१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सल्यानमा २० दिनमै ९२ सामुदायिक वनमा डढेलो

६ हजार हेक्टर वनमा क्षति, २५ घर जलेर नष्ट, डढेलो निभाउँदा १६ जना घाइते 
विप्लव महर्जन

सल्यान — चैत्रको दोस्रो सातादेखि बैशाख पहिलो सातासम्म सल्यानका १० स्थानीय तहका ९२ सामुदायिक वनमा डढेलो लागेको छ । डढेलोका कारण झन्डै ६ हजार वन क्षेत्रमा क्षति पुगेको छ भने जिल्लाका विभिन्न स्थानीय तहका वन क्षेत्रभित्र रहेका बस्तीका २५ घर र एक मन्दिर जलेर नष्ट भएका छन् । 

सल्यानमा २० दिनमै ९२ सामुदायिक वनमा डढेलो

डढेलो निभाउने क्रममा १६ जना घाइते भएका छन । डढेलोका कारण २७ हजार ४ सय ८३ साना बिरुवा र लाखौँको जडिबुटी, खानेपानी योजनाका पाइप र सुन्तला बगैँचा जलेर नष्ट भएका छन् भने घर जलेर नष्ट हुँदा ५० लाख भन्दा बढीको क्षति भएको छ ।

डिभिजन वन कार्यालय सल्यान र प्रहरीको तथ्यांक अनुसार बन्गाड कुपिण्डे नगरपालिकामा २८, शारदा नगरपालिकामा १४, कपुरकोटमा ९, कुमाखमा १२, कालिमाटीमा १७, छत्रेस्वरीमा १०, त्रिबेणीमा १ सिद्धुकमाख गाउँपालिकामा १ सामुदायिक वनमा डढेलो लागेको थियो । डढेलोले बन्गाडमा ४ हजार ३, शारदा नगरपालिकामा ५ सय ४५, कपुरकोटमा ३ सय १४, कुमाखमा १ सय २, कालिमाटीमा १ सय १९, छत्रेस्वरीमा ८ सय १३, त्रिबेणीमा ३३, र सिद्धकुमाख गाउँपालिकामा ८ हेक्टर वनमा डढेलोले क्षति पुर्‍याएको थियो ।

डढेलोका कारण कपुरकोट गाउँपालिकामा १ गर्पा, ३ पाखापानी र ६ रजैखोलामा ८ घर, एक सुन्तला बगैचा, छत्रेस्वरी गाउँपालिका ४ जयचौर र ७ रावतगाउँमा १२ घर बन्गाड कुपिडे नगरपालिकामा ५ च्युरा र ११ घरेलीमा तीन घर, एक मन्दिर, ७ सय मिटर खानेपानी पाइप जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

डढेलो निभाउने क्रममा १६ जना घाइते भएका , दुई पसु मरेको र घाइते सबै उपचार पछि घर फर्किसकेका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रनाउ नविन कार्कीले बताए । उनका अनुसार डढेलोका कारण दैनिक बस्ती उच्च जोखिममा पर्दै आएका छन । वनमा लागेको डढेलोका कारण अहिलेसम्म घरगोठ जल्ला झन्डै ५० लाख बढिको क्षति भएको उनको भनाई छ ।

जिल्लाभरिका ९१ सामुदायिक वनमा लागेको डढेलोका कारण २७ हजार ४ सय ८३ साना विरुवा मरेका र लाखौका जडिबुटी नष्ट भएका डिभिजन वन कार्यालय सल्यानका प्रमुख जितेन्द्र महतले बताए । डढेलोकै कारण जंगली जनावर मात्र नभई वातावरण प्रदुर्षित हुँदा जिल्लाबासी समेत प्रभावित भएका उनले जानकारी गराए ।

उनका अनुसार दैनिक दुई/तीन सामुदायिक वनमा डढेलो लाग्दै आएको छ । स्थानीय वन समुहका उपभोक्ता, नेपाली सेना, प्रहरी, शसस्त्र प्रहरी र वनका कर्मचारीको टोलीले डढेलो निभाउँदै आएका छन् । गाईबस्तुले खाने खालका भुई घाँस पलाउछ भनेर सल्लाको कुसुम वनबाट पुर्ण रुपमा हटाउन आगोले जलेको कुसुम मल बन्ने भन्दै उपभोक्ताले नै लुकिछिपी वनमा डढेलो लगाउने गर्दा पुर्ण रुपमा नियन्त्रणमा ल्याउन कठिनाई भएको छ ।

वनमा डढेलो लगाएको पाएमा कारबाही गर्ने भएपनि लुकिछिपी लगाउने हुँदा आगो लगाउने मान्छे समेत पहिचान गर्न कठिनाई भएको जिल्लाका विभिन्न पालिकामा रहेको रेन्जपोष्टका प्रमुखहरुले बताएका छन् । अहिलेसम्म वनमा लगेको डढेलो निभाउन परम्परागत सामग्री नै उपभोक्ताले प्रयोग गर्दै आएको उनीहरुले जानकारी गराए ।

प्रकाशित : वैशाख १०, २०८१ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?