कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हुम्लामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ जना घाइते [अपडेट]

हुम्ला — हुम्ला सदरमुकाम सिमकोटबाट ४४ कोष टाढा रहेको अदानचुली गाउँपालिकामा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ७ जना घाइते भएका छन् । दुर्घटनामा परी अदानचुली गाउँपालिका–५ करगाईका अन्दाजी ३५ वर्षीय फागुने लोहार र सोही वडाका १३ वर्षीय प्रवेश ऐडीको ज्यान गएको जिल्ला प्रहरी प्रमुख डिएसपी रविन्द्र खनालले बताए ।

हुम्लामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ जना घाइते [अपडेट]

अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगरबाट चालकसहित ९ जना यात्रु बोकेर वडा नं. ५ को बारीगाउँ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ००१ ज ११८३ नम्बरको बोलेरो जीप वडा नं. ४ को पाम्स मोडका दुर्घटनामा परेको स्थानीय जीवन बुढाले जानकारी दिए ।

दुर्घटनामा परी गाडी चालक २५ वर्षीय जनक ठगुन्ना पनि घाइते भएका छन् । त्यस्तै, अदानचुली गाउँपालिका वडा नं. ५ बारीगाउँका अन्दाजी बर्ष ४५ का रामबहादुर ऐडी, सोही वडाका ४५ वर्षीय दल बोहोरा, ३८ वर्षीया चैती बुढा, ६० वर्षीय तुला टमटा, १६ वर्षीय खगेन्द्र टमटा र अदानचुली गाउँपालिका वडा नं. १ कल्खेका गाडी सहचालक धनबहादुर महतारा घाइते भएका छन् ।

घाइतेको श्रीनगर स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । दुर्घटनामा परी घाईते भएका ७ जनामा गाडी चालक जनक ठगुन्ना, तुला टमटा र सहचालक धनबहादुर महतारासहित ३ जनाको अवस्था गम्भीर भएको र अन्य ४ जना सामान्य भएको भए पनि स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरी सबैलाई बाजुराको कोल्टि अस्पतालमा पठाइएको अदानचुली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बिनोद बुढाले बताए ।

घाइते सबैको टाउको र शरीरको भित्री भागमा चोट लागेकाले स्वास्थ्य चौकीमा भिडियो एक्सरे र एक्सरे गर्ने सुविधा नहुँदा सबैलाई सुबिधा सम्पन्न अस्पतालमा पठाउनु परेको प्रमुख बुढाले बताए ।

प्रकाशित : चैत्र १०, २०८० १९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?