कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

धनगढी हाफ म्याराथनले पायो एथलेटिक्स संघबाट मान्यता

चित्रांग थापा

धनगढी — धनगढी जेसिजले नयाँ वर्षको अवसरमा वैशाख १ गते आयोजना गर्दै आएको हाफ म्याराथनको दसौं संस्करणलाई नेपाल एथलेटिक्स संघले स्वीकृत गरेको छ । अब उप्रान्त धनगढीमा आयोजना हुने हाफ म्याराथनमा कुनै नयाँ रेकर्ड बनेमा ती रेकर्डहरुले मान्यता पाउने भएको आयोजक धनगढी जेसिजले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । 

धनगढी हाफ म्याराथनले पायो एथलेटिक्स संघबाट मान्यता

धनगढी र सुदूरपश्चिम प्रदेशकै समग्र विकासका लागि ‘अब धनगढी दौडिन्छ’ भन्ने नाराका साथ आयोजना हुने दसौं संस्करणको धनगढी हाफ म्याराथन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । आगामी २०८१ वैशाख १ गते हुने हाफ म्याराथनको प्रायः अधिकांश तयारी सकिएको प्रतियोगिताका संयोजक आशीष शाहले जानकारी दिए । सन् २०१४ देखि बैशाख १ गते नेपाली नयाँ वर्षको अवसरमा धनगढी हाफ म्याराथन प्रतियोगिता आयोजना हुँदै आएको हो ।

‘धनगढी हाफ म्याराथनको दसौं संस्करणले नेपाल एथलेटिक्स संघबाट स्वीकृति प्राप्त गरेको छ,’ संयोजक शाहले भने, ‘यो म्याराथनमा कुनै रेकर्ड बनेमा यसका रेकर्डहरुले पनि मान्यता पाउने छ ।’

धनगढी हाफ म्याराथनको विजेताले नगद ६६ हजार ६ सय ६६, उपविजेताले ४४ हजार ४ सय ४४ र तेस्रो हुनेले ३३ हजार ३ सय ३३ नगद पुरस्कार रकम प्राप्त गर्नेछन् । धनगढी हाफ म्याराथन धनगढी रंगशालादेखि सुरु भएर सहिद गेट हुँदै गेटा मेडिकल कलेजको मनहरा पुलको मोड भएर पुनः धनगढी रंगशालामा पुगेर समापन हुने पत्रकार सम्मेलनमा धनगढी जेसिजका अध्यक्ष अरुण सिंहले बताए ।

प्रतियोगिताअन्तर्गत महिलातर्फ तथा कर्पोरेट र सञ्चारको ५ किलो मिटरको दौड पनि आयोजना गरिनेछ । दुई वटै विधाका विजेताले नगद ६ हजार ६ सय ६६ उपविजेताले नगद ४ हजार ४ सय ४४ र तेस्रो हुनेले नगद ३ हजार ३ सय ३३ राशिको नगद पुरस्कार प्राप्त गर्ने धनगढी जेसिजका अध्यक्ष सिंहले बताए । प्रतियोगिताको मुख्य प्रवर्द्धकमा जेसिज एभरेष्ट स्कुल रहेको छ भने प्रायोजकमा चैतन्य पाठशाला रहेको छ ।

यसैगरी प्रतियोगिताको प्रवर्द्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, सुदूरपश्चिम प्रदेश युवा परिषद्, धनगढी उपमहानगरपालिका र नवजीवन को-अपरेटिभ्स लिमिटेड रहेका छन् ।

प्रकाशित : चैत्र २८, २०८० १७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?