कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

फ्लोरिडाको पहिलो खेलमा नेपाल र श्रीलंकाको पहिलो भेट

विनोद पाण्डे

लडरहिल, फ्लोरिडा — वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गरेको ट्वान्टी-२० पुरुष विश्वकप क्रिकेट सुरु भएको ११ दिन भइसकेको छ । अमेरिकाको क्रिकेटको राजधानी मानिएको फ्लोरिडाले भने मंगलबार विश्वकपको पहिलो खेल आयोजना गर्दैछ ।

फ्लोरिडाको पहिलो खेलमा नेपाल र श्रीलंकाको पहिलो भेट

लडरहिलस्थित ब्रवर्ड क्रिकेट रंगशालामा नेपाल र श्रीलंका आमने सामने गर्दैछन् । यी दुई टोलीबीचको पनि यो पहिलो अन्तर्राष्ट्रिय भिडन्त हो । यो सँगै नेपालले दक्षिण एसियाका ७ टोलीसँग प्रतिस्पर्धा गर्ने टोली बन्ने छ ।

पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित नेपालले अवको ६ दिनमा तीन टेस्ट राष्ट्रसँग खेल्ने छ, त्यसको सुरुआत श्रीलंकाबाट गर्न लागेको हो । नेपालले जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशसँग सेन्ट भिन्सेन्टमा समूहचरणको अन्तिम दुई खेल खेल्ने छ । श्रीलंकाले सेन्ट लुसियामा नेदरल्यान्ड्ससँग जुन १६ मा समूहचरणको अन्तिम खेल खेल्ने छ ।

नेपाललाई सुपर ‘एट’ मा पुग्न बाँकी खेल जित्नु पर्ने दबाब रहेको छ । समूहका शीर्ष दुई टोली अर्को चरणमा पुग्ने प्रावधान रहेको छ । श्रीलंका पहिलो दुई खेलमा क्रमशः दक्षिण अफ्रिकासँग ६ विकेटले र बंगलादेशविरुद्ध २ विकेटले पराजित भएपछि प्रतियोगिताबाट बाहिरिने स्थितिमा छ ।

पहिलो दुई खेलमा पराजित भएकाले दबाब श्रीलंकाली टोलीमा रहेको नेपालका कप्तान रोहित पौडेलले बताएका थिए । तर लउडरहिलमा नेपालको यो पहिलो खेल हो । यस मैदानमा नेदरल्यान्ड्स र आयरल्यान्डविरुद्ध दुई अभ्यास खेल खेलेकाले श्रीलंका यहाँको विकेटसँग परिचित भइसकेको छ ।

पहिलो अभ्यास खेलमा नेदरल्यान्ड्सले १८१–६ को स्कोर बनाएको थियो भने जवाफमा आएको श्रीलंका १९ ओभरमा १ सय ६१ रनमा अलआउट भएर २० रनको पराजय भोगेको थियो । आयरल्यान्डविरुद्धको दोस्रो अभ्यास खेलमा श्रीलंका ४१ रनले विजयी भएको थियो । पहिला ब्याटिङ गरेको श्रीलंकाले १६३–८ को स्कोर बनाएको थियो । आयरल्यान्ड १० बल अगाडि १ सय २२ रनमा अलआउट भएको थियो ।

डालासमा क्यानडाविरुद्धको अभ्यास खेल र नेदरल्यान्ड्सविरुद्धको विश्वकपको पहिलो खेलमा नेपाली टोली थकित देखिएको थियो । नेपाली टोली बुधबार फ्लोरिडा आएको थियो र बिहीबार प्रशिक्षण गरेको थियो । त्यसपछिको दुई दिन नेपालले वर्षाका कारण अभ्यास गर्न पाएको थिएन ।

आइतबार प्रशिक्षणमा बिताएको नेपालले सोमबार विश्राम लिएको थियो । श्रीलंकाले सोमबार ‘लाइट ट्रेनिङ’ गरेको थियो । तर प्रशिक्षण सुरु गरेको केही समयमा मौसम बदलिएर सामन्य पानी पर्न लागेपछि श्रीलंकाले प्रशिक्षण रोकेको थियो ।

हेड टु हेड

नेपाल र श्रीलंकाबीच पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धा गर्न लागेका हुन् । ट्वान्टी-२० मा नेपालको यो दोस्रो सहभागिता हो । सन् २०१४ मा नेपालले पहिलो पटक ट्वान्टी-२० विश्वकप खेलेको थियो । बंगलादेशमा भएको त्यो संस्करण श्रीलंकाले जितेको थियो । श्रीलंकाले ट्वान्टी-२० विश्वकपमा पहिलो पटक सामना गरेको प्रतिद्वान्द्वीविरुद्ध खेलेका १० खेलमा केवल दुई पराजयमात्र भोगेको छ । नेपालले विश्वकपमा खेलेको कुल ४ खेलमा २ जित र २ हारको नतिजा निकालेको छ । टेस्ट राष्ट्रविरुद्ध नेपालले ट्वान्टी-२० मा खेल्न लागेको यो केवल पाँचौं खेल हो ।

