२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७५४

स्पोर्ट्स अवार्डको छिनोफानो शनिबार

अनिश भट्टराई

गण्डकी — सातौं पोखरा स्पोर्ट्स अवार्ड शनिबार हुँदै छ । अवार्डका सात विधामध्ये २ विधाका विजेताको नाम सार्वजनिक भइसकेको छ । लाइफटाइम एचिभमेन्ट अवार्ड बक्सिङका प्रशिक्षक विद्याप्रसाद मर्सानीलाई प्रदान गरिने भने उत्कृष्ट खेल संस्थामा कास्की जिल्ला ह्यान्डबल संघ पुरस्कृत हुनेछ ।

स्पोर्ट्स अवार्डको छिनोफानो शनिबार

अरू विधामा अहिलेसम्म विजेता टुंगो नलागे पनि आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक गरिसकेको छ । अवार्डका विधामा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफटाइम अचिभमेन्ट अवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेलकुद संस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकार विधा छन् । वर्ष खेलाडी पुरुष र महिलाले इलेक्ट्रिक स्कुटर पाउने छन् भने अरू विधाका विजेताले जनही ३५ हजार पाउनेछन् ।

उत्कृष्ट वर्ष खेलाडी (पुरुष)

उत्कृष्ट वर्ष खेलाडी (पुरुष) को मनोनयनमा राष्ट्रिय क्रिकेट टोलीका करण केसी, आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदीप खड्का छन् । केसी नेपाली क्रिकेट टीमका अलराउण्डर हुन् । राष्ट्रिय टिमबाट ४० एकदिवसीय खेल खेलिसकेका उनले ६१ विकेटका साथ ३१४ रन जोडेका छन । टी–२० मा ४३ खेलमा उनले २८९ रन बनाउनुका साथै ६० विकेट आफ्नो नाममा दर्ता गरेका छन् । नेपालले विश्वकप लिग २ मा तेस्रो स्थान हासिल गर्दा केसीको उत्कृष्ट प्रदर्शन थियो । उनले लिग २ का ३० खेलमा ५० विकेट हात पारेका थिए ।

भारतीय सेनामा कार्यरत गंगाबहादुर आर्चरीका उम्दा खेलाडी हुन् । नवौं राष्ट्रिय खेलकुदमा गण्डकी आर्चरीमा पहिलो हुँदा उनले ३ स्वर्ण जितेका थिए । उनले व्यक्तिगत रिकर्भ, रिकर्भ पुरुष टोली र रिकर्भ मिक्स टिममा स्वर्ण जितेका थिए ।

टेनिसमा १५ वर्षको करियर पूरा गरिसकेका प्रदीप पनि यस वर्ष उत्कृष्ट खेलाडीको मनोनयनमा छन् । उनले नवौं राष्ट्रिय खेलकुदमा ३ स्वर्ण पदक जितेका थिए । दोस्रो वीर गणेशमान सिंह राष्ट्रिय खुला टेनिसको सिंगलतर्फको विजेता उनले १९ औं माछापुच्छे बैंक ओपन एन्ड भेट्रान्स टेनिसमा सिंगल्स र डबल्समा उपाधि जितेका थिए ।

उत्कृष्ट वर्ष खेलाडी (महिला)

उमेरले २० वर्षमात्र पुगेकी बागलुङकी सुस्मिता थापामगरले राष्ट्रिय खेलुकदमा ५ पदक जितिसकेकी छन् । आईटीएफ तेक्वान्दो खेल्न थालेको ५ वर्षमै उनले आठौं र नवौं राष्ट्रिय खेलकुद गरी दुई संस्करणमा दुई स्वर्ण र तीन रजत जितेकी छन् । उमरेले सानै भए पनि सुस्मिता खेलमा परिपक्व छन् । यही परिपक्वता र खेल कौशलका कारण उनी सातौं पोखरा स्पोर्ट्स अवार्डमा महिला वर्ष उत्कृष्ट खेलाडीको मनोनयनमा परेकी छन् ।

सुस्मितासँगै यस मनोनयनमा उनकै जिल्लावासी रोजिना थापामगर छन् । २१ वर्षीया उनले २०७२ सालदेखि आर्चरी खेल्न सुरु गरेकी हुन् । खेल्न थालेको एक वर्षमै उनले २०७३ मा आयोजित राष्ट्रिय आर्चरी प्रतियोगितामा स्वर्ण पदक हात पारिन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उनले दुई स्वर्ण हात पार्न सफल भइन् ।

