३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

महिला विश्वकपमा नेपाली नजर

धेरैजसो नेपाली खेलाडीले विश्वकपमा पहिलोपल्ट इंग्ल्यान्ड च्याम्पियन भएको हेर्न चाहेका छन्, स्पेनको खेल उत्कृष्ट भएकामा पनि सचेत छन्
राजु घिसिङ

काठमाडौँ — नेपाली राष्ट्रिय महिला फुटबल टिम १९ औं एसियाली खेलकुदको अन्तिम तयारीमा छ । नेपालका खेलाडीलाई आफ्नै खेलको तयारीका लागि पनि अस्ट्रेलिया र न्युजिल्यान्डमा भइरहेको फिफा महिला विश्वकप २०२३ ले तानेको छ । किनभने एक महिनापछि चीनको हाङझाउमा हुने एसियाली खेलकुदमा नेपाली महिला टिमले समूह चरणमा विश्वकपका दुई टिम जापान र भियतनामसँगै साफ च्याम्पियन बंगलादेशविरुद्ध खेल्ने छ । दर्शकको उपस्थिति, लैंगिक समानताको आवाज, खेलकै बढेको स्तरले चर्चामा रहेको महिला विश्वकपको नवौं संस्करणबारे नेपाली नजर :

महिला विश्वकपमा नेपाली नजर

‘इंग्ल्यान्डकी गोलकिपर उत्कृष्ट’

  • एन्जिला तुम्बापो सुब्बा

कप्तान एवं गोलकिपर, नेपाली राष्ट्रिय टिम

मैले महिला विश्वकप हेरेको यसैपालि हो । पहिला वास्ता नै हुँदैनथ्यो । १९ औं एसियाली खेलकुदमा जापानविरुद्ध खेल्नुपर्ने भएकाले पनि यो विश्वकपमा हाम्रो आकर्षण बढेको हो । विश्वकपको प्रदर्शन हेर्दा जापान एकदमै राम्रो लाग्यो । फाइनल पुग्छ जस्तो लागेको थियो तर उसलाई भाग्यले साथ दिएन । भियतनामको खेल पनि हेरें । विश्वकप पुग्नु पनि राम्रो कुरा हो ।

भियतनामले विश्वकपमा बलिया टिमहरूसँग खेल्नुपर्‍यो, त्यस्तो अवस्थामा खेलाडीको मनोबल कमजोर हुन्छ । भियतनामले राम्रै खेल्यो तर नतिजा ठूला टिमकै पक्षमा रह्यो । दशरथ रंगशालामा खेलेको भियतनामलाई हामीले रोक्न सक्छौं जस्तो लाग्छ । बंगलादेश पनि रहेको समूहबाट शीर्ष दुईमा रहेर हामी नकआउटमा पुग्ने सम्भावना देख्छु । फाइनलमा इंग्ल्यान्डलाई समर्थन गर्छु । स्पेन पनि राम्रो टिम हो । स्पेनको पुरुष टिमले खेलेजस्तै शैलीमा महिला टिमले खेलिरहेको छ । मलाई इंग्ल्यान्डकी गोलकिपर मेरी इर्प्सको खेल खुबै मनपर्छ । छोटो समयमा धेरै प्रगति गरेकी उनले विश्वकपमा पेनाल्टी रोक्दै इंग्ल्यान्डलाई फाइनल पुर्‍याउन महत्त्वपूर्ण योगदान गरेकी छन् । युरो २०२२ जित्दा इंग्ल्यान्डले स्पेनलाई क्वाटरफाइनलमा हराएको थियो । त्यसैले विश्वकपको फाइनल इंग्ल्यान्डले जित्छजस्तो लाग्छ ।

‘एसियाडले विश्वकप हेरियो’

  • गीता राना

डिफेन्डर, राष्ट्रिय टिम

फाइनलमा स्पेनलाई समर्थन गर्छु । किनकि स्पेनको खेलमा बल पोजेसन राम्रो छ, वान–टु–वान राम्रो छ । हाम्रो ट्रेनिङ भएकै बेला प्रायः यो विश्वकपको खेल परेको छ । त्यसैले धेरै खेलको प्रत्यक्ष प्रसारण हेर्न पाएको छैन । कहिलेकाहीं त थाकेर खेल हेर्दाहेर्दै निदाइन्छ । अस्ट्रेलियन दूतावासले आयोजना गरेको ‘स्क्रिनिङ’ पनि हामी सबैले हेर्‍यौं, रमाइलो भयो ।

