३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

सशस्त्र प्रहरी र कुरुवाको भरमा हिल्सा नाका 

सुर्खेत — चीनको सीमास्थित हुम्लाको हिल्सा नाका झण्डै ४ महिनादेखि सशस्त्र प्रहरी र झण्डै १० जना कुरुवाको भरमा छ । हिल्सामा दुई दर्जन पर्यटकीयसहित झण्डै ३५ वटा होटल छन् । ती होटलमा व्यवसायीले झण्डै १० लाखदेखि २ करोडसम्म लगानी गरेका छन् । अहिले हिल्सामा झण्डै ३ फिट हिउँ परेको छ । हिमपात हुनुअघि नै हिल्साका व्यवसायी कात्तिक दोस्रो साता बेंसी झरेका थिए ।

सशस्त्र प्रहरी र कुरुवाको भरमा हिल्सा नाका 

कोरोना महामारीका कारण झण्डै ४ वर्ष बन्द भएको हिल्सा नाका गत वैशाखमा खुलेको थियो । नाका खुले पनि पर्यटकीय आवागमन नहुँदा हिल्साका होटल लामो समयदेखि सुनसान छन् । ‘मानसरोवर कैलाश दर्शन गर्न जाने प्रमुख रुट यही हो, चीनले नाका खोले पनि भारतीय दर्शनार्थीका लागि मानसरोवर प्रवेशको अनुमति दिएको छैन,’ होटल व्यवसायी विजय लामाले भने, ‘अन्य देशका पर्यटक पनि आएका छैनन्, हुम्लाका स्थानीय पनि चीनतिर जान नपाउँदा होटल चल्नै पाएका छैनन् ।’

कोरोनाअघि बर्सेनि झण्डै १५ हजार पर्यटक हिल्सा नाकाबाट मानसरोवर कैलाशको दर्शन गर्न जाने गरेका थिए । अर्का व्यवसायी कर्मा लामाका अनुसार कोरोनाअघि हिल्सा नाकामा पर्यटक र स्थानीयको निकै चहलपहल हुने गरेको थियो । ‘कोरोनाअघि बजारमा पर्यटक, भरिया र स्थानीयको बिहान सबेरैदेखि राति १० बजेसम्म चहलपहल हुन्थ्यो, कोरोनाका कारण नाका बन्द हुँदा ठूलो नोक्सानी बेहोर्‍यौं, हिमपात हुनुअघि पनि नाका खुलेको महिनौं बिते पनि पर्यटकीय चहलपहल शून्यजस्तै थियो ।’ उनका अनुसार चीनले मानसरोवरको प्रवेश नखोल्दासम्म हिल्सामा पर्यटकीय चहलपहल हुने सम्भावना छैन ।

हिल्सामा मानसरोवर कैलाश दर्शनको समयमा १० वटा हेलिकप्टरले झण्डै डेढ सय उडान भर्ने गरेका थिए । हिल्सामा स्थापना भएको मानसरोवर होटलका कुरुवा याक्योङ लामाले वैशाखसम्म हिल्सामा आफूहरू मात्र हुने बताए । ‘अहिले त यहाँ बाक्लो हिउँ परेको छ, यो हिउँ नपग्लुन्जेल होटल साहुहरू कोही आउँदैनन्,’ उनले टेलिफोनमा भने, ‘हामी पनि दिनभरि आगो तापेर घरभित्र बस्ने हो, कहिलेकाहीं सशस्त्र प्रहरीले बजारमा गस्ती गर्छन् ।’ उनले कुनै व्यापार व्यवसाय नहुने र त्यसै बस्नुभन्दा आफूहरूको जिम्मा लगाएर होटल सञ्चालक सदरमुकाम सिमकोट, नेपालगन्ज, सुर्खेतलगायत ठाउँमा गएको बताए । उनका अनुसार अहिले हिल्सामा तापक्रम माइनस १७ डिग्रीसम्म पुगेको छ ।

हिल्सामा होटल र अन्य सर्वसाधारणसमेत गरी झण्डै १ सय घरधुरी बस्दै आएका थिए । हिल्सास्थित सीमा अध्यागमन, भन्सार, प्रहरी चौकीलगायत कार्यालय पनि सदरमुकाम सिमकोटमा विस्थापित भइसकेका छन् । हिल्सामा ३ वर्षअघि सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना भएको थियो ।

हिल्सा नजिकैका न्यालु र नारा लेकमा पनि झण्डै ३ फिटसम्म हिउँ परेको छ । जसका कारण नाम्खा गाउँपालिका–६ स्थित लिमी भ्यालीको आवतजावत बन्द भएको वडाध्यक्ष पाल्जोर तामाङले बताए । उनका अनुसार लिमीस्थित हल्जी, जाङ र तिलगाउँका झण्डै १ सय ४७ घरधुरीका स्थानीय पनि बेंसी झरिसकेका छन् ।

‘३ वटै गाउँमा १०/१२ जना कुरुवा मात्र छन्, आसपासका दुईवटै लेकमा बाक्लो हिउँ जमेका कारण सदरमुकामबाट त्यहाँ जाने बाटो बन्द भइसकेका छन्,’ उनले भने, ‘अब गर्मी सुरु भएपछि वैशाखतिर मात्र स्थानीय गाउँ जानेछन् ।’ उनका अनुसार लिमी जाने झण्डै ४ हजार ६ सय मिटर र ५ हजार मिटर अग्लो न्यालु लेकमा जमेको हिउँ गाउँपालिकाले बर्सेनि डोजर लगाएर हटाउने गरेको छ । लिमीमा गाउँ कुरेर बसेकासँग नियमित टेलिफोन सम्पर्क भइरहेको उनले जानकारी दिए ।

प्रकाशित : चैत्र ६, २०८० १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?