेको देखिन्न । कतिसम्म भने मृत्यु भएका परिवारका सदस्यहरुले मृत्युको औपचारिक खबर नपाउने, शव आउने /नआउने विषयमा भरपर्दो सूचना नपाउने अवस्था देखिन्छ ।

प्रकाशित : माघ २२, २०८० १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?