१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४०९

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट : सुदूरपश्चिममाथि एपीएफको हाबी

काठमाडौँ — साबिक विजेता सुदूरपश्चिम प्रदेश बिहीबार प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमै पराजित भएको छ । उपाधि दाबेदार मानिएको नेपाल एपीएफ क्लबले प्रतियोगिताको पहिलो दिन सुदूरपश्चिमलाई ९ विकेटले हरायो ।

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट : सुदूरपश्चिममाथि एपीएफको हाबी

एपीएफले ८८ रनको लक्ष्य मूलपानी क्रिकेट मैदानमा १६.१ ओभरमै पार गरेको थियो । ज्योति पाण्डेले ४९ र इन्दु बर्माले ३१ रनको इनिङ्स खेल्दै एपीएफलाई सजिलो विजय दिलाए । प्लेयर अफ द म्याच ज्योतिले ४८ बल खेल्दै ९ चौका र राष्ट्रिय टोलीकी कप्तान इन्दुले ४४ बल खेल्दै ४ चौका प्रहार गरिन् । कप्तान सीता रानामगर ४ रन बनाई ईश्वरी विष्टको बलमा आउट भइन् ।

यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाई ८७ रनमात्र बनाउन सकेको थियो । कविता जोशी २७ बलमा २ चौका र १ छक्कासहित २२ र सम्झना खड्काले १२ रन बनाए । रेवती धामी ९, कप्तान रितु कनोजिया ७ र विन्दु रावल ६ रनमा आउट भए । लक्ष्मी साउद ६ रनमा अविजित रहिन् । एपीएफबाट सोनु खड्काले २ तथा सुमन विष्ट, करुणा भण्डारी र इन्दुले १–१ विकेट लिए ।

मूलपानीमै सम्पन्न अर्को खेलमा कोशी प्रदेशले कर्णाली प्रदेशलाई १० विकेटले हरायो । १६ ओभरमा छोट्याइएको खेलमा कर्णालीले ९ विकेट गुमाई ३३ रनमात्र बनाउन सकेको थियो । ओपनर एवं कप्तान किरण कुँवरले कर्णालीबाट सर्वाधिक ९ रन बनाइन् । बिना थापा र रश्मी खड्काले समान ८ रन जोडे । कर्णालीका चार खेलाडीलाई शून्यमा आउट गरेको कोशीबाट अप्सरी बेगमले ३ विकेट लिइन् ।

प्लेयर अफ द म्याच उनले ३ ओभरमा १ मेडन राख्दै १२ रन खर्चे । एलिसा खडियाले २ तथा सवनम राई, निशा साह र कप्तान रुबिना क्षेत्रीले १–१ विकेट लिए । गत वर्ष इटहरीमा भएको प्रतियोगिताको पछिल्लो संस्करणको फाइनलमा सुदूरपश्चिमसँग पराजित कोशीले ३.१ ओभरमै ३५ रन बनायो । रुविना १७ बल खेल्दै ६ चौका प्रहार गरि २५ र काजोल श्रेष्ठ ५ रन बनाई अविजित रहे ।

वाग्मती प्रदेशले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मधेश प्रदेशलाई २८ रनले हरायो । टस हारेर ब्याटिङ निम्तो पाएको वाग्मतीले २० ओभरमा ४ विकेट गुमाई १ सय १७ रन बनायो । यशोदा विष्ट र अस्मिना कर्माचार्यले पाँचौं विकेटमा ७२ रनको अविजित साझेदारी गरेर वाग्मतीको विजय आधार बनाए ।

हेलिसा गुरुङ १२, कञ्चन श्रेष्ठ ८, अस्मिता खरेल शून्य, सोनु पाख्रिन ३ रनमा आउट भएको अवस्थामा वाग्मती ११ औं ओभरमा ४५–४ को स्थितिमा थियो । यहींबाट यशोदा र कप्तान अस्मिनाको ठोस साझेदारी इनिङ्स सुरु भयो । यशोदा ३९ बल खेल्दै ६ चौकासहित ४७ र अस्मिना ३१ बलमा ३ चौकासहित ३० रन बनाएर अविजित रहे । मधेशबाट पूजा महतोले २ र कप्तान कविता गौतमले १ विकेट लिए ।

मधेशले ५ विकेट गुमाई ८९ रनमात्र बनाउन सक्यो । ओपनर एलिसा यादव ४ रनमै आउट भइन् । पूजाले ४५ बलमा ४ चौकासहित ३५, अनुराधा चौधरीले २८ बलमा ३ चौकासाथ २१ र प्रतिमा शाहले अविजित १५ रन बनाए । प्लेयर अफ द म्याच अस्मिनाले २ र मनीषा उपाध्यायले १ विकेट लिए ।

अर्को खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गर्‍यो । टस जितेको गण्डकीले ४ विकेट गुमाई १ सय २ रन बनायो । अञ्जली विश्वकर्माले ५१ बलमा ४ चौकासहित ३०, श्रृजना पौडलले २३ बलमा ३ चौकासहित १९ रन बनाए । सुमन खतिवडा १८ बलमा ५ चौका प्रहार गर्दै ३३ रनमा अविजित रहे । लुम्बिनीबाट मधु डिसी, सरस्वती पुन र कमला जीएमले १–१ विकेट लिए ।

ओपनर लक्ष्मी चौधरीले ४२ रन बनाएपछि लुम्बिनीले १७ ओभरमै लक्ष्य पूरा गरेको थियो । प्लेयर अफ द म्याच उनले ४४ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरिन् । कप्तान सरस्वती जीएमले १२ रन बनाइन् । गण्डकीले २३ अतिरिक्त रन खर्चेको थियो, त्यसमा २० वाइड थियो । गण्डकीबाट सृष्टि जैसीले २ तथा कुसुम गोदार र सुमनले १–१ विकेट लिए ।

प्रकाशित : पुस ५, २०८० २१:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?