२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१०

डोटीमा टोलस्तरमा छलफल गर्दै कांग्रेस

मोहन शाही

डोटी — जनप्रतिनिधि र पार्टी नेतृत्वको चर्को आलोचना हुन थालेपछि डोटीमा नेपाली कांग्रेस बस्तीस्तरमा छिरेको छ । कार्यकर्ता एवम् पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुको मनोभावना बुझ्ने भन्दै पालिकास्तरका लागि छुट्टा-छुट्टै टोली बनाएर बस्तीस्तरमा नेताहरुलाई खटाइएको जिल्ला सभापति नरेन्द्र बहादुर सिंहले जानकारी दिए । 

डोटीमा टोलस्तरमा छलफल गर्दै कांग्रेस

९ मध्ये ७ पालिकामा निर्वाचन जितेको कांग्रेस लामो समयपछि बस्तीस्तरमा प्रवेश गरेको हो । चैत २० गतेबाट जिल्ला तहका सबै नेताहरु बस्ती बस्तीमा खटाइएको पार्टी सचिव नारायण बलायरले बताए । जिल्लाका शीर्ष नेताहरुको नेतृत्वमा प्रदेश सदस्य, महाधिवेशन प्रतिनिधिहरुको अनिवार्य सहभागिता रहने गरी टोली खटाइएको छ ।

पूर्बीचौकी गाउँपालिकामा सभापति नरेन्द्र बहादुर सिंह, दिपायल सिलगढी नगरपालिकामा महासमिति सदस्य लक्ष्मण बहादुर सिंह, सायल गाउँपालिकामा महासमिति सदस्य जीत बहादुर खड्का, आदर्श गाउँपालिकामा पूर्व सांसद यज्ञराज पाठक, शिखर नगरपालिकामा पार्टी सचिव नारायण बलायर, के.आई.सिंह गाउँपालिकामा पार्टी उपसभापति नारायण जोशी, बोगटान फुड्सिल गाउँपालिकामा महासमिति सदस्य सिताराम जोशी, बडीकेदार गाउँपालिकामा संबिधानसभा सदस्य तथा पूर्ब प्रदेश सांसद भरत बहादुर खड्का र जोरायल गाउँपालिकामा महासमिति सदस्य धौलीदेवी रावलको नेतृत्वमा अभियान संचालन हुने पार्टीले जनाएको छ ।

‘जनप्रतिनिधि र पार्टीप्रति विभिन्न अपेक्षासहित टिकाटिप्पणी कार्यकर्ताहरुबाट भइरहेको थियो,' पार्टी सचिव बलायरले भने, ‘यथार्थ के हो भनेर मनोभावना बुझ्न जनतासंग भेटघाट, छलफल र मनोभावना बुझ्ने कार्य भइरहेको छ ।’ भेटघाटसंगै पार्टीको दृष्टिकोण, आगामी रणनितिबारे प्रशिक्षण समेत भइरहेको उनले बताए ।

पार्टीभित्र कार्यकर्ता र नेतामाझ भएका मनमुटाव एवम् तित्तता बुझ्ने, जनप्रतिनिधिहरुका भूमिकाबारे गहनरुपमा समिक्षा भइरहेको पार्टीका उपसभापति नारायण जोशीले बताए । उनले बस्तीस्तरको भेटघाटपछि जिल्लास्तरमा समिक्षा हुने उनले बताए। ‘लिखितरुपमै पालिकास्तरको प्रतिवेदन टोलीले ल्याउने छ’, उप सभापति जोशीले भने, त्यसमाथि जिल्लास्तरमा छलफल भएर थप रणनिती बनाउने योजना छ ।’

प्रकाशित : चैत्र २५, २०८० १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?