यस्तै मनोनयनमा नेपाली महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी पनि छन् । २०७० सालबाट फुटबल खेल्न सुरु गरेकी उनले सोही वर्ष राष्ट्रिय टिममा डेब्यु गरिन् । त्यसपछि हालसम्म गरि उनले देशको प्रतिनिधित्व गदै एक दर्जन अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइ सकेकी छिन् । वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्ने छन् ।

उदीयमान खेलाडी

उदीयमान खेलाडीको मनोनयनमा भलिबलका रवि केसी, फुटबलका सुमीत श्रेष्ठ र क्रिकेटका सुवास भण्डारी छन् । २३ वर्षमुनिको राष्ट्रिय भलिबल टोलीका सदस्य रवि केसी गण्डकीमा चर्चामा रहन्छन् । दोस्रो संस्करणको टाइगर कप आमन्त्रित भलिबल प्रतियोगिताबाट गण्डकीको टोलीमा समेटिएका केसी तेस्रो संस्करणमा उत्कृष्ट खेलाडी बन्दै गण्डकीलाई उपाधि जिताउन सके । भर्खरै यू २३ टोलीमा अटाएका केसी बंलादेशमा भएको बंगबन्धु एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप पनि खेलिसकेका छन् ।

यस्तै मनोनयनमा नेपाली राष्ट्रिय फुटबल टोलीमा डेब्यु गरेका सुमीत श्रेष्ठ पनि छन् । मनाङ मर्स्याङ्दी क्लबबाट ए डिभिजन लिग खेलिरहेका श्रेष्ठ एन्फाले आयोजना गरेको फुटसल लिगपछि चर्चामा आएका हुन् । हाल राष्ट्रिय सिनियर टिमबाट खेलिरहेका उनले थ्रिनेसन्स कपमा स्वर्ण समेत हात पार्न सफल भए । उनले थ्रिनेसन्स कपमा स्वर्ण, नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कास्य, पदक हासिल गरे ।

बागलुङका सुवास नेपाली यु १९ क्रिकेट टोलीका सदस्य हुन् । हालै नेपालले यु १९ विश्वकप क्रिकेटमा स्थान बनाउँदा सुवासको प्रदर्शन उल्लेख्य रहृयो । विश्वकप छनोटमा उनले ५ खेल खेले । ५ खेलमा सुवासले ७ विकेट लिन सके ।

उत्कृष्ट प्रशिक्षक

यस विधामा आर्चरीका किशोरकुमार गुरुङ, टेनिसका नीरज थापा र आइटिएफ तेक्वान्दोका सुरज सुनार मनोनयनमा परेका छन् । गुरुङको प्रशिक्षणमा नवौं राष्ट्रिय खेलकुदमा गण्डकीले १३ पद जितेको थियो । सिंगापुर पुलिस फोर्समा रहँदा आर्चरी सिकेका गुरुङ सन् २००४ मा नेपाल आएपछि खेल सिकाएका थिए ।

पोखरामा ‘रसियन गुरु’ नामले चिनिएका टेनिसका नीरज थापाको प्रशिक्षणमा गण्डकीले नवौं राष्ट्रिय खेलकुदमा ३ स्वर्ण र २ कास्य जित्न सक्यो । हाल नेपालका नम्बर वान रहेका टेनिस खेलाडी प्रदीप खड्का पनि उनकै उत्पादन हुन् ।

सुरज सुनारको प्रशिक्षणमा रहेको गण्डकी प्रदेशका आइटीएफ तेक्वान्दो खेलाडीहरुले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा १४ वटा पदक दिलाउँदा यो प्रदेशलाई सर्वाधिक मेडल दिलाउने खेल आइटीएफ तेक्वान्दो बन्यो । सुनारले २०६० सालबाट खेलाडीका रुपमा यो खेल सुरु गरेका हुन् ।

निसिमलाई कीर्तिशेष पुरस्कार

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत प्याराग्लाइडिङका क्रममा दुर्घटनामा परी निधन भएका निसिम थापालाई कीर्तिशेष पुरस्कार दिइने भएको छ । नवौंमा त्रिभुवन आर्मी क्लबबाट खेलेका थापा क्रसकन्ट्री प्याराग्लाइडिङ खेल चल्दा दुर्घटनामा परेका थिए । उनको प्यारासुट आकासबाट सराङकोटमा बजारिँदा मृत्यु भएको थियो । उनकै सम्मानमा मञ्चले कीर्तिशेष पुरस्कार दिन लागेको मञ्चका महासचिव राजाराम पौडेलले जनाए ।

प्रकाशित : वैशाख २१, २०८० २१:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?