कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिर्सनलायक बहराइन भ्रमण

विश्वकपको एसियाली छनोटअन्तर्गत बहराइन भ्रमणमा नेपालको बिर्सनलायक हार
हिमेश

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) भित्रको आन्तरिक द्वन्द्व, खेलाडी पलायन र सबैखाले अन्योलको सिधा असर राष्ट्रिय टोलीको प्रदर्शनमा पर्छ कि पर्दैन ? यसको ठ्याक्कै उत्तर गाह्रो छ । तर, एउटा तथ्य निश्चित छ, अन्तर्राष्ट्रिय फुटबलमा नेपाली राष्ट्रिय टिमको कमजोर प्रदर्शनको शृंखला फेरि एकपल्ट देखा परेको छ ।

बिर्सनलायक बहराइन भ्रमण

विश्वकपको एसियाली छनोटअन्तर्गत दोस्रो चरणको समूह ‘एच’ को दुई खेलमा नेपालले गरेको बहराइन भ्रमण सर्वथा बिर्सनलायक रह्यो । बुधबार राति बहराइनको राफामा भएको खेलमा नेपाल फेरि ३–० ले पराजित रह्यो । यो प्राविधिक रूपमा बहराइनको ‘होम म्याच’ थियो ।

यसअघि आफ्नो ‘होम म्याच’ रहेको खेल नेपालले ५–० ले गुमाएको थियो । यसरी नेपाली टोली २ खेलमा ८ गोल खाएर घर फर्कनेछ । अन्तर्राष्ट्रिय फुटबलमा नेपाल लगातार चार वा त्योभन्दा बढी खेलमा पराजित भएको सन् २०१९ यता यो पहिलो पटक हो । त्यसको अर्थ ५ वर्षयता नेपालको प्रदर्शन फेरि एकपल्ट खराब रह्यो ।

सन् २०१९ मा अस्ट्रेलियाविरुद्धको विश्वकप छनोटमै पराजित भएयता नेपालले लगातार ५ खेल गुमाएको थियो । यी पाँच खेलमा कुनै गोल सकेको छैन । त्यति बेला पनि नेपालले लगातार ७ खेलमा कुनै गोल गर्न सकेको थिएन । यसपल्ट नेपालले गोल गर्न नसकेको खेल संख्या ४ पुगेको छ । यो भनेको नेपालले एसिया कपको छनोट पनि रहेको समूह ‘एच’ का चारै खेलमा कुनै गोल गर्न सकेन । अब छनोटका २ खेलमा कस्तो प्रदर्शन हुने हो त्यो हेर्नलायक रहनेछ ।

नेपाल पुछारमा

राफाको नेसनल स्टेडियममा भएको बुधबार रातिको खेलमा बहराइनले गरेका तीनै गोल पहिलो हाफमै भएको थियो । गोल अन्तरका आधारमा सम्भवतः नेपालको प्रदर्शन केही सुधारिएको मान्न सकिन्थ्यो होला । तर, यो आफैंमा खराब प्रदर्शनको नमुना रह्यो । यो हारले नेपालको शीर्ष दुई स्थानमा रहेर गणितीय रूपमा विश्वकप छनोटको तेस्रो चरण पुग्ने र एसिया कप २०२७ मा स्वतः प्रवेश पाउने सम्भावना सकिएको छ ।

चार टिमसम्मिलित समूहमा यूएई चारै खेल जितेर १२ अंकसहित शीर्षमा छ । त्यसपछि बहराइन ९ अंकसहित दोस्रोमा छ । यमन ३ अंक लिएर तेस्रोमा छ । बुधबार नै भएको समूहको अर्को खेलमा यूएईले यमनलाई ३–० ले हराएको थियो । बलियो यूएई भने सिधै एसिया कपका लागि मात्र छनोट भएको छैन, विश्वकप छनोटको तेस्रो चरण पुगेको छ । यूएईले यो उपलब्धि समूह चरणका दुई खेल बाँकी छँदै पाएको हो ।

अब नेपालको ध्यान एसिया कप छनोटकै तेस्रो चरणमा केन्द्रित हुनुपर्नेछ, जहाँ नेपालले कम्तीमा समान हैसियतका टिमको सामना गर्नेछ । त्यसको तयारी अहिले नै सुरु गर्नुपर्ने हुन्छ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले बहराइनविरुद्धको दोस्रो खेलमा सुरुमै भरत खवास, जिलेस्पीजंग कार्की, सन्जीव विष्ट र सौभाग्य राईलाई अवसर दिएका थिए । खेलको सातौं मिनेटमै बहराइनले मेहदी बाकेरको गोलमा अग्रता लियो भने कप्तान अब्दुल्लाह युसुफले १८ औं मिनेटमा पेनाल्टीबाट दोस्रो गोल गरेका थिए । गोलरक्षक किरण लिम्बूले मोहमद मारहनुलाई फाउल गरेपछि बहराइनले पेनाल्टी पाएको थियो ।

खेलले ३६ औं मिनेट छुँदा बहराइनले तेस्रो गोल गर्‍यो । यसपल्ट गोलको खातामा कमिल अल–अस्वादले आफ्नो नाम लेखाए । दोस्रो हाफमा नेपालको एउटा प्रयासले मान्यता पाएन । सनिश श्रेष्ठको क्रसमा सन्जिवले बललाई पोस्टको दिशा दिए पनि त्यो अफसाइड रह्यो । यसै खेलमा नेपालका लागि विशाल बस्नेतले डेब्यूको अवसर पाए ।

अनुभवी खेलाडी नभएको गुनासो

खेलपछि मिडियासामु प्रस्तुत हुनेक्रममा प्रशिक्षक एनिसले एकातर्फ टिमको प्रदर्शनमा केही राम्रो भएको दाबी गरे । ठीक त्यहीं टिममा अनुभवी खेलाडी कमी भएको गुनासो पनि व्यक्त गरे । उनले भने, ‘बहराइनमा ५ खेलाडीले डेब्यू गरें । हामीसँग टिममा जति खेलाडी छन्, त्यसमध्ये १६ जना २३ वर्षमुनिका छन् । त्यसको अर्थ टिममा अनुभवी खेलाडी नै छैन भन्दा हुन्छ । फेरि हामीले तयारी पनि राम्रो गर्न पाएनौं । यस्तोमा खेलाडीहरूले जे जस्तो खेले, त्यो पनि ठूलो हो ।’

प्रशिक्षक एनिस बहराइनी टिमले पाउँदै आएको सुविधा र अवसरप्रति लोभिएको देखिए । उनले भने, ‘यदि नेपालले बहराइनजत्तिको सुविधा पाउने हो भने हाम्रो प्रदर्शन अझ राम्रो हुनेछ । बहराइन भ्रमणको सबैभन्दा उल्लेखनीय पक्ष भनेको हामी बहुमूल्य अनुभव लिएर फर्कंदै छौं । बहराइनी खेलाडी शारीरिक रूपमा राम्रा छन् । उनीहरूको खेलको स्तर माथिल्लो छ । मुख्य कुरा हाम्रोमा लिग नै छैन जस्तो छ, खेलाडीले स्थानीय कपमात्रै खेल्छन् ।’

प्रकाशित : चैत्र १५, २०८० ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?