२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१५

सिन्दुरे रोगको संक्रमण बढ्दा किसान चिन्तित

मोहन शाही

डोटी — किसानले लगाएको गहुँबालीमा पहोलो सिन्दुरे रोगको संक्रमण बढ्दै गएपछि सूदूरपश्चिमको पहाडी जिल्लाका किसानहरु चिन्तित हुन थालेका छन् । किसानहरुले रोग नियन्त्रणका लागि सरकारी तहबाट बेवास्ता गरिएको आरोप लगाएका छन् । सुख्खा मौषमका कारण गहुँबाली उत्पादन नहुने आशंकाले त्रसित किसान पछिल्लो समय सिन्दुरे रोगको संक्रमण तीव्ररुपमा फैलँदै गएपछि अत्तालिएका छन् ।

सिन्दुरे रोगको संक्रमण बढ्दा किसान चिन्तित

गहुँको पातको माथिल्लो सतह पहेंलो हुने, लाम्चिला फोकाहरु उठ्ने तथा पातमा एक अर्कासँग धर्साहरु मिलेर बसेको जस्तो लक्षण देखिने गरेको केआईसिंह गाउँपालिका वडा नं. ६ का भरत बहादुर सिंहले दुखेसो गरे । ‘खेतका पुरै गहुँ पहेला भएका छन्, रोग अझै नियन्त्रण भएको छैन’, सिंहले दुखेसो गरे, ‘मेहनत गरी लगाएको बाली फल्ने बेला रोगले मर्न थाले ।’ विशेष गरी स्थानीय प्रजातीका गहुँबालीमा यो रोगले बढी संक्रमण गरिरहेको किसानहरु बताउँछन् ।

सरकारी तहबाट यथाशीघ्र नियन्त्रणका लागि पहल हुनुपर्ने माग किसानहरुको छ । तीन वटै तहका सरकार जिम्मेवारीबाट पछि हट्न थालेको अरोप किसानहरुको छ । ‘सरकारले कहिले बिषादी दिन्छ, कर्मचारी खटाउँदैन कहिले कर्मचारी आउँछन् बिषादी आउँदैन’, दिपायल सिलगढी नगरपालिका-८ नारीका किसानले निरास हुँदै भने, ‘फाँटका फाँट रोगले सखाप पारेको छ । सरकारले जिम्मेवारीबोध गरेको छैन । छाती पिटेर रुनुको विकल्प छैन ।’

सिन्दुरे रोगको संक्रमण बढ्दै गएकाले गहुँ उत्पादनमा यस वर्ष ह्रास आउने सुदूरपश्चिम कृषि विकास निर्देशनालय राजपुरका निर्देशक यज्ञराज जोशीले बताए । जोशीका अनुसार गत वर्षबाट गहुँबालीमा रोग संक्रमण सुरु भएपनि यस वर्ष सदूरपश्चिमका पहाडी जिल्लाहरुमा तीव्र गतिमा फैलिरहेको छ । यद्यपि सरकारले यसको संक्रमणबाट प्रभावित किसानहरुको विवरण भने संकलन गर्न सकेको छैन ।

ओसिलो, नदी तथा पहाडका खोँच एवम् हावा बहन नसक्ने क्षेत्रमा रोग तीव्र फैलिरहेको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गंगादत्त अवस्थीले बताए । उनले रोगबारे अनुसन्धानका लागि नार्क काठमाडौंको टोली झिकाएर समेत नमुना संकलन गरिसकिएको जानकारी दिए । ‘रोग नियन्त्रणका लागि पालिकाहरुलाई बिषादी उपलब्ध गराइसकेका छौं,’ ज्ञानकेन्द्र प्रमुख अवस्थीले भने, ‘रोग संक्रमण क्षेत्र फैलदै गएकाले यताबाट दिएको विषादी पर्याप्त हुन्न, पालिकाहरुले पनि आफू खरिद गरेर नियन्त्रणका लागि जुट्नु पर्छ ।’


अवस्थीका समयमै रोग नियन्त्रण गर्न नसके ५० प्रतिशत उत्पादनमा कमी आउनसक्ने अनुमान गरे । केआईसिंह गाउँपालिका, दिपायल सिलगढी नगरपालिका र पूर्वीचौकी गाउँपालिकामा यो रोग बढी फैलिएको छ ।

यस वर्ष समयमै पानी नआउँदा लेकाली क्षेत्रमा सुख्खाका कारण गहुँबाली नउम्रेकाले २० देखि ३० प्रतिशत उत्पादन घट्ने अनुमान थियो । माघमा केही पानी परेर बाली लाग्न सुरु भएपनि सिन्दुरे रोगको संक्रमणले उत्पादनमा थप ह्रास आउने निश्चित भएको हो ।

केआईसिंह गाउँपालिकाका कृषि अधिकृत मीन कठायतले पालिकाभरि गहुँबालीमा आएको रोग नियन्त्रणका लागि कृषि ज्ञान केन्द्रको सहयोगमा बिषादी प्रयोग भइरहेको बताए । यद्यपि कठायतका अनुसार नियन्त्रण गर्न कठिनाइ भइरहेको छ । ओसिलो र बादल लागेको मौसममा संक्रमण तिव्र फैलने तर गर्मी र घाम बढ्यो भने पहेलोपन हट्दै जाने गरेको कठायत बताउँछन् । सेलपाखा, गडीगाउँ अमसैन, भूमिराजमाण्डौं लगायतका क्षेत्रका किसान बढी पीडित भएका छन् ।

प्रकाशित : चैत्र ३, २०८० १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?