महिला विश्वकप फुटबलमा तेस्रो स्थान हात पारेपछि स्विडेन टिम । शनिबार आयोजक अस्ट्रेलियालाई २–० ले पराजित गर्दै स्विडेन तेस्रो भयो । प्रतियोगिताको फाइनल आइतबार स्पेन र इंग्ल्यान्डबीच स्टेडियम अस्ट्रेलियामा हुनेछ । खेल नेपाली समयअनुसार १५ः४५ बजे हुनेछ । तस्बिर : एपी

महिला विश्वकप पहिला थाहै हुँदैनथ्यो । यसपालि धेरै चर्चा भएको छ । मैले त पहिला फुटबल पनि खासै हेर्ने गरेकी थिइनँ । पुरुषको विश्वकप पनि गत वर्ष (कतार २०२२) मात्रै हेरेकी थिएँ । यसपालि एसियाली खेलकुद (एसियाड) को महिला फुटबलमा नेपाल रहेको समूहमा जापान, भियतनाम भएर पनि हामीले विश्वकप हेरेका हौं । जापान धेरै राम्रो टिम छ । हामीले आफैंलाई हेरेर त कहाँ हो कहाँ भन्ने लाग्छ । भियतनाम यहीं दशरथ रंगशालामा खेलेभन्दा विश्वकपमा राम्रो दखियो । हामीले दुई वर्षअघि फिलिपिन्सविरुद्ध एसियन कप छनोटमा खेलेका थियौं । त्यसबेला हाम्रै गल्तीले हारेका थियौं । अहिले फिलिपिन्स पहिलाभन्दा धेरै राम्रो भएको विश्वकपको प्रदर्शनबाट देखियो ।

‘आमा खेलाडीले साबित गरे’

  • भगवती थापा

पूर्वखेलाडी एवं प्रशिक्षक

यसपालि इंग्ल्यान्डको टिम राम्रो छ । युरो २०२२ च्याम्पियन पनि हो । टिम निकै व्यवस्थित देखिन्छ । सबै खेलाडीले राम्रो गरिरहेका छन् । युरोपियन च्याम्पियन भएको पनि होला खेलाडीहरू उच्च मनोबलका साथ खेलिरहेका छन् । इंग्ल्यान्डले त्यति धेरै दर्शकबीच घरेलु टिम अस्ट्रेलियालाई सेमिफाइनलमा हरायो । प्रशिक्षक सरिना वेगमन छिन् । उनी धेरै राम्रो लाग्छ । महिला कोचले केही गर्नसक्छ भन्ने साबित गरिरहेकी छन् । उनलाई देखेर म आफैं उत्साहित हुन्छु । यो विश्वकप धेरैले हेरेको छ । महिला फुटबललाई विश्वले नै पहिलाभन्दा बढी महत्त्व दिएको छ । विश्वकपका खेल हेर्न अस्ट्रेलिया र न्युजिल्यान्ड जानेको क्रेज बढेको देखियो । रंगशालामै खेल हेर्ने दर्शकको लस्कर छ । खेलको नतिजामा धेरैले चासो दिएका छन् । टेलिभिजिनमै खेलको विश्लेषण आइरहेको छ । महिला खेलाडी आफ्नै नामले चिनिन थालेका छन् । बच्चालाई घरमा छाडेका आमाहरूले विश्वकप खेलेका छन् । अमेरिकी टिममा एलेक्स मोर्गनसहित तीन आमा खेलाडी थिए । अर्जेन्टिना, जर्मनी, फ्रान्स, जमैकाको टिममा आमा खेलाडी थिए । उनीहरूले आमा भएर पनि प्रदर्शन गर्न सकिन्छ, प्रतिस्पर्धा दिन सकिन्छ भन्ने देखाएका छन् । बच्चा जन्माएर विश्वकप खेल्नु सामान्य होइन ।

‘हासेगावा उत्कृष्ट मिडफिल्डर’

  • प्रीति राई

स्ट्राइकर/मिडफिल्डर, राष्ट्रिय टिम

महिला विश्वकप पहिला हेर्दिनँथे, केटाहरूको गेम मात्रै हेर्थें । त्यसैले मैले महिला विश्वकपका खेल हेरेको यसैपालि हो । राम्रै लागिरहेको छ । पेस (गति), स्ट्रेन्थ (बलियो), फिजिकल गेम (शारीरिक खेल) मा केटाहरूको खेल राम्रो हुन्छ ।

