२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

पाल्पाको निस्दी र रम्भामा सडक दुर्घटना : १३ जना घाइते

माधव अर्याल

पाल्पा — पाल्पाको निस्दी गाउँपालिकाको खादर र कालीगण्डकी करिडोरअन्तर्गत रम्भाको असेर्दीमा भएका दुर्घटनामा १३ यात्रु घाइते भएका छन् । निस्दी गाउँपालिका–३, झिरुवासको खादरमा भएको जिप दुर्घटनामा ११ जना घाइते भएका हुन् ।

पाल्पाको निस्दी र रम्भामा सडक दुर्घटना : १३ जना घाइते

लु १ ज २५३५ नम्बरको जीप जन्ती लिएर निस्दी खादरबाट निस्दीकै सहलकोटतर्फ जाने क्रममा भित्री कच्ची सडकमा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिपमा चालकसहित १८ जना रहेका थिए । घाइतेहरूको उपचारका लागि रामपुर अस्पताल, रामपुरमा पठाइएको प्रहरी चौकी रुक्सेभन्ज्याङ्ले जनाएको छ । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको जिप चालक फरार रहेको पाल्पा प्रहरीका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । जिप सडकको छेउमा पल्टिएको छ भने चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । उता, कालीगण्डकी करिडोर सडकअन्तर्गत रम्भा गाउँपालिका–१, असेर्दीमा कार र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक रामपुर नगरपालिका–५, रामपुर बस्ने २० वर्षीय सन्दीप सेन ठकुरी र रामपुर नगरपालिका, गाँडाकोट पन्थेका ६५ वर्षीय मनबहादुर खाँड घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको उपचार तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा भइरहेको छ ।

बा ११ च ६४४९ नम्बरको कार र लु ४१ प ४४७ नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ । तिलोत्तमा नगरपालिका–१२, प्रगतिनगरका चालक ४० वर्षीय नरबहादुर थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ।

प्रकाशित : वैशाख ८, २०८१ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?