पुल मर्मत नहुँदा ३ घण्टा घुमाउरो बाटो- कर्णाली - कान्तिपुर समाचार

पुल मर्मत नहुँदा ३ घण्टा घुमाउरो बाटो

विद्यार्थी बिहान ७ बजे घरबाट हिँड्न बाध्य छन् भने विद्यालयबाट फर्कंदा साँझ परिसकेको हुन्छ
विप्लव महर्जन

सल्यान — वर्षा र पहिरोका कारण भासिएको सल्यान–जाजरकोट सिमानामा पर्ने भेरी नदीको झोलुंगेपुल मर्मत नहुँदा स्थानीयलाई उपचार गर्न जान पनि तीन घण्टा घुमाउरो बाटो हिँड्नुपर्ने भएको छ । बन्गाडकुपिण्डे नगरपालिका–२ बामे, बाहुनडाँडा, पारिल्ला, चैते, कुरिल्लेका बासिन्दा ३ महिनादेखि यो समस्या भएको हो ।

छेडागाड बजार नजिकै रहेको पुल भासिएको छ । बिरामीलाई लिएर सिधै भेरी तर्न नसकिने भएकाले उपचारका लागि स्थानीय घुमाउरो बाटो हिँड्न बाध्य भएका हुन् । आफ्नै वडामा रहेको स्वास्थ्यचौकी अपायक भएकाले जाजरकोटको छेडागाड बजारमा रहेको स्वास्थ्य संस्था पुग्नुपर्ने बाध्यता छ । स्थानीयहरू दैनिक उपभोग्य सामग्री खरिदका लागि समेत छेडागाड बजार पुग्न बाध्य छन् ।

भासिएको पुल मर्मत नभएकै कारण सामान्य उपचारका लागि पनि घण्टौं हिँड्नुपर्ने भएको स्थानीय गोपीलाल आचार्यले बताए । उनका अनुसार गाउँमा मेडिकल नहुँदा थप समस्या छ । उक्त पुल अहिलेसम्म मर्मत नभएपछि गाउँभन्दा एक घण्टा टाढाको पुलबाट वारपार गर्नुपर्ने बाध्यता भएको उनले बताए । उनका अनुसार गाउँका केही विद्याथीहरू छेडास्थित माध्यमिक विद्यालयमा अध्ययनरत छन् । पुल नबन्दा उनीहरूलाई विद्यालय आउजाउ गर्न पनि समस्या भएको छ । अहिले विद्यार्थीहरू बिहान ७ बजे घरबाट हिँड्न बाध्य छन् भने विद्यालयबाट फर्कंदा झमक्क रात परिसकेको हुन्छ ।

यसै अवधिमा बच्चा जन्माउन अस्पताल लैजाने क्रममा तीन गर्भवती बाटैमा सुत्केरी भएको स्थानीय लिलु खत्रीले बताए । उनका अनुसार पुल मर्मत नभएकै कारण गर्भवतीले नियमित स्वास्थ्य परीक्षण गराउन पाएका छैनन् । बालबालिकालाई खोप लगाउन पनि समस्या भएको छ । २०७२ मा साविकको जिल्ला विकास समितिले करिब ३० लाख रुपैयाँ खर्चेर १ सय ५७ मिटर लम्बाइको झोलुंगेपुल निर्माण गरेको थियो । जनप्रतिनिधिहरूलाई पुल मर्मत गर्न बारम्बार आग्रह गरे पनि बेवास्ता गरिरहेको उनको गुनासो छ ।

बन्गाडकुपिण्डे नगरपालिका–२ का वडाध्यक्ष मानबहादुर खत्रीले पुल मर्मत गर्न कम्तीमा ५ लाख रुपैयाँ लाग्ने बताए । उनका अनुसार त्यो रकम पालिकाले जुटाउन नसकेको कारण काम हुन सकेको छैन ।

प्रकाशित : माघ २६, २०७९ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्

फुङलिङमा डढेलो, गोलामा हिउँ

आनन्द गौतम

ताप्लेजुङ — सदरमुकाम फुङलिङ नजिकै तोक्मे सामुदायिक वनमा मंगलबार र बुधबार आगलागी भएको छ । आगो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले चार घण्टासम्म  प्रयास गरेका थिए ।

बस्तीतर्फ आगो बढ्न नदिन अग्नि रेखा बनाउनेदेखि आगो नियन्त्रणका लागि दमकलको सहारा लिइएको थियो । दोखु क्षेत्रमा बुधबार दिउँसो फेरि डढेलो सल्कियो । फुङलिङ–७ का वडाध्यक्ष योगेन्द्र निरौलाले उक्त क्षेत्रमा चार होटल र एक घर भएको बताए ।

सल्लाको जंगल क्षेत्र भएकाले आगो नियन्त्रणमा लिन निकै कठिन भएको फुङलिङ नगरका उपप्रमुख भिमादेवी ओझाले बताइन् । आगो लगाउनेको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यहाँ सल्लाको पात भुइँमा खात भएर बसेकाले भित्रसम्म पसेको आगो हतपत ननिभ्ने सामुदायिक वनका सदस्य कृष्ण ओझा बताउँछन् । लामो समय पानी नपरेका कारण जिल्लाका धेरै ठाउँमा डढेलो देखिन थालेको उनले बताए ।

उता मंसिरदेखि हिमपात नभएर चिन्तित ओलाङचुङगोलावासीले भने मंगलबार यो हिउँदको पहिलो हिमपात अनुभव गर्न पाएका छन् । सशस्त्र प्रहरी सीमा सुरक्षा बल ओलाङचुङगोलाका निरीक्षक अनिल खड्काले हिमपात सामान्य रूपमा परे पनि सुरुवात भएको बताए । ‘बेलुका केही बाक्लो पर्ने आशा पनि हावा चल्न थालेपछि हरायो,’ उनले भने । यो वर्ष यत्तिका समय हिउँ नपर्दा स्थानीय पनि अनौठो मानिरहेको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पा लामाले बताए ।

‘हिउँ नपर्दा गोठमा बस्नेहरूलाई त ढुक्क छ,’ उनले भने, ‘तर चिस्यान नभएकाले अब एक/दुई दिनदेखि घाँसको समस्या हुन थाल्छ ।’ पुस, माघमा नपरे चैत, वैशाखमा हिउँ पर्ने र त्यो खतरनाक हुने बूढापाकाले बताउने गरेको छेतेन सुनाउँछन् । ‘अहिले परेको हिउँ जमेर बस्छ र बिस्तारै बिलाउँछ,’ उनले भने, ‘चैत–वैशाखको हिउँ जम्मा हुने र पहिरो भएर झर्ने हुन्छ, त्यसले हिँडडुलमा जोखिम निम्त्याउँछन् ।’

चौंरीलगायत चौपायाको हेरचाह गर्न त्योबेला कठिन हुने उनले बताए । त्यो बेलाको हिउँपहिरोले चौपायालाई ठूलै क्षति पुर्‍याएको विगतका घटना स्मरण गर्दै उनले भने ।

प्रकाशित : माघ २६, २०७९ ०९:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×