२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

नाउपाको विवादले सुदूरपश्चिम सरकार गठनमा किचलो

एकपछि अर्कोलाई सांसद पदबाटै कार्बाही
अर्जुन शाह

धनगढी — मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखले आह्वान गरेको अन्तिम समयसीमा नजिकिँदै गर्दा शुक्रबारसम्म सुदूरपश्चिम प्रदेशसभामा रहेका कुनै पनि दलका प्रदेश सभा सदस्यले दाबी पेस गर्न सकेका छैनन् ।

नाउपाको विवादले सुदूरपश्चिम सरकार गठनमा किचलो

सरकार गठनमा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा)मा लामो समयदेखि चलिरहेको आन्तरिक किचलोकै कारण नयाँ सरकार गठन कार्य निष्कर्षमा पुग्न सकेको छैन । पछिल्लो समयमा पार्टी संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता चौधरी समूहबीचको विवाद झन्झन् गहिरिँदै गएकोले प्रदेश सरकार गठनको अन्योलता नहटेको हो ।

प्रदेश प्रमुख नजिर मियााले चैत २३ गते प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थन जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई दश दिनको म्याद दिएर आउँदो आइतबार अपरान्ह्र ५ बजेसम्म समय दिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन् ।

लामो समय दिएको भएपनि सात दिन खेर गइसके । शुक्रबार आठौं दिनमा पनि कसैले पनि मुख्यमन्त्रीमा दाबी पेस गर्न सक्ने छाँटकाँट देखिएको छैन । अर्थात, अहिलेसम्म सुदूरपश्चिममा मुख्यमन्त्री को र कुन दलको हुने भन्ने यकिन भइसकेको छैन ।

प्रदेश प्रमुखको कार्यालयद्वारा मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएकाले संविधानको धारा १६८ (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न भनिएको छ ।

यसअघि संविधानको धारा १६८ (३) बमोजिम प्रदेश सभामा सबैभन्दा ठूलो दलको हैसियतमा नियुक्त कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहलाई सत्ता साझेदार दलहरुले समर्थन फिर्ता लिएकाले बहुमत नपुग्ने अवस्था भएर राजीनामा दिएपछि धारा १६८ (२) मा फर्काएर प्रक्रिया सुरु गरिएको थियो ।

प्रदेश प्रमुखबाट मुख्यमन्त्री नियुक्ति प्रकृया सुरु गरेसँगै एकीकृत समाजवादीले मुख्यमन्त्रीका लागि अग्रसरता लिएको देखिएपनि नागरिक उन्मुक्ति भित्रको किचलो झन्झन् गहिरिँदै गएकाले मुख्यमन्त्रीमा दाबी पेस तथा सरकार गठनको अन्योलता यथावत रहेको हो ।

केन्द्र तहमा नवगठित सत्ता समीकरणका शीर्ष नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यसअघि नै सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने समझदारी गरेपछि यहाँ एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारी दाबी पेस गर्न अग्रसर भएका थिए ।

तर, सरकार गठनका लागि निर्णायक रहेको तर आन्तरिक किचलोमा फसेको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिममा आफ्नो पार्टीको मुख्यमन्त्रीको दाबी कसिलो बनाएपछि एकीकृत समाजवादीका सोडारी पनि अन्योलमा छन् । ‘सुदूरपश्चिममा हाम्रो पार्टीबाट मुख्यमन्त्री हुनुपर्छ,’ अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले भनिन् ।

अध्यक्ष श्रेष्ठ पक्षधर नागरिक उन्मुक्तिका नेता कार्यकर्ताहरुका अनुसार उनले सांसद कैलाश चौधरीलाई मुख्यमन्त्रीमा अग्रसर हुन भनेकी छिन् । अध्यक्षकै आश्वासन अनुसार कैलाश चौधरी आफू मुख्यमन्त्री हुनेमा उत्साहित छन् ।

पार्टीका संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता समूहबीच विवाद बल्झिँदा प्रभावशाली देखिएकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिममा मुख्यमन्त्री दाबीगर्दै गर्दा उनलाई अरुबाट होइन, आफ्नै पक्षधरहरुबाट बाधा छ । सात सांसद रहेको नागरिक उन्मुक्तिमा संसदीय दलका नेता रहेका घनश्याम चौधरीसहित पाँच जना सांसद अध्यक्ष श्रेष्ठको विपक्षमा उभिएका थिए । सांसद कैलाश चौधरी र टीका थापाले मात्र उनलाई साथ दिए ।

आफ्नै पार्टीका सांसदहरुबाट भइरहेको बाधा पन्छाउने कदमस्वरुप उनले केही दिनअघि आफ्ना निर्देशनहरुको अवज्ञा गरेको आक्रोशमा अध्यक्ष चौधरीले राज्यमन्त्रीसमेत रहेकी समानुपातिक सांसद इन्दिरा गिरीलाई सभामुखलाई पत्र पठाएर सांसद पदबाट बर्खास्त गराइसकेकी छिन् ।

