कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

आगामी वैशाखमा कर्णालीमा लगानी सम्मेलन हुने

हरिहरसिंह राठौर

वीरेन्द्रनगर — कर्णाली प्रदेशमा आगामी वैशाख १९ र २० गते विकास र लगानी सम्मेलन हुने भएको छ । यसअघि फागुन महिनाभित्रै लगानी सम्मेलन गर्ने भनिएको थियो तर संघीय सरकारले पनि आगामी वैशाख १६ र १७ मा विकास तथा लगानी सम्मेलनको आयोजना गर्ने निधो गरेपछि कर्णाली प्रदेश सरकारले पनि यिनै सहभागीलाई कर्णालीको सम्मेलनमा आउन निम्तो दिने निर्णय गरृको हो ।

आगामी वैशाखमा कर्णालीमा लगानी सम्मेलन हुने

‘गत माघ २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले नै उक्त मिति तोकेको हो । केन्द्रीय लगानी सम्मेलनका सहभागी सबैलाई कर्णालीमा पनि लगानी गर्न आमन्त्रण गर्दैछौं,’ प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले भने । मन्त्री जिसीका अनुसार मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगका अध्यक्ष समेत रहेका मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा निर्देशन समिति पनि गठन गरेको छ र उक्त समितिमा मन्त्री, सचिवदेखि योजना आयोगका पदाधिकारी रहेका छन् ।

केन्द्र सरकारले वैशाखमै लगानी सम्मेलन गर्ने भएकाले त्यसैलाई मध्यनजर गरेर कर्णालीमा पनि सम्मेलनको मिति तोकिएको जनाइएको छ । गत असोज ६ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सम्मेलनका क्रममा पेस गरिने आयोजनाहरूको विवरणसहित प्रस्तावना पेस गरेको थियो । प्रारम्भिक रूपमा २० भन्दा बढी क्षेत्रमा लगानीकर्ताहरू समक्ष पेस गरिने आयोजनासहितको प्रस्तावित मस्यौदा मुख्यमन्त्री राजकुमार शर्मासमक्ष पेस पनि गरिएको भए पनि आयोगले सरकारलाई दिएको बुँदागत पेपरमाथि पनि अहिलेसम्म छलफल भने भएको छैन ।

मिति तोकिएसँगै अब बृहत् रूपमा छलफल हुने योजना आयोगका सदस्य जीतबहादुर शाहले जानकारी दिए । आयोगले मुख्यमन्त्रीलाई पेस गरेको प्रस्तावमा जलविद्युत्, पर्यटन, कृषि तथा वनपैदावार जडीबुटीको क्षेत्रलाई प्राथमिकता राखिएको छ । कर्णालीमा एउटा ठूलो जडीबुटीसम्बन्धी उद्योग स्थापना गर्नुपर्नेलगायतका विषयहरू छन् ।


प्रकाशित : फाल्गुन १५, २०८० १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?