कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बमको शतकले पनि जितेन नेपाल ‘ए’ ले

काठमाडौँ — लोकेश बमले शतक बनाए पनि नेपाल ‘ए’ पहिलो ट्वान्टी २० क्रिकेटमा आयरल्यान्ड उल्भ्स् (ए) सँग २१ रनले पराजित भएको छ । लोकेशको सानदार शतक पनि अन्तिम ७ विकेट १२ रनको अन्तरमा गुमाएपछि २ सय २३ रनको विशाल लक्ष्य लिएर आएको नेपाल ‘ए’ १९.३ ओभरमा २ सय १ रनमा अलआउट भयो ।  

बमको शतकले पनि जितेन नेपाल ‘ए’ ले

लोकेशले ५२ बलमै शतक पूरा गरेका थिए । उनले कुल ५६ बल खेली ९ चौका र ८ छक्का प्रहार गरे । उनलाई आरिफ शेखले राम्रो साथ दिएका थिए । आरिफले ४९ रन बनाए । उनले ४६ बल खेली १ चौका र ५ छक्का प्रहार गरे ।

यी दुईले चौथो विकेटमा ४६ बलमै १ सय २१ रनको साझेदारी गरेका थिए । कप्तान विनोद भण्डारी १४ बलमा १६, देव खनाल शून्य, अर्जुन घर्ती ३ रनमा आउट भएपछि लोकेश र आरिफ जमेका थिए ।

तर लोकेश १६ औं ओभरको पाँचौं बलमा आउट भएपछि नेपाली टोलीले २२ बलमा १२ रनमात्र जोड्न सक्यो । म्याथ्यु हम्फ्रेजले १८ औं ओभरमा आरिफ र किरण ठगुन्नालाई २ रनमा आउट गरे । त्यसको अर्को ओभरमा फिओन हृयान्डले रशिद खानलाई पहिलो बलमा डक आउट र कमलसिंह ऐरीलाई शून्यमै आउट गरे ।

अन्तिम ओभरमा म्याथ्यु फोस्टरले बसिर अहमदलाई ३ र हेमन्त धामीले शुन्यमा आउट गरी नेपाललाई विजय बनाए । आयरल्यान्डबाट हम्फ्रेज र हृयान्डले ३–३ विकेट लिए ।

यसअघि नेपाल ‘ए’ ले टस जितेपछि ब्याटिङमा आएका आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाई २ सय २२ रन बनाएको थियो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ओपनर पिटर मुरले आईरिस टोलीबाट सर्वाधिक ४९ रन बनाए । उनले ३२ बल खेली ४ चौका र ३ छक्का प्रहार गरे । अर्का ओपनर रस एडाएर २ रनमात्र बनाई कमलसिंह ऐरीको बलमा आउट भएपछि मुर र केड केरमाइकलले दोस्रो विकेटमा ५८ बलमा ८८ रनको साझेदारी गरे ।

जिम्बावे र आयरल्यान्डबाट टेस्ट खेलिसकेका मुर अर्धशतक बनाउन १ रन अगाडि आरिफ शेखको बलमा बोल्ड भए । केरमाइकलले २९ बल खेली ४ चौका र १ छक्का प्रहार गर्दै ३८ रन बनाए । त्यसपछि स्टेफन डहनी र कप्तान निल रकले ५१ रनको साझेदारी गरे ।

डहनीले १६ बल खेली ४ चौका र २ छक्का प्रहार गरे । रकले २३ बल खेली १ चौका र ३ छक्कासहित ३८ रन बनाए । ग्यारेथ डेलानी ३० र ग्याभिन होइ १८ रन बनाई अविजित रहे । इनिङ्सको अन्तिम ३ बलमा सागर ढकाललाई लगातार छक्का प्रहार गरेका डेलानी १४ बल खेली २ चौका प्रहार गरे । होइले ६ बलमात्र खेल्नेक्रममा २ छक्का प्रहार गरे ।

नेपाल ‘ए’ ले अन्तिम ५ ओभरमा ७३ रन जोडेको थियो । लामो समयपछि मैदानमा पुनरागमन गरेका कमलले ३ विकेट लिए । तर उनले सोक्रममा ३९ रन खर्चेका थिए । सागर र आरिफले १–१ विकेट लिए । अन्तिम ओभरमा २३ रन खर्चेका सागरले आफ्नो पहिलो ३ ओभरमा ११ रनमात्र दिएका थिए ।

नेपाली राष्ट्रिय टोलीसँगको पहिलो २ ट्वान्टी-२० खेलमा आयरल्यान्ड ‘ए’ पराजित भएको थियो । नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ सँग ३ ट्वान्टी २० र ३ एकदिवसीय खेल खेल्ने छ ।

प्रकाशित : चैत्र १६, २०८० १६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?