कान्तिपुर वेबसाईट
AdvertisementSponsored
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

ठूला र साना टिमबीचको दूरी छोटिँदै

बेल्जियममाथि स्लोभाकियाले निकालेको स्तब्धपूर्ण नतिजाले साना र ठूला टिमको दूरी छोट्टिँदै

काठमाडौँ — स्लोभाकियाले बेल्जियममाथि निकालेको १–० को जित युरोको पहिलो स्तब्धपूर्ण नतिजा रह्यो । सोमबारको यो खेलपछि स्लोभाकियाली प्रशिक्षक फ्रान्सिस्को काल्जोना मान्छन्, अब ठूला र साना टिमबीचको दूरी छोटिँदै छ । समूह ‘ई’ को खेलमा स्लोभाकियाले सुरुमै एक गोल गर्‍यो ।

ठूला र साना टिमबीचको दूरी छोटिँदै

बाँकी समय बेल्जियमले तेर्स्याएको चुनौती पन्छाउँदै रह्यो । ‘साना टिम जसलाई भनिएको छ, तिनले पछिल्लो समय फुटबलमा राम्रै प्रगति गरेको छ,’ प्रशिक्षक काल्जोनाले माने ।

उनी भन्छन्, ‘अब हामीले ठूला भनिएका टिमलाई पनि दुःख दिन सक्छौं । तर अझै पनि ठूला र साना टिमबीचको दूरी बाक्लै छ ।’ फिफा वरीयतामा जहाँ बेल्जियम तेस्रो स्थानमा छ, त्यहीं स्लोभाकिया ४८ औं स्थानमा छ । ‘हामीले पछिल्लो समय निकै मिहिनेत गरेका छौं,’ उनी थप्छन्, ‘फुटबलमा बेल्जियम जत्तिको देश बन्न धेरै समय लाग्छ । बेल्जियमले त्यसै एकपछि अर्को फुटबल स्टार जन्माएको होइन । सत्य के पनि हो भने साना देशले पनि फुटबलमा प्रगति भने गरेको छ ।’

उनले सीमित स्रोत र साधनको मद्दतमा स्लोभाकियाली फुटबललाई यहाँसम्म पुर्‍याएका हुन्, त्यसैले पनि यो अझ मीठो जित साबित भएको छ । इटालीमा जन्मेका काल्जोनाले यसअघि सिरी ‘ए’ क्लब नेपोली हेर्ने । दुई वर्ष मात्रै भयो उनले स्लोभाकियाली टिम हेर्न थालेको । उनी मान्छन्, ‘हामी फुटबलको आधारमा साना देश नै हौं । हामी जस्तालाई फुटबलमा विकास गर्न सजिलो छैन । हामीलाई जहिले पनि धेरै अवरोधहरू आइरहन्छन् ।’

अहिलेको जितले स्लोभानियालाई प्रतियोगिताको अन्तिम १६ सम्म पुर्‍याऊन सक्छ । अब टोली अगाडि रहनेछन्, युत्रेन र रोमानियाको उत्तिकै बलियो चुनौती । ‘बेल्जियमविरुद्धको जित वास्तवमै ठूलो छ । अब हाम्रो नजर अर्को खेलमै हो । हामीले आफ्नो लक्ष्य प्राप्त गर्ने हो भने यी खेलमा पनि गोल गर्नुपर्ने हुन्छ ।’ यस खेलका नायक रहे, निर्णायक गोलकर्ता इभान स्क्रान्ज । यस खेलमा बेल्जियमका दुई प्रहार पोस्टतर्फ त रहे र ती मान्य रहेनन् ।

एक अर्को प्रहारलाई गोललाइनबाट जोगाइएको थियो । अझ खेल पूर्णतः बेल्जियमकै नियन्त्रणमा रह्यो । तर जित रह्यो स्लोभाकियाकै नाममा । ‘आज हाम्रो प्रदर्शन राम्रो रह्यो, किनभने हामीले अनुशासित खेल प्रदर्शन गर्न सक्यौं,’ स्क्रान्ज भन्छन्, ‘युरोमा एक गोल गर्नु कोही पनि खेलाडीका लागि पूरा जीवनकै लक्ष्य हुन सक्छ । मेरै गोलले टिम विजयी रहेको छ । यसले पनि मेरो लागि यो जित अझ विशेष बनेको छ ।’

प्रकाशित : असार ५, २०८१ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×