एसियाली देश भएकाले विश्वकपमा जापानलाई समर्थन गरेको थिएँ । जापानले राम्रो खेल देखायो । खेलाडीमा जितको मानसिकता प्रस्टै देखिन्थ्यो । उपाधि जित्छ जस्तो लागेको जापानलाई क्वाटरफाइनलमा स्विडेनले २–१ ले हराइदियो । मिडफिल्डर युई हासेगावाको खेल उत्कृष्ट लाग्यो । उनले फाइनल टचहरू खतरनाक गर्थिन् । किलिङ पास, अनपेक्षित अवसर सिर्जना गर्थिन् । जापान बाहिरिएपछि अस्ट्रेलियाले जितोस् भन्ने चाहेकी थिएँ तर अस्ट्रेलिया पनि हार्‍यो । स्पेनले राम्रो प्रदर्शन गरिरहेको छ । तर, फाइनल जसले जिते पनि हुन्छ ।

‘फुटबलमा धेरै परिवर्तन’

  • राजुकाजी शाक्य

महिला फुटबल प्रमुख, एन्फा

महिला विश्वकप पहिला कहिलेकाहीं हाइलाइट्स मात्रै हेरेको थिएँ । यसपालि टेलिभिजनमा धेरै खेल हेर्ने अवसर मिल्यो । जापान, अस्ट्रेलिया, अमेरिका, स्पेनको धेरै खेल हेरें । पहिलाभन्दा धेरै फरक भइसक्यो । फुटबल नै पूर्णतः परिवर्तन भइसक्यो ।

पहिला अमेरिकाले जित्छ, फलाना टिमले जित्छ भन्थ्यो, हुन्थ्यो पनि त्यस्तै । अहिले जसले जसलाई पनि हराउने भएको छ, जुन यो विश्वकपमा देखियो । महिलामा मात्रै होइन, पुरुष फुटबलमा पनि उस्तै परिवर्तन भएको छ । अब कसैलाई सजिलो छैन । जमाना फेरियो । मै हुँ भन्ने टिमले पनि साना वा कमजोर टिमलाई गोल हान्न सजिलो छैन । एसियाली फुटबल बलियो भयो भने त्यसको फाइदा हामीलाई पनि हुन्छ । त्यसैले यो विश्वकपमा एसियाली देश भएकाले जापानलाई समर्थन गरें तर जापान अन्तिम आठबाटै बाहिरियो । भियतनाम र फिलिपन्सको प्रदर्शन भने अझै कमजोर रह्यो । त्यो (विश्वकप) स्तरमा पुग्न धेरै मिहिनेत गर्नुपर्ने देखियो । यसापलि नेदरल्यान्ड्सले राम्रो गरे पनि स्पेनसँग हार्‍यो । सेमिफाइनलमा धेरै राम्रो खेलेको इंग्ल्यान्डलाई फाइनलमा समर्थन गर्छु । तर, कसले जित्छ भन्न सकिँदैन ।

‘ओभर कन्फिडेन्ट अमेरिका’

  • अरुणा गुरुङ

मुख्य प्रशिक्षक (फुटबल), राखेप

इंग्ल्यान्डले सेमिफाइनलमा राम्रो खेलेरै अस्ट्रेलियालाई हरायो । म इंग्ल्यान्डलाई समर्थन गर्छु । उसैले विश्वकपको उपाधि जित्छजस्तो लाग्छ । टिममा हुनुपर्ने सबै पक्षमा राम्रो छ । टिमवर्क र टिम स्पिरिट सबैभन्दा बलियो पक्ष हो । गोलकिपर मेरी कन्फिडेन्ट छिन् । युरो २०२२ विजेता भएकाले खेलाडीको मनोबल पनि उच्च छ ।

हाम्रो टिम (नेपाल) एसियाली खेलकुदको तयारीमा छ । विश्वकपको खेल भएकै बेला ट्रेनिङ पर्छ । मौका पाएको खेल हेरेकी छु । पहिलाको विश्वकपमा पनि हाइलाइट्स हेर्ने गरेकी थिएँ । यसपालि जापान राम्रै थियो, उपाधि जित्छ कि जस्तो लागेको थियो, दुर्भाग्य भएजस्तो लाग्यो । राम्रो खेलेर पनि हार्‍यो । विश्वकपमा यस्तै हुन्छ । अस्ट्रेलिया उत्कृष्ट प्रदर्शन गर्दै पहिलोपल्ट सेमिफाइनल पुग्यो । तर, उसले इंग्ल्यान्डविरुद्ध खेल्नै सकेन । साम केर धेरै राम्रो खेलाडी हुन् । विश्वकपको सुरुआती खेलमा उनी घाइते भएको घाटा अस्ट्रेलियालाई भयो । यसअघि लगातार दुईपल्ट च्याम्पियन भएको अमेरिका ओभर कन्फिडेन्ट भएकाले हारेजस्तो लाग्छ । महिला फुटबलमा सबै टिम राम्रो हुँदै आइरहेको छ ।

प्रकाशित : भाद्र ३, २०८० ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?