२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

‘लिभरपुल अझै जीवन्त छ’

रोयटर्स

लिभरपुल — भन्न सुरु भएको थियो, इंग्लिस फुटबलको शक्ति लिभरपुलबाट म्यानचेस्टर युनाइटेडतर्फ बगेको छ । तर आइतबार यो सिद्धान्त नराम्रोसँग धराशायी भयो । जतिबेला योगर्न क्लोप व्यवस्थापक भएर सन् २०१५ लिभरपुल छिरे, उनीसामु युनाइटेड पछाडि नै रह्यो ।

‘लिभरपुल अझै जीवन्त छ’

लिभरपुलले इंग्लिस प्रिमियर लिग मात्र जितेन, दुई घरेलु इंग्लिस कपसँगै युरोपेली च्याम्पियन्स लिग पनि जित्यो । तर, लिभरपुलमा क्लोपको सुनौला दिन कम्तीमा अहिले रहेन ।

उता व्यवस्थापकमा एरिन टेन हाग आएपछि युनाइटेडको दिन फर्केको छ । त्यसैले त युनाइटेडले सन् २०१७ यता उपाधि जितेको थियो, त्यो पनि गत साता मात्रै लिग कप । एक प्रकारले युनाइटेड पुराना दिनतर्फ फर्कन थालेको अनुभव हुन थालेको थियो । आइतबार यिनै सबै पृष्ठभूमिबीच भएको खेलमा लिभरपुलले युनाइटेडलाई ७–० ले हरायो । फूर्तिलो देख्न खोजिरहेको युनाइटेडका लागि यो वास्तवमै लज्जास्पद हार थियो ।

यो नतिजाले दुई थोक निश्चित गरेको छ । पहिलो, अब कम्तीमा युनाइटेड लिग उपाधिको होडबाट बाहिरिएको छ । अर्कोतर्फ लिभरपुल भने शीर्ष चार नजिक पुगेको छ । सिजनको सुरुसम्म कसैले लिभरपुल शीर्ष चारमा पर्छ भन्दा त्यो हाँसोको विषय हुन सक्थ्यो । अझ भन्न कर लाग्छ, लिभरपुल अझै जीवन्त छ । एनफिल्डमा युनाइटेडलाई हराएयता क्लोपको मुखमा रोकिने कुनै छाँटै नभएको हाँसोमात्र थियो । घरेलु दर्शकका त झन के कुरा, सब मस्त थिए ।

युनाइटेडमाथि इतिहासकै सबैभन्दा ठूलो जित रचेपछि पत्रकार सम्मेलनमा क्लोपले भने, ‘हाम्रो प्रदर्शन उच्च रह्यो, तर यो अविश्वसनीय नजिता नै रह्यो । बिरलै जुर्ने जितको अन्तर ।’ लिभरपुलको त्यस जितमा मोहम्मद सलाह, कोडी गाक्पो र डारविन नुनेजले समान दुई गोल गरे । अनि खेलको अन्त्यतिर रोबर्टो फिर्मिनो पनि एक गोल गर्न चुकेनन् । क्लोप पनि मान्छन्, दोस्रो हाफमा लिभरपुललाई रोकिसक्नुको अवस्था थिएन, टिमको प्रदर्शन उडानमा हुन्छ भने उसलाई रोक्ने को ? अब त लिभरपुलले लिगका पछिल्ला ५ खेलमध्ये चारमा जित निकालेको छ । त्यसअगाडि चार खेलमध्ये तीनमा लिभरपुल पराजित थियो । कम्तीमा लिभरपुलले युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ मा रियल म्याड्रिडलाई पन्छाउन सक्ने छैन, किनभने स्पेनी प्रतिद्वन्द्वीसँग ५–२ ले पछाडि छ । लिभरपुल फेरि पुरानै लयमा फर्केको पनि देखिन्छ । क्लोप के पनि मान्छन् भने लामो समयपछि लिभरपुलको प्रदर्शन अब्बल दर्जाको हुन थालेको छ ।

लिभरपुल अर्को साता बर्नमाउथको भ्रमणमा निस्कने छ । आफ्नो दक्षिण तटीय प्रतिद्वन्द्वीलाई लिभरपुलले सिजनको सुरुमै एनफिल्डमा भएको खेलमा ९–० ले हराएको थियो । लिग तालिकाको चौथो स्थानमा रहेको टोटेनहम र लिभरपुलबीच ४ अंकको अन्तरमात्र छ । टोटेनहमको तुलनामा लिभरपुलले एक खेल कम खेलेको छ । क्लोप थप्छन्, ‘सबैले यो तथ्य बुझ्न महत्त्वपूर्ण हुनेछ । हामी यहीं छौं, कतै गएका छैनौं, जीवन्त छौं ।’

प्रकाशित : फाल्गुन २३, २०७९ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?