कान्तिपुर वेबसाईट
AdvertisementSponsored
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

फ्रान्सलाई एमबाप्पेको चोटमा चिन्ता

रोयटर्स

डुसेलफोर्ड —  फ्रान्सले यसपालि युरोको आफ्नो पहिलो खेलमा अस्ट्रियामाथि १–० को साँघुरो जित त निकाल्यो, तर टिमलाई कप्तान तथा प्रमुख खेलाडी केलियन एमबाप्पेको चोटमा गहिरो चिन्ता पनि रहनेछ । समूह ‘डी’ को खेलको एकमात्र गोल पनि आत्मघाती रह्यो, म्याक वुबरको नाममा । 

फ्रान्सलाई एमबाप्पेको चोटमा चिन्ता

फ्रान्सेली प्रशिक्षक डिडियर डेसच्याम्पको पहिलो प्रतिक्रिया थियो, ‘यो जितमा जसरी खेलाडीले खेले, त्यसमा खुसी नै छौं । यो जित हाम्रो दृष्टिकोणले पूर्ण र ठोस भने रहेन ।’

उनको भनाइ के थियो भने फ्रान्सले अझ बढी गोल गर्न सक्नुपर्ने थियो । फ्रान्स अझ बढी आक्रामक बन्नैपर्थ्यो । तर, युरो जत्तिको प्रतियोगिताको विजयी सुरुआत सबै टिमलाई कुनै पनि टिमले दुई हातले स्वागत गर्नेछ नै, त्यसमा फ्रान्स पनि अपवाद रहेन । प्रशिक्षक डेसच्याम्प थप्छन्, ‘यो फ्रान्सेली टिममा स्तर र राम्रा खेलाडीमा कमी छैन । सबैले एकजुट भएर खेले, त्यो पनि उत्तिकै महत्त्वपूर्ण छ । हामीलाई बढी आत्मविश्वासी हुनु पनि ठीक छैन ।’

प्रशिक्षक डेसच्याम्प मात्र होइनन्, सबै फ्रान्सेली फुटबल समर्थकलाई एमबाप्पेको नाकमा लागेको चोटमा गम्भीर चासो रहनेछ । आशंका के छ भने एमबाप्पेको नाक फुटेको छ, त्यसैले फ्रान्सका लागि यो राम्रो अवस्था होइन । त्यसैले डेसच्याम्पले एमबाप्पेको स्थितिलाई आफ्नो दृष्टिकोणबाट असाध्यै खराब रहेको स्वीकारे । खेलका क्रममा एमबाप्पे नराम्रोसँग अस्ट्रियाका डिफेन्डर केभिन डान्सोसँग जुधेका थिए । पछिल्लो समय यसबारे प्राप्त जानकारीअनुसार एमबाप्पेलाई शल्यक्रिया आवश्यक त पर्ने छैन ।

सुरुमा एमबाप्पेले प्रतियोगिता नै गुमाउन सक्ने डरसम्म उत्पन्न भएको थियो । सुरुमा उनलाई अस्पतालमै भर्ना गरिएको थियो । तर, आवश्यक जाँच र परीक्षणपछि उनले अस्पताल छाडेका छन् । यो भने फ्रान्सेली टिमका लागि सुखद समाचार रह्यो । खेलको अन्त्यतिर रगताम्ये नाकसहित पीडा महसुस गरिरहेका एमबाप्पेलाई सब्स्टिच्युड गरिएको थियो । अबको केही दिन उनी सघन उपचार र निरीक्षणबाट भने लगातार गुज्रिने छन् ।

यता प्रतिस्पर्धामा ‘प्लेयर अफ द म्याच’ रहेका एन’गोलो कान्टेले खेलको विश्लेषण गर्दै भनेका छन्, ‘हामीले त्यही नतिजा प्राप्त गरेका छौं, जुन अपेक्षा गरेका थियौं । त्यो भनेको विजयी सुरुआत । तर सबथोक मिलेको पनि छैन । हामीलाई आफ्नो प्रदर्शनमा अझै सुधार ल्याउनु छ । व्यक्तिगत रूपमा फेरि फ्रान्सका लागि खेलमा फर्किन पाएकोमा म खुसी छु । फेरि एकपल्ट फ्रान्सेली जर्सी लगाएर खेल्न पाउनुको मज्जा नै बेग्लै रहने गर्छ ।’

अस्ट्रिया भने आत्मघाती गोलमा निराश रह्यो । यो स्वाभाविक रह्यो । तिनका प्रशिक्षक राल्फ रान्गनिकले भने, ‘हामी सबै असाध्यै निराश छौं । हामीले फ्रान्सलाई अगाडि बढ्ने मौका दियौं । यो खेलमा फ्रान्सले गोल गर्न सकेन, बरुले दुर्भाग्यपूर्ण आत्मघाती गोल गर्‍यौं । हाम्रोसामु यो खेलमा एक गोलको अग्रता लिन सक्ने स्थिति पनि थियो । हामीले के पनि स्वीकार्नुपर्छ भने फ्रान्सले यस खेलमा आफ्नो शक्ति लगाएको थियो । फ्रान्सले सक्दो हामीलाई अप्ठ्यारोमै राख्यो ।’

प्रकाशित : असार ५, २०८१ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×