कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विशेषज्ञ डाक्टर अभावमा अस्पतालका दुई विभाग बन्द 

ज्योति कटुवाल

सुर्खेत — सुर्खेतको प्रदेश अस्पतालमा तीन हप्तादेखि दुई विभाग बन्द छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खटाएका विशेषज्ञ न्यूरोसर्जन र मुटुरोग विशेषज्ञ डाक्टर नआएपछि सेवा अवरुद्ध भएको अस्पतालले जनाएको छ ।

विशेषज्ञ डाक्टर अभावमा अस्पतालका दुई विभाग बन्द 

मन्त्रालयले खटाएका न्यूरोसर्जन डा. ओमबिक्रम शाह, मुटुरोग विशेषज्ञ डा. सुतप यादव अस्पताल हाजिर नहुँदा सेवा प्रभावित भएको निर्देशक प्रा.डा. डम्बर खड्काले बताए। ‘डाक्टरहरु तीनहप्ता पहिला पुगिसक्नु पर्ने हो, दुई महत्वपूर्ण विभाग बन्द हुँदा सेवा प्रभावित भएको छ,’ उनले भने, ‘सरकारले उनीहरुलाई डाक्टर बनाउन लगानी गरेको छ, सरकारले खटाएको स्थानमा पठाउँदा पनि नआउने यो त राज्यमाथि नै प्रश्न हैन र !’

सेवा सञ्चालनका बेला ओपीडीमा दैनिक २५ जना र शल्यक्रिया गर्नुपर्ने २/३ जना हुने गरेको निर्देशक प्रा.डा. खड्काले बताए । उनका अनुसार दैनिकजसो हुने सवारी दुर्घटना र न्युरोको उपचारका लागि अन्यत्र पठाउनुपर्ने अवस्था छ । तीन वर्षदेखि काम गर्दै आएका न्यूरोसर्जन डा. निलम खड्का काजमा ट्रमा अस्पताल काठमाडौं फर्किएपछि उक्त फाँटमा हेर्ने डाक्टर नै छैनन् ।

स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाका अनुसार उनीहरू फागुन १७ गतेभित्र प्रदेश अस्पतालमा हाजिर हुनुपर्ने थियो । तर, उनीहरू हालसम्म पनि हाजिर हुन आएका छैनन् ।

कामकाज गर्न खटाइएको पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा यस मन्त्रालय (सचिवस्तर) को मिति २०८०/०५/१२ गतेको निर्णयानुसार देहाय बमोजिमको विशेषज्ञ चिकित्सकहरूलाई नेपाल मेडिकल काउन्सिलबाट विशेषज्ञ चिकित्सकमा दर्ता भएको प्रमाणपत्र प्राप्त भएपछि सोहीअनुसार हुनेगरी हाललाई ‘सरकारी शिक्षण संस्थाहरूमा चिकित्साशास्त्र छात्रवृत्ति छनौट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि, २०७२’ अनुसार उहाँहरूले अध्ययन गर्नुपूर्व गर्नुभएको कबुलियतनामा अनुसार तहाँ अस्पतालमा आलोपालो गरी कामकाज गर्न खटाइएको ब्यहोरा अनुरोध छ ।’

प्रकाशित : चैत्र १३, २०८० २०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?