सल्यानमा आगलागीमा जलेर ५ जना सख्त घाइते

विप्लव महर्जन

सल्यान — सल्यानमा एक पसल घरमा भएको आगलागीमा जलेर घरधनीसहित पाँच जना सख्त घाइते भएका छन् । जिल्लाको कुमाख गाउँपालिका–४ भण्डारखोलास्थित शंकर रानाको तीन कोठे एक तले टिनले छाएको घरमा रहेको किराना पसलमा सोमबार राति साढे ८ बजेतिर एक्कासि आगो लाग्दा पसलका साहु रानासहित पाँच जना सख्त घाइते भएका हुन् ।

सख्त घाइते हुनेमा भण्डारखोला निवासी वर्ष २४ का घरधनी शंकर राना, २६ वर्षका यज्ञ राना, २१ का जीवन राना, २० वर्षका सञ्जिव शाह, १८ वर्षका क्षेत्रमनी राना रहेका जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले बताए । सख्त घाइते भएका शंकर राना, यज्ञ राना र जीवन राना बोल्न नसक्ने र सञ्जिव शाह र क्षेत्रमनी राना हल्का बोल्न सक्ने अवस्थामा रहेको उनले जानकारी दिए ।

उनका अनुसार सख्त घाइते भएका सबैलाई मिसन अस्पताल चौरजहारीमा सामान्य उपचारपछि थप उपचारको लागि कोहलपुर मेडिकल कलेज बाँके लगिएको छ । पसलमा एउटा प्लास्टिक जर्किनमा पेट्रोल राखेको हुँदा सलाई कोर्दा आगलागी भएको हुन सक्ने आशंका भए पनि वास्तविक कारण भने खुल्न सकेको छैन ।

आगलागी हुँदा पसलमा के कति क्षति भयो भन्ने खुल्न नसकेको र प्रवनानी लक्ष्मीदत्तको कमाण्डमा खटिएको प्रहरी टोलीले घटनाको थप अनुसन्धान गरी मुचुल्का उठाइरहेको उनको भनाइ छ ।

प्रकाशित : चैत्र ७, २०७९ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्

कौसी खेती प्रवर्द्धनका लागि कम्पोस्ट मल बनाउने बिन वितरण 

ज्योति श्रेष्ठ

काभ्रे — जिल्लाको बनेपा नगरपालिकाले कौसी खेती प्रवर्द्धनका लागि कम्पोस्ट मल बनाउने बिन वितरण गरेको छ । नगरपालिकाको वडा नं. ५, ७, ८ ९, १० मा   ५० प्रतिशत अनुदानमा कम्पोस्ट विन वितरण गरिएको हो । 

नगरपालिकाले केही समयअघि फोहोर व्यवस्थापनका लागि वडा नं. ५, ७, ८ ९, १० मा कौसी खेती तालिम सञ्चालन गरेको थियो । तालिममा सहभागीहरूलाई नगरपालिकाले अनुदानमा कम्पोस्ट बिन वितरण गरिएको नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद हुमागाईंले जानकारी दिए । उनका अनुसार विभिन्न वडाका ५ सय जना सहभागीहरूलाई नगरपालिकाले ५० प्रतिशत अनुदानमा कम्पोस्ट बिन वितरण गरिएको हो ।

सोमबार नगरपालिकाको वडा नं. ५ का ५० जनालाई कम्पोस्ट बिन वितरण गरिएको हो । कम्पोस्ट बिन वितरण कार्यक्रमलाई सम्बोधन गर्दै बनेपा नगरपालिकाकी उपप्रमुख बिमला सापकोटा दाहालले यस कार्यक्रमले फोहोर व्यवस्थापन र कृषिलाई समेटेको बताइन् । उनका अनुसार घरबाट निस्कने घरमै व्यवस्थापन गर्दै तरकारी उब्जाउनका लागि नगरपालिकाले कौसी खेती कार्यक्रम सञ्चालन गरेको हो ।

बनेपा नगरपालिकाको सहरी क्षेत्रमा फोहर व्यवस्थापनको चुनौती रहेको र त्यसको समाधानका लागि फोहोर वर्गीकरण गरेर कुहिने फोहरलाई मल बनाएर आफ्नै घरमा कौसीखेती गर्नका लागि यो कार्यक्रम सञ्चालन गरेको नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले जानकारी दिए ।

नगरपालिकाले कौसी खेती गर्नका लागि विभिन्न वडामा तालिम सञ्चालन गरेको उनले बताए । यसको प्रवर्द्धनका लागि नगरपालिकाले कम्पोस्ट बिन वितरण गर्नुको साथै तरकारीका तथा फूलका बिरुवाहरू वितरण गर्दै आएको छ । यो कार्यक्रमले जैविक फोहोर व्यवस्थापनमा सहयोग पुर्‍याउनुको साथै नगरलाई सौन्दर्यीकरणका लागि मद्दत पुर्‍याउने उनको भनाइ थियो । यस कार्यक्रमलाई नगरले कृषि र फोहोर व्यवस्थापन शीर्षकबाट हेर्दै आएको बताउँदै नगर प्रमुख शाक्यले यस कार्यक्रमलाई थप गर्दै ‘एक घर एक कम्पोस्ट बिन’ को लक्ष्य राखिएको योजना सुनाए ।

त्यस्तै बनेपा नगरपालिकाको वडा नं ५ का वडा अध्यक्ष बलराम अधिकारीले सिकेको सीप र कम्पोस्ट बिनको सदुपयोग गर्न आग्रह गर्दै घरमै तरकारी उब्जाउन र फोहोर व्यवस्थापनमा सघाउन अनुरोध गरे । नगरपालिकाले कौसी खेती प्रवर्द्धनका लागि वडा नं. ७ मा १५०, वडा नं. ८ मा १७५, वडा नं. ९ मा ७५, वडा नं. १० मा २५, १३ मा २५ र वडा नं. ५ मा ५० वटा कम्पोस्ट वितरण गरेको छ । कम्पोस्ट बिनसँगै नगरपालिकाले तरकारी तथा फूलका बिरुवा पनि वितरण गरेको नगरको कृषि शाखाले जनाएको छ ।

कौसी खेती प्रर्बद्धनका लागि कम्पोष्ट बिन वितरण गर्दै नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्य । तस्बिर : ज्योति श्रेष्ठ

प्रकाशित : चैत्र ७, २०७९ ०८:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×