कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेसिन बिग्रिँदा एक वर्षदेखि सिँचाइबाट वञ्चित

सल्यान — कालिमाटी गाउँपालिका–७ घुइयाबारीमा लिफ्ट सिँचाइ योजनाको मेसिन एक वर्षसम्म मर्मत नहुँदा किसान सिँचाइ सुविधाबाट वञ्चित भएका छन् । कालिमाटी गाउँपालिकाको ३१ लाख बजेटबाट निर्माण गरिएको सोलार लिफ्ट सिँचाइ योजनाको मेसिन एक वर्षदेखि बिग्रिएको छ ।

मेसिन बिग्रिँदा एक वर्षदेखि सिँचाइबाट वञ्चित

मेसिन बिग्रिएपछि खेतमा सिँचाइ गर्न वर्षातको समयममा समेत हम्मे पर्ने गरेको छ । ५० भन्दा परिवार बढी स्थानीयले सिँचाइका लागि किसानले विभिन्न किसिमका कष्ट उठाउँदै आएका छन् ।

वर्षमा तीन बाली उत्पादन हुने झन्डै ३ सय रोपनी खेतमा सिँचाइ सुविधा पुर्याउन गाउँपालिकाले ०७७ सालमा लिफ्टबाट बबई नदीको पानी तानेर योजना सम्पन्न गरेको थियो । डेढ वर्षसम्म संचालनमा आएको योजनाको मेसिन बिग्रिएपछि खहरेखोलाको भर पर्दै आएको भक्तबहादुर बुढाले बताए । ‘सिँचाइको व्यवस्था भए धान, मकै, गहुँ र तोरी बाली लगाउन सकिन्थ्यो,’ उनले भने, ‘बर्खामा रोपाइँ गर्न समेत गाह्रो भइरहेको छ । खहरेखोलामा सानो पाइप जडान गरेका छौं ५/६ किसानको जग्गामा सिँचाई गर्न पनि पुग्दैन ।’ उनले फागुनदेखि असारसम्म खोला सुक्ने हुँदा हिउँदेबालीमा सिँचाइ गर्न नपाएको बताए ।

बिग्रेको मेसिन बनाउन आफूहरूले नसक्ने र सम्बन्धित निकायलाई बारम्बार आग्रह गरे पनि खासै चासो नदिएको स्थानीय किसान लालबहादुर विकले बताए । सिँचाइको व्यवस्था नहुँदा धानबाली लगाउने जग्गामा वर्षातको समयमा मकै खेती गर्नु परेको उनले बताए । ‘सिँचाइको व्यवस्था भए अहिले चैते धान लगाउन सकिन्थ्यो । वसन्ते मकै लगाउन सकिन्थ्यो तर खेत बाँझै छ,’ उनले भने, ‘सिँचाइको व्यवस्था भए किसानले आफ्नै जग्गामा तीन बाली उत्पादन गरेर अन्न बिक्री गर्न सक्थे । अहिले उल्टै बाहिरबाट खाद्यान्न किनेर ल्याई खानुपरेको छ ।’

तत्कालीन सिँचाइ डिभिजन कार्यालय सल्यानले घुइयाबारीको १ हजार रोपनी भन्दा बढी जग्गामा बाह्रृ महिना सिँचाइ गर्न २०६८ मा झन्डै १० करोड बजेटमा नहर निर्माणको काम अगाडि बढाएको र २०७२ मा आएको बाढीले काम सम्पन्न हुन नपाउँदै योजना तहसनहस बनाएपछि सिँचाइ गर्ने सपना अधुरै रहेको स्थानीय किसान नारायण सुनारले बताए ।

योजना संरक्षण गर्ने जिम्मेवारी स्थानीयको भए पनि पानी तान्न प्रयोग गरिने मेसिनको के बिग्रियो भन्ने थाहा पाउन नसकेका कारण अहिलेसम्म बिग्रेको मेसिन बन्न नसकेको र किसानलाई खेतीपाती गर्न समस्या भएको कालिमाटी–७ काप्रेचौरका वडाध्यक्ष मित्रलाल रिजालले बताए । पालिकाले ५० जना बढी किसानका ३ सय रोपनी खेत सिँचाइ गर्ने लक्ष्यका साथ पालिकाले उक्त योजना सम्पन्न परेको उनले जानकारी गराए । उनका अनुसार लिफ्ट सिँचाइको मेसिन बिग्रेपछि किसानले खहरेखोलामा पाइप जडान गरेर खेतमा सिँचाइ गर्दै आएका छन् तर त्यो पर्याप्त नभएकाले समस्यामा परेका छन् । बिग्रेको मोटरलगायतका मेसिन मर्मतको पहल भइरहेको उनको भनाइ छ ।

प्रकाशित : चैत्र ६, २०८० १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?