भूकम्पबाट सल्यानमा १ हजार ९० घर क्षति, २ हजार ६ सय ६७ जना विस्थापित 

विप्लव महर्जन

सल्यान — जाजरकोटलाई केन्द्रविन्दु बनाई शुक्रबार राति गएको भूकम्पका कारण सल्यानमा १ हजार ९० घर क्षति भएका छन् । भूकम्पबाट पूर्ण रूपमा १ सय ४९, आंशिक ५ सय ११ र सामान्य ४ सय २९ घर क्षति भएको विपद् व्यवस्थापन समिति सल्यानले जनाएको छ ।

भूकम्पबाट सल्यानमा १ हजार ९० घर क्षति, २ हजार ६ सय ६७ जना विस्थापित 

तथ्यांकअनुसार दार्मा गाउँपालिकामा ९ सय ५२, कुमाख गाउँपालिकामा ३१ , बाग्चौर नगरपालिकामा २६, बन्गाड नगरपालिकामा ५१, शारदा नगरपालिकामा ८, कपुरकोट गाउँपालिकामा २६, सिद्धकुमाखमा २० र त्रिवेणी गाउँपालिकामा एक घरमा क्षति भएका छन् । सबैभन्दा बढी क्षति दार्मा गाउँपालिकामा भएको छ ।

विभिन्न निकायबाट राहत सामग्रीस्वरूप त्रिपाल आए पनि अहिलेसम्म दार्मा गाउँपालिकाले सबैलाई उपलब्ध गराउन सकेको छैन । जसका कारण प्रभावित परिवार अहिले पनि खुला आकाशमुनि त्रिपाल टाँगेर बस्दै आएका छन् । चिसोले प्रभावित परिवार झन् समस्यामा परेका छन् ।

प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका संयोजक बेदप्रसाद खरेलले भूकम्पबाट पूर्ण तथा बस्न नमिल्ने गरी घर क्षति हुँदा जिल्लाको दार्मा गाउँपालिकाले निकालेको तथ्यांकअनुसार ७ सय ९४ घरका २ हजार ४ सय ९७ विस्थापित भएका बताए । अन्य पालिकामा विस्थापित भए पनि यकिन तथ्यांक नआएको उनको भनाइ छ ।

भैँसी बान्ने टहरामा बसेका दार्मा गाउँपालिकाका एक परिवार ।

पालिका, विपद् व्यवस्थापन समिति र प्रहरीले संकलन गरेको तथ्यांक फरक-फरक पाइएको छ । ती तथ्यांकलाई एकरूपता दिन दार्मा गाउँपालिका-५ ढाकाडामस्थित वडा कार्यालयमा बसेको विपद् व्यवस्थापन समिति बैठकले संयुक्तरुपमा प्राविधिक टोली खटाएर पुन: तथ्यांक संकलन गर्ने निर्णय गरेको उनले जनाए ।

सल्यानलाई भूकम्प प्रभावित संकटग्रस्त क्षेत्रको रुपमा घोषणा गर्न संघ र प्रदेशमा सिफारिस गरेको उनले बताए । उनका अनुसार मावली गएका दार्मा गाउँपालिका र बन्गाड कुपिण्डे नगरपालिकाका तीन जनाको भूकम्पका कारण रुकुममा मृत्यु भएकाले उनीहरूका परिवारलाई क्षतिपूर्ति तथा राहत उपलब्ध गराएको छ ।

दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले पालिकाका ६ वडामै ७ सय ९४ घर पूर्ण रूपमा क्षति भएको र २ हजार ४ सय ९७ विस्थापित भएको बताए । विस्थापित परिवार अहिले घरनजिकै सुरक्षित स्थानमा त्रिपाल टाँगेर बस्दै आएको उनले जानकारी गराए ।

भैँसीसँगै टहरामा बसेका दार्मा गाउँपालिका-५ का एक परिवार । तस्बिरः विप्लव महर्जन/कान्तिपुर


भूकम्पले दार्मा-२ लिरापाजामा क्षति पुर्‍याएको घर ।

भूकम्पका कारण जिल्लाको दार्मा गाउँपालिकाको वडा नं १ मा १ सय २९, २ मा १ सय ५१, ३ मा २४, ४ मा ३०, ५ मा ३ सय ९५, ६ मा ६५ घर क्षति भएको र वडा नं. १ बाट ३ सय ९२, २ बाट ४ सय ६६, ३ बाट ८७, ४ बाट १ सय ५, ५ बाट १ हजार २ सय ४०, ६ बाट २ सय ७ जना विस्थापित भएका उनले बताए । अहिलेसम्म ७ सय ९४ मध्ये ४ सय ९४ परिवारलाई त्रिपाल, टनेल, सिल पोलिथिन वितरण गरिएको छ भने ५० थान कम्मल वितरण गरिएको छ ।

दार्मामात्र नभई कुमाख गाउँपालिकामा भूकम्पले ३१ घर पूर्ण र ५ घर आशिंक क्षति भएका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत छवि खड्काले पूर्ण रूपमा घर क्षति भएका ३१ परिवारका १ सय ६० परिवार विस्थापित भएका छन् । ती परिवार अहिले घरनजिकैको खुला चौरमा त्रिपाल टाँगेर बसेको छ ।

बाग्चौर नगरपालिकाका नगरप्रमुख जनकराज गौतमले पालिकाका विभिन्न क्षेत्रमा २४ घर बस्न नमिल्ने गरी क्षति भएका र ती घरका ५० भन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको बताए । उनका अनुसार सामान्य क्षति भएका घरको तथ्यांक संकलन गरिएको छैन ।

प्रकाशित : कार्तिक २२, २०८० १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?