२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४९

किसानलाई पावर टिलर हस्तान्तरण

मोहन शाही

डोटी — आधुनिक कृषि प्रणाली अपनाउन चाहने कृषकहरुलाई के.आई.सिंह गाउँपालिकाले मिनी पावर टिलर हस्तान्तरण गरेको छ । 

किसानलाई पावर टिलर हस्तान्तरण

५० प्रतिशत अनुदानमा पालिकाले ९ कृषक तथा २ वटा समूहका लागि ११ वटा पावर टिलर हस्तान्तरण गरेको हो । गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले व्यावसायिक रुपमा खेती किसान गर्न चाहने किसानहरुलाई प्रोत्साहन गर्न उपकरणहरु उपलब्ध गराएको बताए ।

गाउँपालिका अध्यक्ष शाही र उपाध्यक्ष मिनादेवी विष्टले संयुक्त रुपमा औपचारिक कार्यक्रम गरी पावर टिलर किसानहरुलाई हस्तान्तरण गरेका थिए । पावर टिलर पाएपछि के.आई.सिंह गाउँपालिका वडा नं. ३ का बहादुर बडैलाले खेतबारी जोत्न सहज हुने बताए । ‘गोरुले खेत जोत्न असाध्यै मिहिनेत गर्नुपर्थ्यो,’ बडैलाले खुसी व्यक्त गर्दै भने, ‘अब खेतबारीमा एक्लैले खनजोत गर्न सजिलो हुने आशा छ ।’

के.आई.सिंह गाउँपालिकाका कृषि शाखा प्रमुख यज्ञ रावलले ७ हर्सपावरको मिनी पावर टिलर बुधबार नौ जनालाई हस्तान्तरण गरिएको जानकारी दिए । बाँकी अर्को दिन हस्तान्तरण गर्ने योजना छ । रावलका अनुसार एउटा पावर टिलरको ७५ हजार मूल्य परेको छ । जसमा ५० प्रतिशत पालिका तथा ५० प्रतिशत कृषकहरुको लगानी रहेको छ ।

पावर टिलर पाउनेमा वडा नं. २ का झकेन्द्र बम, वडा नं. २ का योगेन्द्र माझी, वडा नं. ३ का बहादुर बडैला, चक्रबहादुर कुँवर, वडा नं. ४ का कृष्णबहादुर कुँवर, झिमे मालिका मावि, गणेश कार्की, वडा नं. ५ का धनबहादुर राणा, वडा नं. ६ रामबहादुर बलायर, वडा नं. ७ को चौड कृषक समूह रहेका छन् ।

अनुदानका लागि आवेदन माग गरेका ११ वटै व्यक्ति तथा समूह छनोटमा परेको गाउँपालिकाले जानकारी दिएको छ । के.आई.सिंह गाउँपालिकाले चालु आर्थिक वर्षमा ७५ प्रतिशतमा धानको बिउ, ५० प्रतिशत आलु तथा शतप्रतिशत अदुवाको बिउमा अनुदान दिएर वितरण गरेको छ ।

प्रकाशित : चैत्र २८, २०८० १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?