जनकपुर प्ले अफ नजिक

काठमाडौँ — जनकपुर रोयल्सले नेपाल टी–ट्वान्टीमा सोमबार फार वेस्ट युनाइटेडलाई ८२ रनले पराजित गर्दै प्रतियोगिताको प्ले–अफ नजिक पुगेको छ । यो जितपछि जनकपुर १० अंकसहित दोस्रो स्थानमा रह्यो ।

पराजित फार वेस्ट भने दुई अंकमै सीमित रहेर पुछारमा छ । टीयू क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको जनकपुरलले सात विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो ।
त्यसमा सन्दीप जोराले ३२ बलमा ५५ रन बनाए । उनले एक चौका तथा पाँच छक्का प्रहार गरे र ‘प्लेयर अफ द म्याच’ पनि घोषित भए ।
जवाफमा फार वेस्ट फेरि एकपटक खराब ब्याटिङको शिकार बन्यो र १५.१ ओभर मात्र टिकेर अलआउट भयो । कप्तान हसमतुल्लाह साहिदीले ३२ बलमा बनाएको ३२ रन नै उच्च व्यक्तिगत स्कोर रह्यो । फार वेस्टले नियमित अन्तरमा विकेट गुमाएको थियो र कुनै पनि उल्लेखनीय साझेदारी गर्न सकेन ।
प्रकाशित : पुस १८, २०७९ १६:४९