३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

भागिरहेका थुनुवालाई समात्न खोज्दा भिरबाट लडेका प्रहरीको मृत्यु

मनोज बडू

दार्चुला — जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका महाकाली नगरपालिका–१ उमेशसिंह कुँवर सोमबार दिउँसो भागेका थिए । त्यस क्रममा कुँवरलाई समात्न दौडिएका प्रहरी जवानको लडेर मृत्यु भएको छ । 

हिरासतमा रहेका कुँवरलाई प्रहरीले सोधपुध गर्ने क्रममा भागिरहेको अवस्थामा समात्न खोज्दा भिरमा लडेर टाउकोमा चोट लागेका प्रहरी जवान सोहन चौधरीले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा कुँवरलाई प्रहरीको मुद्दा शाखामा सोधपुछको क्रममा कार्यालयको पछाडिबाट हाम फालेर भाग्ने क्रममा चौधरीले उनलाई रोक्न खोजेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए ।

उनका अनुसार हतकडीसहित हामफालेका कुँवरसँगै हुत्तिएर चौधरी भीरबाट लडे । झण्डै एक सय मिटर तल खसेपछि प्रहरी जवान चौधरीको टाउको चोट लागेको थियो । उनलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको थियो । टाउकोमा गम्भीर चोट लागेका चौधरीको जिल्ला अस्पतालमा पुर्‍याउँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

हाम फालेर भागेका कुँवर महाकाली तरेर भारततर्फ लागेका छन् । प्रहरीले पनि नदी तरेर भारतीय गोरखा रेजिमेन्टका सुरक्षाकर्मीको सहयोगमा कुँवरलाई नियन्त्रणमा लिएको सूचना अधिकारी सिंहले बताए ।

आफ्नै श्रीमति धनिसा कुँवरलाई बन्दक बनाएर हिंसा गरेको भन्दै उजुरी परेपछि प्रहरीले उनलाई सोधपुछको लागि जाने क्रममा प्रहरी हवल्दार जयबहादुर खड्का र जवान डम्बरबहादुर ठगुन्नामाथि चक्कु प्रहार गरेका थिए । गत माघ ७ गते प्रहरीलाई चक्कु प्रहारपछि फरार रहेका कुँवरलाई प्रहरीले फागुन २१ गते नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार कुँवरविरुद्ध प्रहरीले अपहरण तथा बन्धक, ज्यान मार्ने उद्योग र जबरजस्तीकरणीको मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको थियो ।

प्रकाशित : फाल्गुन २८, २०८० १५:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?