२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

न्याभ कप ट्राइकन क्रिकेट क्लबलाई

खेलाडीद्वय मल्ल र ऐरीसहित क्यान अध्यक्षलाई सम्मान
नारायण खड्का

अस्ट्रेलिया — ट्राइकन क्रिकेट क्लबले भिक्टोरियाको मेलबर्नमा नेपाली समुदायका टोलीबीच आयोजना गरेको म्याक्सी म्याक्स न्याभ कपको उपाधि जितेको छ । नेपाली संघ भिक्टोरिया (न्याभ) ले आयोजना गरेको प्रतियोगिताको फाइनलमा ट्राईकलने एक्सपर्ट सगरमाथा ब्लुज क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्‍यो । 

न्याभ कप ट्राइकन क्रिकेट क्लबलाई

मेलबर्नस्थित जेसी डोनेथ रिर्जभमा भएको फाइनलमा ट्राइकनले १ सय ५५ रनको लक्ष्य १५.५ ओभरमा पूरा गर्‍यो । उपाधिसँगै ट्राइकनले ५ हजार अस्ट्रेलियन डलर, ट्रफी तथा उपविजेता सगरमाथाले १ हजार ५ सय डलर, ट्रफी र मेडल हात पार्‍यो । सुनिल धमला, किशोर महतो, सागर खड्कासहितका नेपाली राष्ट्रिय टोलीका खेलाडीहरूले खेलेको प्रतियोगितामा १७ टोली सहभागि थिए ।

प्रतियोगिताको प्लेयर अफ द सिरिज ब्राइटन क्रिकेट क्लबका सागर खड्का बनेका थिए भने ट्राइकनका सन्जोग दाहाल फाइनल खेलमा प्लेयर अफ द म्याच घोषित भएका थिए । सागर उत्कृष्ट ब्याटर पनि बने । उत्कृष्ट बलर शेखर अर्याल र उत्कृष्ट फिल्डर रविन्द्र गुरुङ बनेका थिए ।

न्याभका अध्यक्ष प्रेमराज उप्रेतीले न्याभले खेलकुदको माध्यमबाट नेपाली समुदायबिचमा भाइचारा स्थापना गर्नुका साथै प्रतिभा भएका नयाँ खेलाडीलाई यहाँको मुलधारमा अवसर सृजना गर्नका लागि प्रोत्साहन गरिरहेको बताए । उनले यसबर्षको न्याभ कप सफल भएको बताउँदै यस्ता प्रतियोगिताले नेपाली खेलाडीलाई खेलप्रति अझ उत्साह मिल्ने बताए । प्रतियोगितालाई म्याक्सिम्याक्स एजुकेसन एण्ड माइग्रेसनले मुख्य प्रायोजन गरेको थियो भने होम्स इन्टिच्युटले सहप्रायोजन गरेको थियो ।

न्याभले गत आइतबार गाला डिनरको आयोजना गरेर विजयी टीम तथा खेलाडीलाई पुरस्कार वितरण गरेको थियो । फाइनलपछिको गाला डिनरमा नेपाली क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दका साथै नेपालका राष्ट्रिय खेलाडीद्वय कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीलाई नेपाली क्रिकेटको विकास र यसलाई विश्वसामु पुर्‍याउनका लागि गरेको योगदानको कदर गर्दै सम्मान समेत गरिएको थियो । कार्यक्रममा क्यानका अध्यक्ष चन्दले न्याभसँग आफूहरूले सहकार्य गर्न पाउँदा खुशी लागेको बताएका थिए भने क्रिकेटरद्वय केसी र ऐरीले आफ्नो अनुभव यहाँ आएर बाँड्न पाउँदा आफूहरू हर्षित भएको उल्लेख गरेका थिए ।

गत नोभेम्बरमा न्याभ तथा क्यानबिच न्याभले आयोजना गर्ने क्रिकेट प्रतियोगिता न्याभ कपमा नेपाली क्रिकेटलाई प्रबर्द्धन गर्न सहयोग पुरयाउने समझादारी भएको थियो । सोही समझादारी अनुरुप नै च्यारिटी मार्फत संकलन भएको करिब ५ हजार डलर रकम समेत क्यानलाई हस्तान्तरण गरिएको थियो भने दुबै खेलाडीलाई समान ४ हजार ५ सय अस्ट्रेलियन डलर प्रदान गरिएको अध्यक्ष उप्रेतीले जनाए ।

अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल, भिक्टोरियाका अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जन, स्थानीय राजनीतिक दलका सांसद तथा नेताहरू, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका डेपलेपमेन्ट म्यानेजर अमिमुल इस्लाम, मुख्य प्रायोजक म्याक्सीम्याक्स एजुकेसनका निर्देशक शंकर धरेल, सहप्रायोजक होम्स कलेजका इन्द्र अधिकारी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित : फाल्गुन २९, २०८० १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?