अध्यक्ष श्रेष्ठले शुक्रबार अर्को कठोर कदम चालेकी छिन् । यसअघि संसदीय दलका नेता एवं आर्थिक मामिला मन्त्रीसमेत रहेका घनश्याम चौधरीलाई उनले पार्टी विधानको प्रावधान उल्लेख गर्दै तीन महिनाका लागि निलम्बन गरिएको पत्र सभामुखलाई दिएकी छिन् । त्यसअघि अध्यक्ष श्रेष्ठले उनै घनश्याम चौधरीलाई दलको नेताबाट बर्खास्त गरेको पत्र सभामुखलाई पठाएकी थिइन् । त्यसबेला कैलाश चौधरीलाई दलको नेता तोकेको पत्र सभामुखलाई पठाएकी थिइन् । बिहीबारसम्म दलको नेता घनश्याम या कैलाश को हो भन्ने विवाद कायम रहेकै अवस्थामा शुक्रबार घनश्याम चौधरीलाई सांसद पदबाटै निलम्बन गरिएको पत्र पठाइएपछि परिस्थिति जटिल बनेको छ ।

अध्यक्ष श्रेष्ठ आफ्नो विपक्षमा लाग्ने नेता तथा सांसदहरुप्रति निर्मम बन्दै गएको भएपनि सांसदहरु घनश्याम चौधरी, लक्ष्मणकिशोर चौधरी, रामेश्वर चौधरी, खुसीराम डगौरा थारु भने रेशम पक्षबाट टसका मस भएका थिएनन् । उनीहरु सबै मन्त्री छन् र रेशम चौधरीको समूहमा अडिग छन् ।

बिहीबार कैलाश चौधरीलाई मुख्यमन्त्रीमा सार्ने चर्चा चलाइएपछि उनीहरुले काउण्टरमा हाल सामाजिक विकास मन्त्री रहेका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेका छन् । ‘लक्ष्मण किशोर चौधरीलाई बहुमत सांसदको समर्थनमा मुख्यमन्त्रीमा अगाडी सार्ने निर्णय भएको छ’ रेशम पक्षधर एक केन्द्रीय सदस्यले भने । मन्त्री चौधरीले पनि निर्णय भएको स्वीकार गरे ।

तर यता, अध्यक्ष श्रेष्ठ पक्षधर नेता तथा सांसदहरु भने त्यो स्वीकार्ने पक्षमा छैनन् । मुख्यमन्त्रीका आकांक्षी कैलाश चौधरीले भने ‘त्यो झुटा कुरा हो । पार्टीले गर्ने निर्णय नै अन्तिम हुन्छ ।’ त्यही सम्भावित जोखिमको आकलन गरेर अध्यक्ष श्रेष्ठले शुक्रबार घनश्याम चौधरीलाई सांसद पदबाटै निलम्बन गरेकी हुन् ।

आफ्नो पार्टीभित्रको जटिल अवस्थामा सरकार गठनका लागि अध्यक्ष श्रेष्ठले कैलाश चौधरीलाई नै दलको नेता तोकिसकेको अवस्थामा उनलाई नै पत्र लिएर प्रदेश प्रमुख समक्ष दाबी पेस गर्न पठाउने तयारी गरेको स्रोतको भनाई छ ।

तर घनश्याम चौधरी निलम्बन भएको अवस्थामा पनि कूल पाँच जना सांसद रहेकामा तीन जना भने शुक्रबार मध्यान्ह्रसम्म रेशम पक्षमै अडिग देखिएको नेता कार्यकर्ताहरु बताउँछन् । धारा १६८ (२) अनुसार मुख्यमन्त्री दाबी पेस गर्ने सांसदले समर्थन गर्ने सम्बन्धित दलको संसदीय दलको नेताको हस्ताक्षरका आधारमा पनि मुख्यमन्त्री नियुक्त गर्नसक्ने अभ्यास छ ।

अहिले नवगठित सत्ता गठबन्धनमा एमालेका १०, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्तिका ५ (घनश्याम चौधरी निलम्बन भएको अवस्थामा), एकीकृत समाजवादीका ४ सांसद छन् । सरकार गठनका लागि २७ सांसदको आवश्यकता छ । तर अबको दुई दिनभित्र नागरिक उन्मुक्तिभित्रको बखेडाले कुन रुप लिन्छ त्यसैमा प्रदेश सरकार गठनको भविष्य निर्धारण हुनेछ ।

नागरिक उन्मुक्तिमा एकातिर मुख्यमन्त्रीमा दाबी, अर्कोतिर आन्तरिक बखेडाले कुन रुप लिन्छ भन्ने कुराले धेरै कुराको निर्धारण गर्ने एमाले, माओवादी र एकीकृत समाजवादीका सांसदहरुको बुझाई छ । ‘अहिलेसम्म कुनै पनि दलबीच सामूहिक छलफल हुन सकेको छैन,’ माओवादी केन्द्रका सांसद शिवसिंह ओलीले भने ।

यता, प्रदेश सरकार सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भने अहिल आव्ह्रान भएको १६८ (२) अनुसार सरकार गठन हुन नसकेमा पुनः १६८ (३) बमोजिम आफ्नै नेतृत्वमा सरकार गठन हुने दाउमा देखिएको छ ।

प्रकाशित : चैत्र ३०, २०८० १४:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?