तथ्यांक

  • नेपालका कप्तान रोहित ट्वान्टी-२० अन्तर्राष्ट्रियमा एक सय चौकाको कोशेढुंगाभन्दा ५ चौकाले पछाडि छन् । रोहितभन्दा बढि चौका नेपालबाट दीपेन्द्रसिंह ऐरी (१२६), कुशल भुर्तेल (१११) र आसिफ शेख (१००) ले मात्र प्रहार गरेका छन् । रोहितले नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा कुल ५ चौका प्रहार गरेका थिए ।
  • श्रीलंकाका कप्तान वानिन्दु हसरंगाले २०२१ मा भएको विश्वकपमा १६ विकेट लिएका थिए, जुन एकै ट्वान्टी-२० विश्वकपमा सवैभन्दा बढी विकेटको कीर्तिमान हो । हसरंगाले अस्ट्रेलियामा २०२२ मा भएको विश्वकपमा पनि सबैभन्दा बढी १५ विकेट लिएका थिए ।
  • थप ३ विकेट लिएमा श्रीलंकाका कप्तान वानिन्दु हसरंगाले ट्वान्टी-२० विश्वकपमा सर्वाधिक ३८ विकेट लिने श्रीलंका खेलाडीमा रहेको लासिथ मालिङ्गाको कीर्तिमानलाई बराबरी गर्नेछन् ।

कसले के भने


रोहित पौडेल, कप्तान, नेपाल

कन्डिसनले गर्दा रन बनाउन गाह्रो भइरहेको छ, मलाई लाग्छ डालास र फ्लोरिडाको कन्डिसन फरक छ । फ्लोरिडामा खेलहरू पनि भइरहेका छन् र यहाँको विकेट पनि फरक छ । कन्डिसनलाई हेरेर खेल्ने हो भने हामी कुनै पनि टोलीलाई पराजित गर्न सक्छौं, त्यो विश्वास टिम भित्र छ । यो प्रतियोगितामा धेरै आश्चार्यजनक नतिजा आएका छन्, यसले टेस्ट राष्ट्रलाई दबाब दिएको छ, त्यही दबाबलाई कायमै राख्दै हामी श्रीलंकाविरुद्धको खेल जित्न चाहान्छौं । आधारभूत कुराहरूमा ध्यान दिने हो भने हामी अगाडि छौं जस्तो लाग्छ ।

हामीलाई भन्दा पनि बढी दबाब श्रीलंकालाई छ जस्तो लाग्छ । यो कन्डिसनमा १ सय ४० रनको हाराहारीको स्कोर बनाउनु हुन्छ भने त्यो विजय स्कोर जस्तो हुन्छ । मंगलबारको खेलमा वर्षाको पूर्वानुमान गरिएको छ, त्यसैले कन्डिसन हेरेर मात्र टिमको संरचना बारेमा थाहा हुन्छ । श्रीलंका निकै राम्रो टोली हो, हामीले सामन्य हिसाबमा लिएका छैनौं । तर श्रीलंकाले यो प्रतियोगितामा राम्रो खेल्न सकेको छैन । अहिलेसम्म टेस्ट खेल्ने राष्ट्रलाई पराजित गरेका छैनौं, त्यसैले अहिले हामीसँग त्यो अवसर आएको छ ।

अकिव जावेद, बलिङ प्रशिक्षक, श्रीलंका

अहिले आएर मान्छेहरूले विकेट कस्तो रहिछ भन्ने बुझ्न लागेका छन् । हामी पहिलो टोली हौं, जो यो प्रकृयाबाट अगाडि बढेका थियौं । हामीले विश्वकप जस्तो प्रतियोगितामा यो खाले विकेट आशा गरेका थिएनौं । हामीले पहिलो पटक गएर न्यु योर्कको पिचमा खेलेका थियौं । अहिले पहिला ब्याटिङ गर्दा कुन स्कोर बनाउने र कुन स्कोर कसरी पछ्याउने भनेर अन्य टोलीले अन्दाज पाएका छन् । अमेरिकामा रहेकोहरूमा डालासको विकेट सवैभन्दा राम्रो हो भनिएको छ, तर यी नयाँ कन्डिसनले हामीलाई धेरै आश्चार्यमा पारेको छ । सुरुका ब्याटरहरूले निकै हेरेर खेल्नु पर्ने हुन्छ । यहाँ खेल्नु अगाडि योजना बनाउनुभन्दा कन्डिसनमा कसरी भिज्न सकिन्छ भनेर हेर्नु नै उचित हुन्छ ।

म यूएईको प्रशिक्षक भएर पहिलो पटक नेपाल जाँदा त्यहाँ खेल प्रतिको लगाव देखेर आश्चार्यमा परेको थिएँ, त्यो असाधारण नै थियो । रंगशालामा गएर खेल्दा हजारौं दर्शक मैदान बाहिरबाट पनि हेरिरहेका थिए । जब एक पटक खेल प्रतिको लगाव बढ्छ, तब तपाई उपलब्धीभन्दा टाढा हुनुहुन्न । नेपाल छनोट भएर विश्वकपमा आएर खेलेको देख्दा खुशी लागेको छ ।

प्रकाशित : जेष्ठ २९, २०८१ १३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×