२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

काँणाका ६९ परिवारलाई खानेपानी सुविधा

मोहन शाही

डोटी — घण्टौं कुरेर पानी जोहो गर्दै आएका आदर्श गाउँपालिका–६ गिरीचौकाको काँणाका बासिन्दा सोमबारबाट भने खुसी भएका छन् । गाउँपालिकाले पुस्तौंदेखि भोग्दै आएको काँणाका बासिन्दाको खानेपानी अभावलाई टारेको छ । 

काँणाका ६९ परिवारलाई खानेपानी सुविधा

सोमबार गाउँपालिका अध्यक्ष गणेशबहादुर खड्काले ७० लाख रुपैयाँमा निर्मित खानेपानी आयोजना स्थानीयलाई हस्तान्तरण गरेका छन् । डाँडाबाग मन्दिरनजिक खोलाको पानी लिफ्टबाट तानेर गाउँ पुर्‍याइएको छ । योजना हस्तान्तरण गर्दै अध्यक्ष खड्काले निर्वाचनका बेला स्थानीयलाई गरिएको बाचा पूरा गर्न पाएकोमा खुसी व्यक्त गरे ।

काँणा गाउँका ६९ घरधुरी यसअघि एउटै धाराबाट खानेपानीको जोहो गर्दै आएका थिए । ‘गाउँभरिका लागि एउटै धारा हुँदा घण्टौं कुर्नुपर्ने बाध्यता थियो,’ स्थानीय कृष्ण थापाले भने, ‘कहिले पानी आउँथ्यो, कहिल्यै आउँथेन ।’ खानेपानी अभावकै कारण तीव्र बसाइँसराइ र खाद्य संकटले सताइरहेका बेला पालिकाले घरघरमा खानेपानी पुर्‍याएपछि स्थानीय खुसी भएको थापाले बताए ।

गत आर्थिक वर्ष गाउँपालिकाले टेण्डर मार्फत खानेपानी आयोजनाको निर्माण सुरु गरेको थियो । ६९ घरधुरीलाई २३ वटा धारा निर्माण गरिएकाले अब विगतको जस्तो पानीकै लागि घण्टौं कुर्नुपर्ने बाध्यता हटेको पालिका उपाध्यक्ष लक्ष्मी धामी रोकायाले बताइन् ।

गाउँपालिकाले वडा ६ मा पनि खानेपानी योजना निर्माण गरिरहेको छ । एउटै योजनालाई ३ टुक्रा बनाएर पालिकाले गत वर्ष ७० लाख बराबर लगानी गरेर काँडी गाउँका घरधुरीमा पानी खसाली सकिएको इञ्जनियर धनबहादुर थापाले बताए । ‘गत वर्ष ७० लाख लगानी गरेर काँडीमा खानेपानी पुर्‍याइयो, चालु वर्षमा ६० लाख बराबरको ठेक्का निकालेर खतेडा र ढाँटबाडा गाउँमा पानी वितरण गर्छौं,’ इञ्जनियर थापाले भने, ‘अर्को वर्ष सिल्ल साउँकोलामा वितरण गर्ने योजना छ ।’ वडा ६ बाहेक अन्य वडामा लागू हुने गरी करिब ६० करोड बराबरको लगानीमा बृहत खानेपानी आयोजना समेत निर्माण हुन गइरहेको छ । उक्त आयोजना निर्माण पछि करिब ४ हजार परिवार लाभान्वित हुने पालिकाले जनाएको छ ।

प्रकाशित : फाल्गुन २९, २०८० १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?